एफडीआइमा भारतको हिस्सा ३१ प्रतिशत, रोजाइमा उर्जा र सिँचाइ परियोजना

काठमाडौं, १७ माघ । प्रत्यक्ष वैदेशिक लगानी (एफडीआइ) प्रतिबद्धतामा भारतको हिस्सा ३१ प्रतिशत देखिएको छ ।

नीति अनुसन्धान प्रतिष्ठानले गरेको अध्ययन अनुसार नेपालमा एफडीआइको धेरै परियोजना संचालन गर्ने देशमा भारत रहेको छ ।

विश्वको महाशक्ति राष्ट्र अमेरिका, चीनलाई उछिन्दै नेपालमा छिमेकी देश भारतको ५६ अर्ब रुपैयाँ लगानी रहेको छ।

अध्ययन अनुसार नेपालमा आएको वैदेशिक लगानीमध्ये करिब ८२ प्रतिशत उर्जा, ग्यास र सिँचाइ परियोजनामा रहेको छ।

त्यस्तै ट्रान्सपोर्ट स्टोरेज र कम्युनिकेसन क्षेत्रमा ७ प्रतिशत र बाँकीमा ११ प्रतिशत लगानी भित्रिएको देखाएको छ।

दोस्रोमा रहेको चीनको २७ अर्ब ५६ करोड रहेको छ भने तेस्रोमा रहेको क्यारेबियन देश सेन्ट किट्स एन्ड नेभिसको २४ अर्ब ९४ करोड रुपैयाँ रहेको छ।

चौथोमा रहेको आयरल्यान्डबाट ११ अर्ब ९३ करोड, सिंगापुरको ८ अर्ब ७२ करोड, अष्ट्रेलियाको ७ अर्ब ६३ करोड, युएईको ६ अर्ब ८५ करोड रहेको छ ।

त्यस्तै बंगलादेशको ५ अर्ब ११, दक्षिण कोरियाको ४ अर्ब ४७ करोड र अमेरिकाको ४ अर्ब ४७ करोड वैदेशिक लगानी भित्रिएको देखिएको छ।

यसरी आएको एफडीआइको धेरै परियोजना काठमाडौं उपत्यका केन्द्रीत रहेका छन् ।

वैदेशिक लगानीमध्ये बागमती प्रदेशमा ६५.५ प्रतिशत लगानी छ। गण्डकी प्रदेशमा १४ प्रतिशत, मधेश प्रदेशमा १० प्रतिशत लगानी भएको छ।

बाँकी १० प्रतिशत लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा लगानी भएको उल्लेख गरेको छ।

नेपालमा भित्रिने प्रत्यक्ष वैदेशिक लगानीले कुल गार्हस्थ्य उत्पादनमा ०.५४ प्रतिशत मात्रै याेगदान गरेको पाइएको छ।

सार्क मुलुकमा जीडीपीको १७.०५ प्रतिशत माल्दिभ्सको रहेको छ। दोस्रोमा भारतको १.७६ प्रतिशत रहेको छ भने तेस्रोमा रहेको पाकिस्तानको ०.८० प्रतिशत, चौथोमा रहेको बंगलादेशको ०.६३ प्रतिशत र पाँचौँमा रहेको नेपालको ०.५४ प्रतिशत रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here