भदौ २० गतेदेखि ‘ड्राइभिङ लाइसेन्स’ परीक्षा सञ्चालनमा हुने, यस्ता छन् मापदण्ड

जितेन्द्र खनाल

काठमाडौं, १३ भदौ । यातायात व्यवस्था विभागले बनाएको स्वास्थ्य मापदण्डले अनुमति पाएसँगै चालक अनुमति पत्र (लाइसेन्स) को ट्रायल परीक्षा भदौ २० गतेबाट खुल्ने भएको छ ।

गत बैशाख १५ गतेदेखि स्थगित भएका परीक्षा यातायात व्यवस्था विभागले स्वीकृत गरेको स्वास्थ्य सुरक्षाका पूर्ण मापदण्डको पालना गरी लिखित तथा प्रयोगात्मक परीक्षा शुरु हुन लागेको विभागका महानिर्देशक नमराज घिमिरेले बताए ।

‘हामीले बनाएको स्वास्थ्य मापदण्ड स्वीकृत भएसँगै भदौ २० गतेबाट ट्रायल परीक्षा खोल्ने तयारी गरिरहेका छौं’ महानिर्देशक घिमिरेले क्लाउड पत्रिकालाई भने, ‘यसमा विभागले यो मितिबाट सुरु गर भन्ने भन्दापनि कार्यलयलाई एक हप्ताको समय दिएर स्वास्थ्य मापदण्ड अनुसार काम गर्नुस् भनेर निर्देशन दिएका छौं । यसमा एकान्तकुनाले भने २० गतेबाटै सुरु गर्ने बताएको छ ।

बागमति प्रदेश अन्तर्गतको यातायात कार्यालय चाबहिलले र ठूलो भर्याङले आइतबार एक सूचना जारी गर्दै भदौ २० गतेदेखि लिखित तथा प्रयोगात्मक परीक्षाहरु (रिट्रायल समेत) सञ्चालन हुने जानकारी दिएको छ ।

अहिले पनि कोभिड महामारी कायम नै रहेकाले विभागले नयाँ आवेदन भने तत्काल नखुलाउने भएको छ । पूरानो संख्या घट्दै गएपछि नयाँका लागि अनलाइन फारम खोल्ने तयारी विभागको छ ।

विसं २०७६ चैत्रबाट पहिलो चरणको निषेधाज्ञापछि विभागले २०७७ पुस १४ गतेबाट डिजिटल माध्यमबाट फारम भर्न मिल्ने गरी खुलाएका थियो । दोस्रो चरणको निषेधाज्ञासँगै गत वैशाख १६ गतेबाट लाइसेन्सको काम बन्द भएको थियो ।

परीक्षा सञ्चालनको मापदण्डमा के छ ?

विभागले सार्वजनिक गरेको मापदण्डमा विभिन्न सर्तहरू पालना गर्नुपर्ने छ। त्यसमा परीक्षार्थीहरूले पालना गर्नुपर्ने व्यवस्थाहरू समेत उल्लेख छ।

कार्यकालको जनशक्ति र परीक्षा सञ्चालनका लागि आवश्यक भवन र परीक्षा हलको उपलब्धताका आधारमा एक शिफ्टमा बढीमा १०० जना परीक्षार्थीको परीक्षा गराउने सकिने व्यवस्था गरिएको छ।

एउटा कोठामा बढीमा २५ जना परीक्षार्थी रहने गरी परीक्षा व्यवस्थापन गर्नुपर्नेछ । तर परीक्षा हल ठुलो भएमा स्वास्थ्य मापदण्ड पुरा गरेर २५ जना भन्दा बढी परीक्षार्थी समावेश गराउन सकिने मापदण्डमा उल्लेख छ ।

परीक्षा सञ्चालन गर्दा भीडभाड नहुने गरी खुला ठाँउ भएको विद्यालय वा खन्य भवनलाई लिखित परिक्षाको लागि प्रयोग गर्न सकिने व्यवस्था छ ।

यस्तै ट्रायल परीक्षाको लागि भने सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी कार्यालयको जनशक्ति र ट्रायल परीक्षाको लागि आवश्यक स्थानको आधारमा परीक्षा सञ्चालन गर्न सकिनेछ ।

ट्रायल परीक्षा सञ्चालन गर्दा एक सिफ्टमा बढीमा ५० जना परिक्षार्थीलाई सहभागि गराउन सकिने व्यवस्था छ ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here