प्रधानमन्त्रीले खान सुझाएपछि बढ्यो बेसारको खपत, ८ महिनामै ३६ करोडको आयात

काठमाडौं, २२ चैत । नेपालको जलवायु बेसार खेतीका उपयुक्त भएता पनि केही वर्षयता बेसारको आयात भने बढ्दो क्रममा रहेको छ ।

नेपालका केही उच्च हिमाली बाहेक प्रायः जिल्लाका धेरै–थोरै स्थानमा बेसार खेती हुने सरकारी तथ्यांक छ ।

नेपालमा बेसारले उचित बजार नपाएको गुनासो सुनिएपनि नेपालमा बाहिरबाट चालु आर्थिक वर्षको ८ महिनामा ३६ करोड भन्दा धेरैको बेसार आयत भएको छ ।

भन्सार विभागले तथ्यांक अनुसार नेपालले चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा भारत, इथियोपिया र पाकिस्तानबाट ३६ करोड १८ लाख ८ हजार रुपैयाँ बराबरको बेसार तथा यसका कच्चा पदार्थ आयात गरेको हो । उक्त अवधिमा २८ लाख ९ हजार ९९० केजी बेसार आयत भएको छ ।

नेपालीले खाने बेसार अधिकाशं नेपालमै उत्पादन हुने भएपनि भारत र म्यानमारबाट पनि बेसार आयात हुने गरेको भन्सार विभागले जनाएको छ ।

तथ्यांक अनुसार साउनदेखि फागुनसम्ममा सबैभन्दा धेरै भारतबाट ३५ करोड ९२ लाख ४५ हजार रुपैयाँ बराबरको २७ लाख ८२ हजार ९९० केजी बेसार आयात भएको छ ।

इथियोपियाबाट १४ लाख ३३ हजार रुपैयाँ बराबरको १५ हजार केजी बेसार आयात भएको छ । त्यस्तै पाकिस्तानबाट ११ लाख ३० हजार रुपैयाँ बराबरको १२ हजार केजी बेसार आयात भएको छ ।

मुख्यतः मसला बालीका रूपमा प्रयोग हुने बेसार खाद्य रङका रूपमा उपयोग गरिन्छ । विभिन्न सौन्दर्य सामग्री तथा औषधि बनाउन पनि यसको प्रयोग उच्च छ ।

भान्छामा खपत हुने बेसारको माग कति छ भनेर सरकार अनभिज्ञ देखिएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार स्वदेशमा उत्पादन र बाहिरी मुलुकबाट आयात परिमाणलाई जोडेर निस्किने योगफल नै माग हो।

प्रधानमन्त्री ओलीले सार्वजनिक कार्यक्रममा रोगप्रतिरोधात्मक क्षमता बढाउन बेसार खान सुझाव दिएसँगै एकवर्ष देखि नेपालमा बेसारको खपत बढेको छ । कसैले प्रधानमन्त्रीको भनाइलाई सहि मानेका छन् भने कसैले व्यंगको रुपमा उडाउने गरेका छन् । तर बेसारमा औषधीय गुण रहेका बस्तु मानिदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here