अमेरिकाले हुवावेमाथिको प्रतिबन्ध हटाउने, किन पछाडि हट्यो अमेरिका ?

विश्वका २० औद्योगिक देशहरुको समूह जी २० को जापानको ओसाकामा भएको शिखर सम्मेलनमा चीन अमेरिका व्यापार युद्धको स्थितीलाई समाधान गर्ने सहमति भएको छ ।

यससँगै अमेरिकाले चिनियाँ प्रविधि कम्पनी हुवावे माथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने बताएको छ ।

अमेरिकी सरकारले चिनियाँ दूरसञ्चार प्रविधि कम्पनी हुवावेलाई कालोसूचीमा राखेर अमेरिकी कम्पनीहरुलाई हुवावेसँग व्यापार गर्न प्रतिबन्ध लगाएको थियो । तर, प्रतिबन्ध लगाएको ६ साता पछि नै अमेरिका आफ्नो निर्णबाट पछि हटेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार ‘अमेरिकी कम्पनीहरुले हुवावेलाई आफ्ना उत्पादनहरु बेच्न सक्ने र यस्तो कारोबारले देशलाई ठूलो समस्या नपार्ने’ बताएका छन् ।

ट्रम्पको यस्तो अभिव्यक्ति जी २० शिखर बैठकमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटवार्ता पछि आएको हो । अमेरिकाको यस्तो निर्णयलाई ‘युटर्न’को रुपमा हेरिएको छ । ट्रम्पले यस विषयमा आगामी दिनमा पनि चीनसँग वार्ता हुने समेत बताएका छन् ।

किन लगाइयो हुवावेमाथि प्रतिबन्ध ?

अमेरिकाले हुवावेको प्रविधिमार्फत चीनले आफ्नो देशको जासुसी गरीरहेको आरोप लगाउँदै अमेरिकी कम्पनीहरुलाई हुवावेका उपकरणहरु प्रयोगन नगर्न निर्देशन दिएको थियो । चीनले भने उक्त आरोपको खण्डन गरेको थियो ।

त्यस्तै हुवावेले पनि आफूले कुनै गलत कार्य नगरेको बताउँदै आएको थियो । हुवावेकी उपाध्यक्ष मेङ वाङ्जुलाई अमेरिकाले क्यानडामा गिरफ्तार गर्न लगाएपछि दुई देश बीचमा तिक्तता बढेको थियो ।

यसै क्रममा अमेरिकाले हुवावेलाई ६ साता अघि प्रतिबन्ध लगाउँदै अमेरिकी कम्पनीहरुलाई हुवावेसँग व्यापार नगर्न आदेश दिएको थियो । त्यसलगत्तै गुगलले एन्ड्रोइइड अपरेटिङ सिस्टम, युट्युब, गुगल म्याप र फेसबुकले फेसबुक, इन्स्टाग्राम लगायतका सेवा हुवावेका अब उत्पादन हुने स्मार्टफोनमा प्रयोग गर्न नदिने बताएका थिए ।

त्यस्तै माइक्रोसफ्टले पनि हुवावेसँग सहकार्य नगर्ने बताएको थियो । यसले हुवावे कम्पनी संकटमा पर्ने अड्कल गरिँदै आएको थियो । तर, कतिपय विश्लेषकले भने यस्तो प्रतिबन्धले हुवावेलाई फाइदा हुने र उ अन्य सेवा अरुसँग लिन नपर्ने गरी आत्मनिर्भर हुने बताउँदै आएका थिए ।

प्रतिबन्ध लगत्तै हुवावेले यस्तो स्थिती आउन सक्ने आँकलन गरेर आफूले त्यसको तयारी गरीसकेको बताएको थियो । उसले आफ्नै अपरेटिङ सिस्टम हङमेङ निर्माण गरिरहेको बताउँदै चिनियाँ स्मार्टफोन निर्माता ओपो, साओमी लगायतका कम्पनी पनि आफ्नाे अपरेटिङ सिस्टम प्रयोग गर्न सहमत भएको दाबी गरेकाे थियो ।

हुवावेमाथि प्रतिबन्ध लगाउँदा गुगलका ८० करोड भन्द धेरै प्रयोगकर्ता घट्ने तथ्यांकहरु पनि सार्वजनिक भएका थिए ।

चिनियाँ विवाद बढ्दै जाँदा अमेरिकाले चिनियाँ उत्पादनहरुमा अतिरिक्त कर लगाउने र चीनले अमेरिकी उत्पादनमाथि अतिरिक्त कर लगाउन थालेपछि दुई देशको सम्बन्ध चिसिँदै गएको थियो ।

दुई शक्तिशाली अर्थतन्त्र बीचको व्यापार युद्धले विश्वभर नै आर्थिक मन्दि आउनसक्ने जोखिम बढेको बेलामा दुई देश समस्यालाई नयाँ ढंगबाट समाधान गर्न सहमत भएका हुन् ।

एजेन्सीकाे सहयाेगमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here