नेपालमा कोरोना संक्रमण भएका १० जनामा ‘कालो ढुसी’ पुष्टी, कसरी बच्ने ?

काठमाडौं, १९ जेठ । नेपालमा कोरोना संक्रमण भएका १० जनालाई ब्ल्याक फंगस(कालो ढुसी) को संक्रमण पुष्टी भएको छ।

कोरोनाको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले कोरोना संक्रमण भई उपचाररत र निको भएका गरी १० जनामा कोलो ढुसीको संक्रमण भएको बताएका हुन् ।

यो संक्रमण कमै मात्र देखिने बताउँदै उनले संक्रमण गम्भीर भए प्राणघातक समेत हुन सक्ने जानकारी दिए।

कालो ढुसी पुष्टी भएकोमा अनुहार, मुख, नाक, कान, आँखा वरिपरि दुख्ने, सुन्निने, ज्वरो आउने, दाँत दुख्ने तथा हल्लिने समस्या देखिएको बताए ।

त्यस्तै, आँखाको ढक्कनी सुन्निने, ढकनी झुक्ने, आँखाले धमिलो देख्ने तथा नाक वरिपरिको छालाको रङ कालो हुँदै जाने, नाकाबाट रगत बग्ने तथा बाक्लो सिँगान आउनेजस्ता कालो ढुसीको लक्षण भएको जनाइएको छ ।

४५ देखि ६५ उमेर समूह, मधुमेह तथा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरु, धेरै किसिमको एन्टीबायोटिक वा स्टेरोइड औषधिको लामो समयसम्म प्रयोग गर्नेहरु यसको जोखिम हुने प्रवक्ता पौडेलले बताए।

अहिले काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा पाँचसहित देशभर १० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

कालो ढुसी एक व्यक्तिबाट अर्को व्यक्ति सर्दैन। शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम भएको बेलामा मात्र कालो ढुसीको संक्रमण हुने मन्त्रालयले जनाएको छ ।

कसरी बच्ने ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होम आइसोलेसनमा रहेकाहरुलाई ब्ल्याक फंगस रोकथामका लागि निम्न उपाय अपनाउन सुझाव दिएको छ ।

बिरामीले आफूखुशी जथाभावी स्टेरोइड्स औषधि सेवन गर्नु हुँदैन। चिकित्सकको सल्लाह अनुसार उहाँहरूको निगरानीमा मात्रै प्रयोग गर्नुपर्छ। मुख एकदमै सफा राख्न जरुरी छ। दाँत माँझ्ने, मुख कुल्ला गरिरहन भुल्नु भएन। बेटाडिनले गार्गल गरे पनि हुन्छ।

कोभिडको उपचारमा रहेका वा निको भइसकाले पनि मुखको सरसफाइमा विशेष ध्यान दिनुपर्छ। नाकबाटै ढुसी छिर्ने भएकाले मास्क लगाउनैपर्‍यो। मधुमेह वा अन्य कुनै रोग छ भने आफ्नो शरीरमा प्रतिरोधात्मक क्षमता कसरी बढाउने भन्नेबारे चिकित्सकलाई सोध्नुपर्छ, सुगरलाई नियन्त्रणमा राख्नुपर्छ।

– सफा र सुक्खा मास्क प्रयोग गर्ने, डिस्पोजेबल मास्क पुनः प्रयोग नगर्ने ।

– नियमित रुपमा हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने ।

– व्यक्तिगत सरसफाइमा ध्यान दिने ।

– नुनिलो पानीले नाक सफा गर्ने ।

– धेरै धुलो भएको ओसिलो ठाउँमा नजाने ।

– पोभिडोन आयोडिन भएको तरल पदार्थले घाँटी तथा मुख कुल्ला गर्ने ।

– मधुमेह भएका बिरामीले सुगर नियन्त्रण गर्ने ।

– स्वास्थ्यकर्मीको सल्लाहमा मात्रै औषधि प्रयोग गर्ने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here