नबिलको सामाजिक उद्यमशीलता कार्यक्रम शुरु, उद्यमी सिर्जनाको लक्ष्य

काठमाडौं, १० मंसिर । नबिल बैंकले सामाजिक उद्यमशीलता विकासका लागि नबिल सामाजिक उद्यमशिलता कार्यक्रम (एनबीएलएसएसई) शुरु गरेको छ ।

समाजमा उद्यमशीलताको माध्यमबाट सामाजिक समस्याको दीर्घकालीन समाधान गर्ने नविन सोचमा आधारित उद्यमलाई प्रवद्र्धन गर्दै आर्थिक सामाजिक रुपान्तरणमा सहयोग गर्न यो कार्यक्रम शुरु गरिएको बैंकले बताएको छ ।

स्थानीय समुदायको सामाजिक उद्यम क्षमता र नेतृत्व विकासका लागि आवश्यक सिप तथा वित्तिय सहयोग उपलब्ध गराई सामाजिक उद्यमको प्रवद्र्धन गर्ने उद्येश्यका साथ नबिल एसएसईले सामाजिक उद्यमशीलतामा प्रमाणपत्र कार्यक्रम र फेलोशिप कार्यक्रम गरी दुई किसिमका कार्यक्रम तय गरेको छ ।

सातै प्रदेशमा कार्यक्रम

शुरुवाती चरणमा सामाजिक उद्यमशीलतामा प्रमाणपत्र कार्यक्रमलाई कार्यान्वयनमा ल्याउन बैंकले सातै प्रदेशका कलेज तथा विश्वबिद्यालय सँग सम्झौता गरेको छ ।

प्रदेश १ मा महेन्द्र मोरङ आदर्श मल्टिपल क्याम्पस, प्रदेश २ मा वीरगञ्ज पब्लिक कलेज, बाग्मतीमा क्याम्पियन कलेज, गण्डकीमा पोखरा विश्वविद्यालयको फ्याकल्टी अफ ह्युमानिटिज एण्ड सोसल साइन्स, लुम्बिनीमा क्षितिज इण्टरनेशनल कलेज, कर्णालीमा सुर्खेत मोडल कलेज र सुदूरपश्चिममा सुदूरपश्चिमाञ्चल एकेडेमीमा उद्यमशीलता कार्यक्रम सञ्चालन हुनेछ ।

त्यसैगरी फेलोशीप कार्यक्रम आवासीय तालिममा आधारित हो, जुन काठमाडौंमा त्रिभुवन विश्वविद्यालयको ब्यवस्थापन संकायको स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्यमा सञ्चालन गरिने बताइएको छ ।

त्यसका लागि बैंक र स्कुलले एक सम्झौतामा हस्ताक्षर गरेका छन् ।

कार्यक्रमले एक वर्षसम्मका लागि आवश्यक पर्ने सबै सहयोग विद्यार्थीलाई उपलब्ध गराउने छ ।

कार्यक्रममा को सहभागी हुनसक्छ ?

चालिस सहभागीलाई संलग्न गराउने ६ महिने सिकाइमा आधारित यो कार्यक्रमले १८ देखि ५० वर्ष भित्रका इच्छुक व्यक्तिलाई उद्यमको शुरुवात गर्न सक्षम बनाउने लक्ष्य राखेको छ ।

यो कार्यक्रममा सहभागी हुन चाहने व्यक्तिले तोकिएको मापदण्ड अनुसार निवेदन दिन सक्नेछन् र छनौटमा परेका व्यक्तिहरुलाई उद्यमशीलताको तालिम दिइने छ ।

उनीहरुका लागि तालिम अवधिमा बस्ने, खाने सुविधा उपलब्ध हुनेछ । संभाव्य सामाजिक उद्यममा इच्छा भएका, सोच बनाएका र आवश्यक मात्रामा आफ्नो लगानी गर्न तयार भएका व्यक्तिहरु यी दुवैमध्ये कुनै एक कार्यक्रममा सहभागी हुन सक्नेछन् ।

कार्यक्रमका दुवै कोर्स पुरा गरेको व्यक्तिमा उद्यमशीलताको स्पष्ट सोच विकास गरी नयाँ सामाजिक उद्यमको मोडेल गर्दै बैंकबाट ऋण लिएर सामाजिक उद्यम शुरुवात गर्न सक्ने अपेक्षा गरिएको छ ।

उनीहरुले शिक्षा, स्वास्थ्य, पानी तथा सरसफाइ, कृषि, खाद्य, जीविकोपार्जन, उर्जा र जलवायु परिवर्तन जस्ता क्षेत्रहरुमा लगानी गरी सामाजिक उद्यमशीलता विकास गर्न सक्नेछन् ।

तालिमले के सिकाउँछ ?

सहभागीहरुले सामाजिक उद्यम संचालनको तरिकासँंगै आधारभूत कानूनी तथा करसम्बन्धी ज्ञान पनि पाउने बैंकको भनाइ छ ।

उनीहरुले सामाजिक समस्याको पहिचान तथा त्यसको समाधानको तरिका, सामाजिक संजालमार्फत आफ्नो व्यवसाय प्रवद्र्धन, लेखासम्बन्धी ज्ञान, आवश्यक योजना तथा बजेट व्यवस्थापन जस्ता व्यवसाय संचालनका आधारभूत कुराहरुको समेत व्यवहारिक ज्ञान र सीप पाउनेछन् ।

लघुवित्त, संस्था व्यवस्थापन, परियोजना संचालन तथा व्यवस्थापन, प्रस्तुति कला, आफ्ना वस्तु तथा सेवाको बजारीकरण जस्ता विषयलाई समेत तालिममा समावेश गरिएको छ ।

व्यवसाय संचालनका लागि आवश्यक सैद्धान्तिक तथा व्यवहारिक ज्ञानका साथै कर्जाका लागि समेत सहयोग गरिने भएकाले यो कार्यक्रमले नयाँ उद्यमीलाई सफल र सक्षम बनाउन रचनात्मक सहयोग पुग्ने छ ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहका अनुसार यो कार्यक्रम पूर्ण व्यवसायिक चक्रको प्याकेज भएकाले सामाजिक उद्यमका लागि अवधारणा निर्माण गर्ने, त्यसलाई लगानीयोग्य बनाउने तथा साना भन्दा साना शिप र रोजगारी गरि जीवन निर्वाह गरिरहेकाहरुलाई पनि उद्यमी बनाउँन एक नयाँ शुरुवात हुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here