‘भिल्लका देशमा मणि’ भयो भीरखानीको तामाखानी

म्याग्दी, २२ जेठ । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटको भीरखानीमा रहेको तामाखानी सञ्चालनमा आउन नसक्दा स्थानीय सरकारले करोडौँको वार्षिक आम्दानी गुमाएको छ ।

वि.सं. २०१८ देखि २०४२ सम्म नियमित सञ्चालनमा रहेको र त्यसपछि सरकारको निर्देशनका कारण बन्द रहेको तामाखानी अहिलेसम्म पनि सञ्चालनमा आउन नसक्दा स्थानीय सरकार र जनताका लागि तामाखानी ‘भिल्लका देशमा मणि’ जस्तै भएको छ ।

यो तामाखानीमा २०४२ सालसम्म दैनिक २ सय भन्दा बढी कामदारले काम गर्नाका साथै प्रत्येक दिन सात÷आठ धार्नीसम्म तामा निस्कने गरेको तत्कालीन प्रधानपञ्च एवम् हाल मालिका गाउँपालिका–४ का वडाध्यक्ष दिलीपकुमार शेरचनले जानकारी दिए ।

त्यतिबेला यहाँको खानीबाट निकालिएको तामा प्रतिधार्नी रु १ सय ५० मा बिक्री हुने गरेको थियो । तत्कालीन अवस्थामा तामाखानीका ठेकेदारसमेत रहेका वडाध्यक्ष शेरचनका अनुसार सो तामाखानीमा २०२६ सालमा भारतको विडला कम्पनीबाट प्राविधिकहरु झिकाई खानीको अवस्था बुझ्दा प्राविधिकहरुले त्यहाँ सुन पनि हुनसक्ने बताएका थिए ।

त्यसको ४ वर्षपछि तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्यसहित २०३० साल मङ्सिर ७ गते तामाखानी अवलोकनका लागि ओखरबोटमा आएर र खानीलाई व्यवस्थित रुपमा सञ्चालन गर्न आदेश दिएका थिए ।

त्यसपछि २०४२ सालसम्म नियमित सञ्चालन भएको सो तामाखानी विसं २०४२ मा सरकारले कर वृद्धि गरेपछि कर तिर्न सक्ने अवस्था नहुँदा र तामाखानीबाट तामा निकाल्ने प्रविधि तथा उपकरणको अभावमा खानी बन्द गर्नुपरेको थियो ।

तामाखानीमा दुईवटा मुहान रहेका छन् । ती मुहानहरुको लम्बाइ २ सय ५० देखि ३ सय मिटरसम्म रहेको छ । त्यहाँ अझैसम्म पनि तामाका धाउहरु देख्न सकिने स्थानीय बताउँछन् ।

स्थानीय तहको निर्वाचनपछि वडाध्यक्ष शेरचनले गाउँपालिकाको सिफारिशसहित पाँच पटकसम्म काठमाडाँैस्थित खानी विभागमा गई खानी सञ्चालनका लागि अनुमति माग्दा सरकारले अनुमति नदिएका कारण सञ्चालनमा आउन नसकेको बताएका छन् ।

तामाखानीलाई राजनीतिक दलका नेताले स्थानीय तह, प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा आफ्नो चुनावी एजेण्डा बनाए । गाउँमा चुनावी भाषण गर्न गएका जिल्लादेखि स्थानीय नेताहरुले एउटै स्वरमा तामाखानीका बारेमा गरेका प्रतिबद्धता पूरा नहँुदा स्थानीयवासी निराश भएका छन् । ओखरबोट गाउँबाट २० मिनेटको दूरीमा दुई वटा तामाखानी रहेका छन् । दुईवटा खानीको करीब दुई किलोमिटरको सुरुङ खनेर २०४२ सालसम्म नियमित सञ्चालन गरिए पनि सरकारी उपेक्षा र आधुनिक प्रविधिको अभावका कारण बन्द भएको तामाखानीका बारेमा एक वर्षयता धेरै बोले पनि काम नभएको स्थानीयवासी जगदीश रसाइलीले गुनासो गरे ।

खानी उत्खननका क्रममा प्रयोग गरिएका सामग्री, पुराना काठका साथै खानीलाई बलियो बनाउन प्रयोग गरिएका पुराना ढुङ्गाहरू समेत खानीभित्र रहेका छन् । यता मालिका गाउँपालिकका अध्यक्ष श्रीप्रसाद रोकाले प्रयास भए पनि सरकारी निकायबाट असहयोग रहेको बताए । खानी तथा भूगर्भ विभागबाट प्रक्रियालाई व्यवस्थित बनाउन प्रदेश सरकारले खानी सम्बन्धित कानून बनाउनुपर्ने सुझाव अध्यक्ष रोकाको छ । (रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here