उपत्यकामा दैनिक १ हजार ४५ मेट्रिक टन फोहोर उत्पादन, अझै केही दिन नउठ्ने

फाइलफोटो

काठमाडौं, १४ भदौ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौं महानगरपालिका लगायत उपत्यकाका सडक र चोकमा केही दिनदेखि थुप्रिएको फोहर छिट्टै व्यवस्थापन हुने बताएका छन् ।

बञ्चरे डाँडामा निर्माणाधीन स्यानिटरी ल्याण्डफिल्ड साइट र सिसडोल ल्याण्डफिल्ड साइटको स्थलगत रिपोर्टिङ गरेर फर्किएका सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख शाक्यले यस्तो बताएका हुन् ।

अवस्थाबारे स्थलगत रिपोर्टिङ गरेर फर्किनुभएको छ,’ प्रमुख शाक्यले भने, ‘बञ्चरे डाँडामा निर्माणाधीन स्यानिटरी ल्याण्डफिल्ड साइट जति सक्दो छिटो सम्पन्न गरेर हामीलाई हस्तान्तरण गरेको अवस्थामा स्थायी रुपमा फोहोर व्यवस्थापन गर्न सक्छौँ ।’

उनले केही दिनदेखि वर्षाका कारण सिसडोल ल्याण्डफिल साइटसम्म जाने बाटो बिग्रिएका कारण नियमित रुपमा फोहोर व्यवस्थापनमा कठिनाइ भइरहेको बताए ।

‘सिसडोलसम्म जाने बाटो वर्षाका कारण बिग्रिएको छ । बाटोकै कारण फोहोर बोकेर त्यहाँ पुगेका गाडीलाई पनि डोजरले ठेलेर माथिसम्म लैजानुपर्ने अवस्था छ,’ शाक्यले भने, ‘त्यही कारण केही दिनदेखि पूर्ण रुपमा फहोर उठाउन नसकेका हौँ ।’

उनले छिट्टै फोहोर व्यवस्थापन गरी सफा काठमाडौं बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘वर्षाका कारण बिग्रिएको सिसडोलसम्म जाने बाटो बनाउन केही समय लाग्ने भएकाले तत्काल केही दिनका लागि घर वा कार्यालयमा उत्पादन भएको फोहोर जथाभावी सडकमा नमिल्काउन तथा कुहिने र नकुहिने फोहर छुट्याएर सकेसम्म सहरलाई कम दुर्गन्धित गर्ने प्रयासमा लाग्न सम्पूर्ण महानगरबासीलाई अनुरोध गर्न चाहन्छु ।

काठमाडौं उपत्यकाबाट दैनिक १ हजार ४५ मेट्रिक टन फोहोर उत्पादन हुने गरेको छ । । काठमाडौं महानगरको वातावरण तथा कृषि बिभागले ओखरपौवा स्यानिटरी ल्याण्डफिल्ड साइटमा पुर्याइएको फोहोरको परिणामका आधारमा निकालेको तथ्याङ्क हो ।

यसबाहेक संकलन हुन नसकेको फोहोर र श्रोतमा घटाएको फोहोरको मात्रा पनि छ । यसको तथ्याङ्क यकिन छैन ।

१ हजार ४५ मेट्रिक टन फोहोरमध्ये सबैभन्दा धेरै काठमाडौं महानगरपालिका क्षेत्रबाट दैनिक ५१६ मेट्रिक टन र त्यसपछि ललितपुर महानगर क्षेत्रबाट १३० मेट्रिक टन फोहोर संकलन गरेर ल्याण्डफिल्ड साइटमा पु¥याउने गरिएको छ ।

उपत्यकाका १८ वटा नगरपालिकामध्ये भक्तपुर नगर क्षेत्रबाहेक अन्य सबै नगर क्षेत्रमा उत्पादन भएको फोहोर सिसडोल ल्याण्डफिल साइटमा पुर्याउने गरिएको छ ।

उपत्यकाका नगर क्षेत्रमध्ये गोकर्णेश्वर नगर तेश्रो धेरै फोहोर उत्पादन हुने नगर हो । यस नगरबाट दैनिक ६० मेट्रिक टन फोहोर उत्पादन हुन्छ । त्यसपछि नागार्जुन, टोखा, तारकेश्वर र बुढानिलकण्ठ गरी ४ वटा नगर क्षेत्र हरेकबाट ३५/३५ मेट्रिक टन फोहोर उत्पादन हुने गरेको महानगरको तथ्याङ्कले देखाउँछ ।

यी नगरहरु फोहोर उत्पादनका कोणबाट चौथा ठूला नगर हुन् । त्यसपछि काठमाडौंको चन्द्रागिरी, ललितपुरको महालक्ष्मी र भक्तपुरको मध्यपुर थिमी नगर क्षेत्र हरेकबाट ३०/३० मेट्रिक टन फोहोर उत्पादन हुने गरेको छ । यी नगर पाँचौ स्थानमा परेका छन् ।

ललितपुरको गोदावरी र भक्तपुरको सूर्यविनायक नगर क्षेत्रबाट क्रमशः २५/२५ मेट्रिक टन, काठमाडौंको कागेश्वरी मनोहरा नगर क्षेत्रबाट २० मेट्रिक टन, काठमाडौंकै दक्षिणकाली र भक्तपुरको चाँगुनारायण नगर क्षेत्रबाट १५/१५ मेट्रिक टन फोहोर संकलन हुने गरेको छ ।

काठमाडौंको शंखरापुर नगर क्षेत्रबाट ८ मेट्रिक टन र सबैभन्दा कम कीर्तिपुर नगरबाट दैनिक ६ मेट्रिक टन मात्र फोहोर उत्पादन हुने गरेको छ ।

विभागका प्रमुख श्रेष्ठका अनुसार उपत्यकाका नगरबाहेक नुवाकोट जिल्लाको ककनी गाउँपालिका र धादिङ जिल्लाको धुनिबेँसी नगर क्षेत्रको फोहोर पनि ल्याण्डफिल साइटमा आउने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here