निजगढ विमानस्थल बनाउन ७ कम्पनी इच्छुक

काठमाडौं, २७ जेठ । राष्ट्रिय गौरवको आयोजना दोस्रो अन्तरराष्ट्रिय (निजगढ) विमानस्थल बनाउन ७ विदेशी कम्पनी इच्छुक देखिएका छन् । लगानी बोर्डका अनुसार ती कम्पनीले अनलाइनबाट विदेशी लगानीका लागि आवेदन दिएका थिए ।

त्यसमध्ये ७ वटै कम्पनीले आवश्यक कागजात समेत बुझाइसकेका छन् । लगानीको स्रोत जुटाउन नसक्दा यो आयोजना अगाडी बढ्न सकेको छैन । नेपाली अर्थतन्त्रको कायापलट गर्ने केही ठूला परियोजनामध्ये यस विमानस्थललाई पनि लिइएको छ ।

तर, वातावरणीय प्रभाव मूल्यांकन, मुआब्जा वितरण र जग्गा प्राप्तीबाहेक यस विमानस्थलमा अन्य काम भने अगाडी बढ्न सकेको छैन ।

लगानी बोर्डले प्रत्यक्ष बैदेशिक लगानी आह्वान गर्दै विभिन्न ७७ परियोजना शोकेशमा राखेको थियो । त्यसमध्ये अहिलेसम्म ३५ परियोजनाका लागि ६६ वटा आवेदन परेको बोर्डले जानकारी दिएको छ ।

६६ वटामध्ये पनि आवश्यक कागजातसहित आवेदन दिने संख्या भने ४६ वटा मात्र थियो । यसमध्ये ७ कम्पनी निजगढ विमानस्थलका लागि मात्र आएका छन् । यसबाट पनि यो विमानस्थलप्रति विदेशी लगानीकर्ताको आकर्षण स्पष्ट देखिएको छ ।

लगानी बोर्डका अनुसार निजगढ विमानस्थल निर्माणको लागत ३ अर्ब अमेरिकी डलर (३ खर्ब रुपैयाँभन्दा धेरै) अनुमान गरिएको छ । ठोस प्रस्ताव आएका कम्पनीमध्येबाट प्रस्ताव मूल्याकन गरी सर्ट लिस्ट तयार पार्ने तयारी बोर्डको छ ।

यस्ता कम्पनीको प्रस्तावबाट विकासकर्ता कम्पनीको अन्तिम छनोट हुन भने अझै १ वर्षभन्दा बढी समय लाग्ने बोर्डको भनाई छ । निजगढ विमानस्थलको साइट क्लियरेन्स गर्ने प्रयोजनका लागि रुख कटान आदेश प्राप्त नहुँदा अलपत्र अवस्था रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here