१३ अर्ब वर्षअघिको रहस्यको खोजी, जेम्स वेबले नाप्यो ६ लाख किमि दूरी

काठमाडौं । इतिहासकै शक्तिशाली जेम्स वेब टेलिस्कोपले फूल आकारको मिरर प्यानल खोलेसँगै विश्वभरका वैज्ञानिकहरुमा खुशीयाली छाएको छ । किनकी यसलाई ब्रह्माण्डको रहस्य पत्ता लगाउने मिसन सफल हुने संकेतको रुपमा लिन सकिन्छ ।

त्यसो त शनिबारको प्राविधिक प्रक्षेपण आगामी छ महिनामा हुनुपर्ने जटिल र शृंखलावद्ध कामको सुरुवात हो । टेलिस्कोप जति पर जान्छ त्यति तै चुनौतिहरु थपिंदै जाने वैज्ञानिकहरु बताउँछन् ।

जेम्स वेब स्पेस टेलिस्कोपले स्पेसमा पठाएको करिब २ सातापछि शनिबार फूल आकारको मिरर प्यानल खोलेको हो । योसँगै टेलिस्कोप ब्रह्माण्डको इतिहासको प्रत्येक चरणबारे अध्ययन गर्न तयार भएको वैज्ञानिकहरु बताउछन् । सो टेलिस्कोप गत डिसेम्बर २४ तारिखमा प्रक्षेपण गरिएको थियो ।

१३ अर्ब वर्षअघिको इतिहासको खोजी

करीब १३ अर्ब वर्षअघिको ब्रह्माण्डको इतिहासबारे खोज गर्ने उद्देश्यसहित सो वेब स्पेस टेलिस्कोपको निर्माण गरिएको हो ।

टेलिस्कोपको ६ दशमलव ५ मिटरको ऐनाको अन्तिम भाग शनिबार प्रयोगमा आएको नासाले ट्वीटमार्फत जानकारी दिएको थियो । सो ऐना हालसम्म पृथ्वीको कक्षमा पठाइएकोमध्ये सबैभन्दा ठूलो रहेको बताइएको छ । खुम्च्याएर पठाइएको सो ऐनालाई अन्तरिक्षमा फैलिन २ साता लागेको हो । ठूलो ऐना भएका कारण वेब स्पेस टेलिस्कोपले धेरै प्रकाश संकलन गर्न सक्छ ।

साथै यसले धेरै समय अघिसम्मका बास्तबिकता पत्ता लगाउन सक्छ । यससँगै उक्त टेलिस्कोपले ब्रह्माण्डको पहिलो ताराको पनि खोजी गर्ने छ ।

पृथ्वीबाट प्रक्षेपण गरिएको ३० दिनमा सो टेलिस्कोपले १५ लाख किमि दुरी तय गरी आफ्नो लक्ष्य अर्थात् ल्यागरेञ्ज प्वाइण्टमा पुग्ने छ । यसले पृथ्वीको नभइ सूर्यको प्रदक्षिणा गर्नेछ ।

के हो जेम्स वेब टेलिस्कोप ?

जेम्स वेब टेलिस्कोप विश्वको सबैभन्दा जटिल, शक्तिशाली र महँगो परियोजना हो । यसलाई अमेरिकी अन्तरिक्ष संस्था नासाले विकास गरेको हो । यसको निर्माणका लागि १० अर्ब डलर खर्च लागेको छ । ब्रह्माण्डको अस्तित्वबारे अध्ययन गर्ने उद्देश्यसहित निर्माण गरिएको सो टेलिस्कोप चन्द्रमा भन्दा चार गुणा टाढा पठाउन खोजिएको हो ।

उक्त टेलिस्कोप सन् १९८६ बाट बनाउन शुरु गरिएको थियो । हबल टेलिस्कोप भन्दा शक्तिशाली यो नयाँ टेलिस्कोपले इन्फ्रारेड लाइटको सहायताले वस्तु देख्नेछ । मानिसको नांगो आँखाले देख्न नसक्ने प्रकाश पनि कैद गर्नेछ ।

यस्तै टेलिस्कोपको ऐनमा सुनको जलप गरिएको छ । रातो प्रकाशलाई सुनले सबैभन्दा बढी परावर्तन गर्छ । जेम्स वेब टेलिस्कोप पृथ्वीभन्दा करिब १५ लाख किलोमिटर पर पुर्याइनेछ । त्यहाँसम्म पुग्दा उक्त टेलिस्कोपले क्रमशः आफ्नो स्वरुप परिवर्तन गर्दै जानेछ । अर्थात् त्यहाँको वातावरणअनुसार टेलिस्कोपको आकार परिवर्तन हुने गरी यसलाई निर्माण गरिएको छ ।

हबलभन्दा १०० गुणा शक्तिशाली

अमेरिकी, युरोपेली र क्यानडाली अन्तरिक्ष एजेन्सीमा काम गर्ने इन्जिनियरहरूले यो नयाँ टेलिस्कोप हबलभन्दा १०० गुणासम्म शक्तिशाली हुने बताएका छन् ।

सन् १९९० अप्रिल २४ मा प्रक्षेपण गरिको हबल हाल पृथ्वीभन्दा ३४० माइल (५४७ किमि) माथि रहेको छ । यसले प्रत्येक ९५ मिनेटमा पृथ्वीलाई एक फन्को मार्छ । त्यो भनेको दिनमा १५ फन्को मार्नु हो । पृथ्वीका बारेमा प्रचलनमा रहेका आधारभुत अवधारणाहरु परिवर्तन गर्नमा हबलको ठूलो भूमिका रहेको छ ।

नयाँ टेलिस्कोपलाई दक्षिण अमेरिकाको फ्रेञ्च गुयनाको अन्तरिक्ष केन्द्रबाट सन् २०२१ डिसेम्बर २४ मा प्रक्षेपण गरिएको हो । यसलाई एरियनस्पेश रकेटबाट अन्तरिक्षमा पठाइएको छ ।

जम्स वेबको उडान पृथ्वीको कक्षमा ३० मिनेटभन्दा कम समयको थियो । हाल यो पृथ्वीबाट ६ लाख माइल पर पुगिसकेको नासाले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here