७६ प्रतिशत बढ्यो शेयर कर्जा, ८ महिनामा ८१ अर्ब ४१ करोड प्रवाह

काठमाडौं, ११ बैशाख । बैंक तथा वित्तीय संस्थाले शेयर धितोमा प्रवाह गर्ने कर्जा ह्वात्तै बढेको छ ।

चालु आर्थिक वर्षको ८ महिनामा बैंक तथा वित्तीय संस्थाले शेयर कजार्मा ७६ प्रतिशतले वृद्धि गरेका छन् । फागुन मसान्तसम्ममा शेयर धितोमा ८१ अर्ब ४१ करोड ७१ लाख रूपैयाँ कर्जा लगानी गररेका छन् ।

यो गत आर्थिक वर्ष २०७६/ ७७ को सोही अवधिको तुलनाममा ७५.५१ प्रतिशत बढी हो ।

बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्षको फागुनमसान्तसम्म जम्मा ४६ अर्ब ३९ करोड ३५ लाख रुपैयाँ शेयर कर्जा लगानी गरेका थिए । गत असार सम्ममा बैंकहरुले ५० अर्ब ४० करोड रुपैयाँ शेयर कर्जा लागनी गरेका थिए ।

कोरोनाको प्रभाव कम हुँदै गए पनि अझै अर्थतन्त्रका सबै क्षेत्र सामान्य अवस्थामा फर्किन सकेका छैनन्, जसकारण ती क्षेत्रबाट अपेक्षित रूपमा धेरै कर्जा माग हुन सकेको छैन ।

तर शेयर बजार भने निरन्तर रूपमा उकालो लागिरहेको छ । यही अवसरको फाइदा उठाउँदै बैंक तथा वित्तीय संस्थाले शेयर कर्जा विस्तार गरेका हुन् ।

पछिल्लो १ वर्ष यता बैकिङ प्रणालीमा अधिक तरलता छ । जसले बैंकको ब्याजदर निकै सस्तो भएको छ । गत वर्ष १२ प्रतिशतसम्म रहेको बैंकको ब्याजदर अहिले ९ प्रतिशतभन्दा तल झरेको छ ।

जसले गर्दा सस्तो ब्याजमा ऋण लिएर शेयरमा लगानी गर्नेको संख्या बढेको हो । अहिले बैंक तथा वित्तीय संस्थाले करिब ७ देखि ९ प्रतिशतमा ब्याजदरमै शेयर कर्जा दिँदै आएका छन् । जबकी गत वर्ष बैंकहरुले सेयर कर्जामा १३ देखि १५ प्रतिशतसम्म ब्याज लिने गरेका थिए ।

यस्तै, नीतगत व्यवस्थामा आएको सुधारले पनि शेयर कर्जा लगानी बढेको हो । राष्ट्र बैंकले चालू आवको मौद्रिक नीतिमार्फत शेयर धितो कर्जाको सीमा बढाएको थियो । जसको प्रभाव कर्जा विस्तारमा देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here