काठमाडौं । एक समय थियो, मास्कको प्रयोग अस्पतालबाहिर अपराधीहरुले बढी गर्थे । विस्तारै पप स्टार र स्वास्थ्यमा विशेष सर्तकता अपनाउने जापानी पर्यटकले पनि मास्क लगाउन थाले ।
आममानिसका लागि फेस मास्कको प्रयोग कल्पना बाहिरको कुरा थियो । तर कारोना महामारीपश्चात फेस मास्कविनाको सार्वजनिक जीवन नै कल्पना बाहिर भएको छ ।
त्यसो त विश्वव्यापी कोरोना महामारीले अनिवार्य बनाएको मास्कको प्रयोगको इतिहास भने नयाँ होइन । ब्ल्याक प्लेगदेखि वायु प्रदुषणको सबैभन्दा खराब अवस्थामा युरोपेलीहरुले विगत ५ सय बर्षमा धेरै पटक मास्क प्रयोग गरेको पाइएको छ ।
अनुहार लुकाउन वा संक्रमणबाट आफूलाई जोगाउन विभिन्न बहानामा ६ ई.पू. देखि नै मास्कको प्रयोग गरिंदै आएको छ ।
मार्को पोलोका अनुसार १३ औं शताब्दीमा चीनका नोकरहरूले आफ्नो मुख रुमालले छोप्थे । सम्राटको खानाको गन्ध वा स्वाद कसैको सासको कारण खराब नहोस् भन्नका लागि त्यस्तो व्यवस्था गरिएको अनुमान गरिन्छ ।
प्रदुषणको कारण धुवाँ
१८ औं शताब्दीको औद्योगिक क्रान्तिले लण्डनलाई विशेष उपहार दियो । विस्तार भइरहेका कारखानाहरुले ठूलो मात्रामा प्रदुषित धुवाँ उत्सर्जन गरिरहेका थिए भने कोइलाबाट बालिने घरका चुल्होबाट पनि उत्तिकै धुवाँ निस्किन्थ्यो ।
त्यस समय लन्डनमा धुलोको खैरो पहेंलो रंगको बाक्लो तह देखिएको थियो ।
सन् १९५२ डिसेम्बर महिनाको ५ देखि ९ तारिखको बीचमा कम्तिमा ४ हजार मानिस अचानक मरे । एक अनुमानअनुसार, त्यसको अर्को हप्ता करीब ८ हजारभन्दा बढी मानिस मरे ।
सन् १९५७ को डिसेम्बरमा लन्डनमा १ हजार मानिसको मृत्यु भयो । यसपछि १९६२ मा लगभग ७ सय ५० मानिसको मृत्यु भयो ।
शहरमा फैलिएको धुवाँको तह यति बाक्लो थियो कि रेलहरू चलाउन पनि मुश्किल भयो । त्यस समयमा शहर वरिपरिका खेतहरूमा घाइते जनावरको मृत्युको खबर पनि आएको थियो ।
सन् १९३० मा मानिसहरूले अनुहार र टाउको छोप्ने मास्क लगाउन थाले ।
सन् १९५६ र १९६८ मा चिम्नीबाट प्रदुषित कालो धुवाँ कम गर्न र कारखानाबाट धुवाँको धुलो कण सीमित गर्नको लागि स्वच्छ वायु कानून बनाइएको थियो । यस कानूनको साथसाथै चिम्नीको उचाई र स्थानको मापदण्ड पनि तय गरिएको थियो ।
आजको युगमा लण्डनका लागि प्रदुषित हावा र खतरनाक धुवाँ त्यत्ति ठूलो समस्या होइन तर अझै पनि प्रदूषणको समस्या त्यहाँ एक ठूलो संकट हो ।
ब्ल्याक डेथ प्लेग
ब्ल्याक डेथ प्लेग पहिलो पटक युरोपमा १४ औं शताब्दीमा फैलिन थाल्यो । १३४७ र १३५१को बीचमा २ सय ५० लाख मानिसको यस रोगका कारण मृत्यु भयो । यस पछि, डाक्टरहरूले यहाँ विशेष मेडिकल मास्कको प्रयोग गर्न थाले ।
केही व्यक्तिहरू विश्वास गर्छन् कि विषाक्त हावाबाट मानव शरीरमा असन्तुलन सुरु भयो । यस्तो अवस्थामा, मानिसहरूले आफ्नो अनुहार छोपेर मात्र घरबाहिर निस्कन थाले ।
१७ औं शताब्दीको मध्यमा प्लेगको बखत, चरा आकारको मास्क लगाएको मान्छेको तस्वीर यसको प्रतीकको रूपमा देखिन्थ्यो, जसलाई धेरै मानिसहरूले मृत्युको छायाँ भनेर बोलाउन थाले ।
ब्ल्याक प्लेगमा प्रयोग गरिएको मास्कहरू शरीरमा गन्ध आउन नदिन सुगन्धित जडिबुटीले भरिएका थिए । पछि, त्यस्ता सुगन्धित मास्कहरूको प्रयोग जारी नै रह्यो । सन् १६६५ को महामारीको क्रममा, बिरामीको उपचारका क्रममा डाक्टरहरूले छालाले बनेको ट्युनिक, आँखामा गिलास चश्मा, हातमा पन्जा र टाउकोमा टोपी लगाउँथे । जुन त्यो युगको पीपीई किट जस्तो थियो ।
यातायातको कारण प्रदूषण
१९ औं शताब्दी लन्डनका विशेषगरी शिक्षित महिलाहरूले धुवाँ धुलो तथा घामको प्रकाशबाट छालालाई जोगाउन पुरा शरिर ढाक्ने कपडा लगाउथे ।
यद्यपि त्यो समयमा यस प्रकारको पूरै शरीरलाई ढाक्ने लामा पोशाकहरू पहिले शोकमा जानेले मात्र लगाउने चलन थियो ।
लन्डन यातायात एजेन्सी र किंग्स कलेज लन्डनका अनुसार वायु प्रदूषणको प्रमुख कारक नै यातायातका साधन हो । डिजेल र पेट्रोलमा चल्ने सवारीहरूले नाइट्रोजन अक्साइडहरू, रबर कणहरू र हावामा फाइन धातु कणहरू छोड्छ जसले प्रदुषण बढाउँछ ।
तर, २० औं शताब्दीसम्ममा, वायु प्रदूषण यति बढ्यो कि अनुहार ढाकिएको कपडाले समेत हावामा फैलिने कणहरू रोक्न असक्षम भयो ।
त्यस्तै कोरोना महामारीको धेरै समय अघि, लन्डनमा साइकल चालकहरूले आफ्नो अनुहारमा विशेष प्रदूषण मास्क लगाएको पाइएको थियो ।
स्पेनिश फ्लू
प्रथम विश्वयुद्धको अन्त्य पछि, संसारका केही देशहरूको अगाडि एउटा फरक चुनौती खडा भयो । फ्लू सबैभन्दा पहिले स्पेनमा फैलिन थाल्यो जहाँ यसले महामारीको रूप लियो ।
यस रोगले ५ करोड मानिसहरूलाई आफ्नो निशानामा पार्यो । स्पेनबाट यसको सुरुवात भएकोले यसलाई स्पेनिश फ्लूको नाम दिइयो ।
युद्धबाट सिपाहीहरू ट्रक र कारमा आफ्नो देश फर्कदै थिए । यसले यो अति संक्रामक रोगलाई अझ छिटो फैलियो । यो संक्रमण ट्रेन स्टेशनहरूमा फैलियो र त्यसपछि शहरका सामुदायिक केन्द्रहरूमा, त्यसपछि शहरहरू र गाउँहरूमा फैलियो ।
लन्डन जनरल ओम्निबस कर्पोरेशन जस्ता कम्पनीहरूले फ्लूको फैलावट नियन्त्रण गर्न ट्रेन र बसमा औषधी छर्कर्ने काम सुरु गरे । उनले आफ्ना सबै कर्मचारीहरूलाई संक्रमणबाट बच्न मास्क लगाउन सुरु गर्न आदेश दियो ।
रोगबाट बच्न कस्तो कदमहरू चाल्नु पर्छ भन्ने कुरा सन् १९१८ मा प्रकाशित नर्सिंग टाइम्स पत्रिकामा भनिएको थियो ।
यसमा, उत्तर केन्सिङटनको सेन्ट मेरिलबोन इन्फर्मरी अस्पतालका नर्सहरूले दुई बिरामीहरूको खाट र संक्रमण जाँच गर्नका लागि अस्पतालमा भर्ना भएका सबै डाक्टर, नर्स र सहयोगीहरूको बिचमा दुरी कसरी बनाए भनेर जानकारी दिइएको थियो । अलग बस्ने व्यवस्था मिलाइएको थियो । यस समयमा, स्वास्थ्यकर्मीहरू पूर्ण शरीरमा सूट लगाउँथे र अनुहारमा मास्कहरू प्रयोग गर्थे ।
आम जनता पनि आफ्नो जीवन बचाउन मास्क प्रयोग गर्न लोभिएका थिए । धेरै व्यक्तिले आफ्नो लागि मास्क बनाए र धेरै मानिसहरूले उनीहरूको नाकमुनि लगाएको मास्कमा कीटाणुनाशक औषधीको थोपा लगाउँथे ।
पछि, अभ्यासमा अर्को प्रकारको मास्क देखियो, यसमा एक किसिमको ठूलो कपडाको रूपमा प्रयोग हुन्छ जसले सम्पूर्ण अनुहार ढाक्न मद्दत गर्दछ । धेरै प्रख्यात व्यक्तिहरूले यसको प्रयोग आफ्नो प्रशंसकबाट अनुहार लुकाउन वा शत्रुहरूबाट लुक्नको लागि प्रयोग गर्थे ।
त्यो युगमा अनुहार छोप्नु वा मास्क लगउनु भनेको अरूको ध्यानाकर्षण गर्नु जस्तै थियो । जसले संकेत गर्थ्यो कि ‘मैले मास्क लगाएको छु किनकि मानिसहरूले मलाई चिन्दैनन् ।’
तर, आज यो वास्तविकता परिवर्तन भएको छ । आज, मास्क लगाउनु यति सामान्य भएको छ कि कसैले पनि मास्कलाई ध्यान दिँदैन, जुन जस्तोसुकै ब्राण्डको किन नहोस् । (बीबीसीबाट अनुवाद )