इन्टरनेट धोबी : प्रविधिले डोहोर्‍याएको व्यवसाय

रक्षा रेग्मी
काठमाडौं, १४ मंसिर । अब धोबी खोज्न कपडा बोकेर चोक चोक चार्हादै हिड्नुपर्दैन् । प्रविधिले जीवनशैली यती सहज बनाएको छ की आफुसँग भएको मोबाइल वा कम्प्युटरबाट धोबीलाई बोलाउनुस, कपडा लिन ढोकामै आइपुग्छ ।

त्यसका लागि तपाँइले विभिन्न अनलाइन धोवीहरुको वेवसाइटमा अनलाइन रजिष्टर वा त्यहाँ भएको फोन नम्बरमा सिधै फोन गर्नुपर्छ । उनीहरु तपाँईको फोहोर लुगा लिन ढोकामै आउछन् र सफा गरेर ल्याइदिन्छन् ।

‘घरको ढोकाबाट लैजान्छ, ढोकामै ल्याइदिन्छ, यो भन्दा सुविधा के होला’ कलंकीका सुरज प्रसाइ सुनाउछन् । पेसाले इन्जिनियर उनले विगत ६ महिनादेखि अनलाइन धोबीलाई नै कपडा धुन दिदै आएको बताउँछन् ।

हप्तामा मुस्किलले एक दिन विदा पाउँछन् । ‘त्यो दिन पनि कपडा धोएर विताउदा साथीभाई तथा आफन्तबाट टाढा भइने रहेछ, अहिले त अनलाइन रजिष्टर गरेर धोबीलाई लुगा धुन पठाउँछु, आफु आनन्दले विदा मनाउछु’ उनी भन्छन् ।

त्यसो अधिकांश जागिरे तथा कामकाजी मानिसहरुको पीडा यही उही हो, साप्ताहिक बिदा लुगा धोएरै बित्छ । ‘त्यसैले त हामी भन्छौ शनिवार घुम्न जानुस लुगा हामी सफा गरिदिउला’ स्मार्ट धोवीका सञ्चालक सुजन चौलागाई भन्छन् ।

काठमाडौंमा पानीको समस्या त्यसमाथी व्यस्त जीवनशैली । त्यही समस्यालाई मध्यनजर गर्दै ३ बर्ष अघिदेखि यो व्यवसाय शुरु गरेको उनी बताउँछन् । ‘शुरुमा अनलाइन वा फोनमा अर्डर नै आउदैन थियो उनले भने, विस्तारै एक दुई गर्दै अहिले त दैनिक २०\२५ ओटा अर्डर आउछ ।

अझै पनि सबै प्रविधिमा अभ्यस्त नभइसकेकोले सबै ग्राहकलाई समेट्न नसकिएको उनले बताए । इन्टरनेट चलाउनेहरुले कम्पनीको वेवसाइट या फेसबुक इन्स्ताग्रामलगायत सामाजिक सञ्जाबलाट सजिलै यसबारे थाहा पाउछन् ।

शुरुमा ग्राहकको विश्वास जित्न सकिदैन भन्ने लागेपनी अहिले भने आफ्नो कामबाट सन्तुष्ट मिलेको उनले जानकारी दिए । ‘अहिले हाम्रो सेवाबाट ग्राहक सन्तुष्ट छन् भने हामी मख्ख’ उनले भने ।

अझैपनी कतिपयले विश्वास नगर्ने पाइएको वासमाण्डुका व्यवस्थापक जितेन्द्र मण्डल बताउँछन् । ग्राहकहरुमा कपडा लगेर फिर्ता आउदैनकी भन्ने वा विग्रीन्छ भन्ने सोचाइ हुने रहेछ । तर एकपटक सेवा लिइसकेका ग्राहक भने दोहोर्याएर सम्पर्कका आउने गरेको उनको दावी छ ।

तिनकुने शान्तिनगरमा कार्यालय रहेको वासमाण्डुले विगत ४ बर्षदेखि यस प्रकारको सेवा दिइरहेको छ । मण्डलका अनुसार हाल त्यहाँ १० जना कर्मचारी छन् ।

दिनमा २ सय ओटासम्म अर्डर आउने भएकोले कर्मचारीलाई भ्याइनभ्याइ हुने बताउँछन् । जाडो लागेपछी त झन यसबारे बुझ्ने तथा अर्डर गर्नेको संख्या बढेको मण्डलले जानकारी दिए ।

वासमाण्डुले कपडा लिएपछी ४८ घण्टा भित्र धुलाई गरेर फिर्ता गर्ने प्रतिवद्धता गर्छ । ‘इमरर्जेन्सी अवस्थामा एक दिनमा फिर्ता दिन्छौ,त्यसमा डबल चार्ज लिन्छौं’ उनले भने ।

कपडा दिइसकेपछि आवश्यकताअनुसार छिटोमा त्यही दिन र ढिलोमा ४८ घण्टाभित्र डेलिभरी हुन्छ ।

सेवाअनुसार विभिन्न दर कायम गरिएको छ । वास एन्ड फोल्डको प्रतिकिलो ५०रुपैयाँ प्रतिकेजी, वास एन्ड आइरनको प्रतिकेजी १००, ड्राइ क्लिनको ९९ र प्रिमियम लन्ड्री (विशेष सफा)का लागि केजीको १ सय ८० रुपैयाँ शुल्क छ ।

त्यस्तै कोट, सारी र लेहंगाको भने २ सय ५० देखि ३ सय सम्म तोकिएको छ । अहिले काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्र यस्तो सुविधा उपलब्ध गराइएको छ । मूल्य सूची कम्पनीअनुसार फरक रहेको पाइएको छ ।

कसरी हुन्छ काम

कम्पनीको वेवसाइटमा वा फोनमा कपडा धुने अर्डर आउछ । अर्डर अनुसार कम्पनीका स्टाफ सम्बन्धित व्यक्तिको घर वा अफिसमा पुग्छ ।

उपभोक्ताको लुगा तौलिएर कति पैसा लाग्छ हिसाव गर्छ । आफुले बोकेको झोलामा कपडा राखेर फिर्ता आउछन् । कपडाको प्रकार हेरेर कुनै मेसिनले वा कुनै हातले धुने गरिन्छ । कपडा सुकेपछी आइरन लगाएर वा पट्याएर पुन ग्राहकको लोकशनमा पुर्याइन्छ ।

डेलिभरी स्टाफले आफुसँग लुगा जोख्ने मेसिन, स्ट्याम्प प्याड र बिल बोकेर हिडेको हुन्छ । कपडाको प्रकृति तथा तौल अनुसार मूल्य तोकिएको हुन्छ ।

यी बाहेक उपत्यकामा नेपाली धोवी, स्मार्ट लण्ड्रीलगायत सञ्चालनमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here