सेतो पुतलीदेखि सावधान रहन मन्त्रालयको आग्रह, यस्ता छन् शापू रोगबाट बच्ने उपाय

काठमाडौं । शापू एक दृष्टिनाशक रोग हो । शापू रोग सेतो पुतलीसँग सम्बन्धित छ ।

प्राय वर्षायामपछि भदौदेखि मङ्सिर महिनासम्म विशेषगरी नेपालको मध्यपहाडी भेगमा शापू महामारीको रूपमा देखिने गरेको छ । शापू रोगका कारण आँखाको दृष्टिसमेत गुम्नसक्ने हुँदा सेतो पुतलीदेखि सावधान रहन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय आग्रह गरेको छ ।

मन्त्रालयका अनुसार शापू रोगको लक्षणहरू देखापरेको २४ देखि ४८ घण्टासम्म यसको उपचार हुन नपाए आँखाको दृष्टिसमेत गुम्नसक्छ । यो रोग कसरी लाग्छ भन्ने कारण हालसम्म खुल्न सकेको छैन । तर, सेतो पुतली (मोथ) सम्पर्कमा आएका मानिसमा यो रोग देखिएको हुनाले सेतो पुतलीलाई शापूको कारण मानिएको छ ।

कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएका बिरामीहरूलाई पनि यो रोग देखा परेको जनापइएको छ । अन्य जीवाणु र विषाणुले समेत यो रोग लागेको पाइएको छ ।

यस्ता छन् लक्षण

– एक्कासि एउटा आँखा रातो हुनु,
– चिप्रा नलाग्नु,
– उज्यालोमा हेर्न नसक्नु,
– आँखाको दृष्टिमा तत्कालै कम हुनु,
– आँखा दुख्नु,
– उपचारमा ढिलो भएमा कालो नानीमा सेतो देखिनु शापू रोगका लक्षणहरू हुन् ।

कसरी सुरक्षित रहने

– शापूबाट जोगिनका लागि सेतो पुतलीको संसर्गबाट टाढै रहने,
– धेरै उज्यालो सेतो बत्ती नबाल्ने,
– साँझ र राती झ्यालढोका बन्द गर्ने,
– सम्भव भएसम्म झ्यालढोकामा जाली हाल्ने,
– सुत्ने कोठामा बत्ती निभाएर वा मधुरो बत्ती बालेर झुल लगाएर मात्र सुत्ने गर्नपर्छ ।

समयमै उपचार भएमा यो रोग निको हुन्छ । तर, उपचारमा ढिला हुन गएमा बिरामीको दृष्टि गुम्ने वा आँखा सुकेर जान सक्छ ।

शापू रोग लागेको शङ्का भएमा आफूखुसी औषधि वा जडीबुटीको प्रयोग गर्नुभन्दा पनि तुरुन्तै अस्पताल वा आँखा उपचार केन्द्र जान मन्त्रालयको सुझाव छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here