काठमाडौं, १८ वैशाख । बाबुबाजेका पालादेखि चिरपरिचित हुक्का नेपाली संस्कृति होइन।
इतिहासअनुसार यसको उत्पति ५ सय वर्षअघि पर्सियामा भएको पाइन्छ। पछि यो भारत हुँदै नेपाल भित्रियो। गाउँघरतिर बुढापाकाले तान्ने गरेको हुक्का नेपालमा पर्यटकको आगमन हुन थालेपछि विस्तारै व्यवसायको रुपमा देखिन थाल्यो।
पहिले पित्तल र काठबाट निर्मित हुने तमाखु हुक्कालाई अहिले काँचका फ्लेबर हुक्काले प्रतिस्थापित गरेको छ। कुनै बेला सम्भ्रान्त वर्गको बैठकको सान हुने हुक्का अहिले हरेक सहरका गल्ली र चोकमा खुलेका रेस्टुरेन्ट, बारमा पाइन्छ।
केही समय अघिसम्म गाउँघरमा बुढापाका मानिसहरुले सोखको रुपमा हुक्का तान्ने गर्थे । कोइला माथि तमाखु राखेर तान्ने हुक्का त आजभोली लोप हुने बेला भइसक्यो । तर, आजभोलि सहरमा नयाँ यूवा पुस्ताले नयाँ अन्दाजमा हुक्का तान्न थालेका छन् ।
त्यसैले होला काठमाडौं सहरमा अधिकांश रेष्टुरेन्टहरुले ‘यहाँ हुक्का पाईन्छ’ भन्ने बोर्ड झुण्ड्याउन थालेका छन् । युवायुवतीका लागि हुक्का तान्नु फेसन नै बनेको छ । उनीहरु यसले गर्ने हानीतर्फ सचेत छैनन् ।
युवायुवतीहरुले यस्तोसँग हुक्का तान्ने गर्छन् की त्यो देख्दा लाग्छ यसले कुनै प्रकारको हानी नै गर्दैन् । तर, यो पनि त एक नसा नै हो जसले धेरै हानी गर्छ । संसारमा यस्तो कुनै प्रकारका नसालु पदार्थ हालसम्म बनेको छैन् जसले हाम्रो शरीरमा नकारात्मक असर नगरोस् ।
त्यसकारण हुक्काको पनि धेरै नराम्रा पक्षहरु छन् जसले हाम्रो शरीरलाई नकारात्मक प्रभाव पार्ने गर्छ ।
हुक्कालाई फेसन र मनोरञ्जनको साधनको रुपमा लिनेहरुको तर्क जेसुकै होस्, यथार्थमा अध्ययनहरूले भने हुक्कालाई चुरोट सेवनभन्दा कैयौ गुणा घातक हुने निष्कर्ष निकालिसकेका छन्।
विश्व स्वास्थ्य संगठनको रिपोर्ट भन्छ– हुक्का सेवन गर्नेहरूले चुरोट सेवन गर्नेभन्दा २ सय गुणा बढी हानिकारक धुँवा सेवन गरिरहेका हुन्छन्।
चुरोटभन्दा हुक्का यस कारणले पनि बढी हानिकारक हुन्छ, एक खिल्ली चुरोट पिउन ५देखि १० मिनेट समय लाग्छ भने हुक्का पिउन आधा घन्टादेखि १ घन्टासम्म लाग्छ।
चुरोट एक वा बढीमा २ जनाले सेयर गरी पिउने गरिन्छ भने हुक्का ४देखि ५ जनाभन्दा धेरैले सामूहिक रुपमा पिउने गरिन्छ। जसले गर्दा एक व्यक्तिमा भएको रोग अर्कोमा सजिलै संक्रमण हुन सक्छ।
त्यसैगरी हुक्काको पाइप राम्रोसँग सफा नगरेको अवस्थामा विभिन्न प्रकारका सरुवा रोगसमेत लाग्ने खतरा बढी छ। रेस्टुरेन्टहरुमा ग्राहकको भिड बढेको बेला हुक्का र पाइप राम्रोसँग सफा गरिन्छ भन्ने ग्यारेन्टी पनि हुँदैन।चुरोटभन्दा ३ गुणा निकोटिन, १० गुणा कार्बनमोनोअक्साइड, २५ गुणा टार, ५० गुणा लिडको मात्रा हुन्छ हुक्कामा।
९ महिनामा भित्रियो ८ करोडको हुक्का, १७ करोड राजस्व संकलन
भन्सार विभागको तथ्यांक अनुसार चालु आवको ९ महिना (साउन चैत)सम्ममैै ९१ हजार ६६२ केजी हुक्का आयात भएको छ । चालु आवमा उक्त मात्राको हुक्का ७ करोड ९६ लाख ९१ हजार रुपैयाँ तिरेर आयात गरिएको छ । हुक्का आयातका क्रममा १७ करोड ११ लाख ११ हजार रुपैयाँ राजश्व संकलन भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
गत आर्थिक वर्ष २०७७/७८ मा ६ करोड ६९ लाख १२ हजार रुपैयाँ बराबरको हुक्का फ्लेभर आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । उक्त अवधिमा ८० हजार ५५ केजी हुक्का फ्लेबर आयात भएको थियो । उक्त हुक्का आयात भएको क्रममा १३ करोड २० लाख १६ हजार रुपैयाँ राजश्व संकलन भएको थियो ।