रोजगार बचतपत्र: विदेशिएका नेपालीलाई लगानीको अवसर, ब्याजदर साढे २ प्रतिशत बढ्यो

काठमाडौं, २७ वैशाख । वैदेशिक रोजगार बचतपत्रको ब्याज यस वर्षदेखि साढे २ प्रतिशतले बढाइएको छ।

नेपाल राष्ट्र बैंकले यस वर्ष ब्याज बढाएर जेठ १८ गतेदेखि बैदेशिक रोजगार बचतपत्र बिक्री खुला गर्न लागेको छ।

वैदेशिक रोजगारीमा गएका नेपालीलाई लक्षित गरी ल्याइएको वैदेशिक रोजगार बचतपत्रमा यसअघि १० प्रतिशतमात्रै ब्याज पाइन्थ्यो।

चालु आर्थिक वर्षका लागि राष्ट्र बैंकले आउँदो जेठ १८ देखि असार ६ सम्म पाँचवर्षे परिपक्व अवधि भएको वैदेशिक रोजगार बचतपत्र बिक्री गर्दै छ ।

यस ऋणपत्रमा वैदेशिक रोजगारीमा संलग्न नेपाली तथा गैरआवासीय नेपालीले आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगार बचतपत्र २०८४ (५ वर्ष) अवधिको लागि जारी गर्न लागिएको हो । पाँच वर्ष अवधिको बचतपत्रमा १२.५ प्रतिशत वार्षिक ब्याजदर तोकिएको छ। तर यसमा ब्याजकर लाग्नेछ। राष्ट्र बैंकका अनुसार ६-६ महिनामा ब्याज भुक्तानी गरिनेछ।

आवश्यक परेका बेला बिक्री गर्न र बैंक तथा वित्तीय संस्थामा धितो राखेर कर्जा लिन पनि सकिन्छ । चालु आर्थिक वर्षका लागि सरकारले ५० करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र बेच्न लागेको हो ।

गत आर्थिक वर्षमा एक अर्ब रुपैयाँको वैदेशिक रोजगार बचतपत्र बिक्रीका लागि आह्वान गरिएकामा करिब ११ प्रतिशत मात्र बिक्री भएपछि यस वर्ष सरकारले आधा घटाएर निष्कासन गर्दै छ । वैदेशिक रोजगारीमा गएकाले मात्र खरिद गर्न पाउने बचतपत्र हो यो ।

यो ऋणपत्र घटीमा ५ हजार रुपैयाँ र बढीमा ५ हजार रुपैयाँले भाग गर्दा निःशेष जाने गरी आव्हान गरिएको रकमसम्मको आवदेन गर्न पाइनेछ । यो बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन सकिनेछ ।

के-के छ सुविधा ?

१२.५ प्रतिशत ब्याजदर रहेको बचतपत्रको व्याज हरेक छ महिनामा भुक्तानी गरिन्छ भने पाँच वर्षमा सावाँ पनि फिर्ता पाइन्छ । साथै, चाहेको समयमा बिक्री गर्न वा धितो खारी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन समेत सकिने सुविधा छ ।

कसले किन्न पाउँछ ?

यो धितोपत्र मुलुकबाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ४ महिना नपुगेका नेपाली नागरिक वा गैर आवासिय नेपालीले आफू वा आफ्नो परिवारका सदस्यको नाममा समेत खरिद गर्न सक्नेछन्।

त्यस्तै घटीमा पाँच हजार र बढीमा पाँच हजारले भाग गर्दा निःशेष भाग जाने गरी आह्वान गरिएको रकमसम्म खरिद गर्न पाउने सीमा तोकिएको छ। यसको फाइदास्वरुप बचतपत्र धितो राखी बैंक वा वित्तीय संस्थाबाट कर्जा लेनदेन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here