उपभोक्तालाई चुनौति बन्दै चाडपर्व, अत्यावश्यक खाद्यवस्तुको मूल्य छोइनसक्नु

जितेन्द्र खनाल

काठमाडौं, १४ असोज । दशैं–तिहार नजिकिँदै गर्दा अत्यावश्यक खाद्यवस्तुको मूल्य बढ्ने क्रम जारी छ ।

विशेषगरी खानेतेलको मूल्यमा अस्वभाविक वृद्धि भएको छ । खुद्रा व्यापार संघको तथ्यांक अनुसार गएको एक वर्षमा खानेतेलको मूल्य लिटरमै १०० रुपैयाँसम्म वृद्धि भएको छ ।

तेलका साथै अत्यावश्यक खाद्यवस्तुहरु गेडागुडी, चामल, चिउरा लगायतको मूल्य पनि अचाक्ली बढेको छ ।

संघको तथ्यांक अनुसार २०७७ असोजमा २७५ रुपैयाँ मूल्य रहेको भुटेको तोरीको तेलको अहिले लिटरमै ३४० देखि ३६० रुपैयाँ पुगेको छ  ।

काँचो तोरीको तेल पनि प्रतिलिटर १८०–२८० बाट बढेर ३६० रुपैयाँसम्म पुगेको छ  ।

भटमास तेलको मूल्य प्रतिलिटर १५५ बाट बढेर २४० पुगेको छ  । सनफ्लावर तेल प्रतिलिटर १६५–१८० बाट बढेर २५० र डाल्डा घिउ १४५ बाट २३० रुपैयाँ पुगेको छ  ।

चिनीको मूल्य पनि बढेर प्रतिकिलो ९५ रुपैयाँ पुगेको खुद्रा व्यापार संघको तथ्यांकले देखाउँछ । साथै, एक वर्षमा हरियो केराउमा प्रतिकिलो २० रुपैयाँ बढेर किलोको १४० पुगेको छ  । सानो केराउ १६०, राजमा, रहर दाल, मुसुरो दाललगायतको मूल्य पनि किलोमै २० रुपैयाँसम्म वृद्धि भएको छ  ।

तरकारीको मूल्यपनि अत्याधिक बढ्यो

चाडवाड नजिकिँदै गर्दा हरिया तरकारीको मूल्यमा पनि अस्वभाविक रुपमा बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार सागको मूल्यमा अत्याधिक मूल्यवृद्धि भएको छ ।

गत असोज १ गते होलसेल मूल्य प्रतिकिलो ५५ रुपैयाँ रहेको ठूलो गोलभेडाको मूल्य बढेर ६५ रुपैयाँ पुगेको छ । त्यस्तै, प्रतिकिलो २७ रुपैयाँ रहेको रहेको रातो आलु ३१ रुपैयाँ र ४० रहेको सुकेको प्याज ५४ रुपैयाँ पुगेको समितिको तथ्यांकले देखाउछ ।

यसको अलवा तनेबोडी ७० रुपैयाँबाट १३०, घिरौंला ४५ बाट ७५ र भिन्डी प्रतिकिलो ५६ बाट ७५ रुपैयाँ पुगेको समितिको तथ्यांकमा उल्लेख छ  ।

बजारमा कृतिम अभाव देखाएर मूल्य बढाईयो

चाडपर्व नजिकिँदै गर्दा कतिपय व्यापारीले बजारमा अत्यावश्यक खाद्यवस्तुको कृतिम अभाव देखाएर मूल्यवृद्धि गराएको आरोप उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिना लगाउँछन् ।

‘चाडबाड नजिकिँदै गर्दा कतिपय व्यापारीले बजारमा कृतिम अभाव सिर्जना गरेर अत्यावश्यक खाद्यवस्तुको मूल्य अस्वभाविक रुपमा बढाईरहेका छन् ।’ अध्यक्ष तिमिल्सिनाले क्लाउड पत्रिकासँग भने, ‘यो कुरा सरकारलाई कुनै असर गरेको छैन्, पीडामा त जनता छन् । यसको लागि सरकारले बजार अनुगमनमा कडाई गर्नुपर्यो । यसको साथै, आपूर्ति व्यवस्था सहज छ भनेर आम जनतालाई सुसुचित गर्नुपर्छ ।’

यसको साथै, खाद्य व्यवस्था विभाग साल्ट ट्रेडिङ जस्ता निकायले ठूला गाडीमा चोक-चोकमा अत्यावश्यक खाद्यवस्तु बिक्री गर्नुपर्ने अध्यक्ष तिमिल्सिनाको भनाइ छ । नेपाली बजारमा भन्दा पनि भारत लगाएतका देशमा खानेतेलको निर्यात धेरै भएको कारण पनि खानेतेलको मूल्यमा अस्वभाविक मूल्यवृद्धि भएको कुरा अध्यक्ष तिमिल्सिनाले बताए ।

‘नेपालबाट निर्यात हुने वस्तुमा खानेतेल पहिलो नम्बरमा छ । नेपाली बजारमा नबेच्ने बाहिर निर्यात गर्ने यसले सप्लाई चेनलाई प्रभावित गर्यो ।’

उनले भने, ‘अर्को कुरा अन्तराष्ट्रिय बजारमा मूल्य बढ्यो भनेर नेपाली बजारमा पनि आफूखुशी मूल्य बढाउने कार्य भईरहेको छ । यसमा सरकारले अन्तराष्ट्रिय बजारको मूल्यवृद्धि अनुसार राष्ट्रिय बजारको मूल्यवृद्धि ठिक हो वा हैन भन्ने कुरामा आफ्नो अनुसन्धान केन्द्रित गर्नुपर्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here