काठमाडौं महानगरमा विनियोजित बजेटको ५ अर्ब ७१ करोड खर्च, शिक्षामा ८४ प्रतिशत

काठमाडौं, २६ कात्तिक । काठमाडौं महानगरपालिकाले गएको आर्थिक वर्षको विनियोजित बजेटमा ५ अर्ब ७१ करोड खर्च गरेको छ।

महानगरले सार्वजनिक गरेको ०७७/०७८ को वार्षिक प्रगति समीक्षा अनुसार १५ अर्ब ५६ करोड १५ लाख १४ हजार रुपैयाँमध्ये ५ अर्ब ७१ करोड ९ लाख ७५ हजार ४५४ रुपैयाँ खर्च भएको हो ।

यसमा चालुतर्फ ३४.८७ प्रतिशत, कार्य सञ्चालनतर्फ २७.२३ प्रतिशत र पुँजीगततर्फ ३७.९ प्रतिशत खर्च भएको छ। । सभा गृहमा सम्पन्न समीक्षामा विभाग, सचिवालय, आयोजना र इकाइ गरेर २८ वटा प्रस्तुतिकरण गरिएका थिए ।

वित्त विभागका अनुसार गएको बर्ष सामाजिक सुरक्षा कार्यक्रमबाहेक विनियोजन गरिएको स्रोतका हिसाबले ५५.६६ प्रतिशत आन्तरिक स्रोतबाट खर्च भएको छ ।

आन्तरिकबाहेक संघीय सरकार समानीकरण अनुदान र सशर्त अनुदान चालु, प्रदेश सरकार समानीकरण र सशर्त अनुदान चालु, राजस्व बाँडफाँड र जनसहभागिता महानगरका अन्य आयका स्रोत हुन् ।

क्षेत्रगत रुपमा हेर्दा सामाजिक विकासतर्फ शिक्षामा ८४.७६ प्रतिशत, खानेपानी र सरसफाइमा ८९.९५ प्रतिशत, लैङ्गिक समानता र सामाजिक समावेशीकरणमा ५२.८ प्रतिशत, वातावरण र जलबायुमा ३७.६३, तथ्याङ्क प्रणालीमा ६२.२४ प्रतिशत खर्च भएको छ ।

गएका बर्ष पूर्वाधार विकासतर्फ २ सय ८ वटा योजना कार्यान्वयनको चरणमा पुगेका थिए । यसमध्ये १४८ वटामा कार्यादेश जारी गरिएको छ । ६० वटा भने खरिद प्रक्रियामा रहे । क्रमागतमा रहेका १६५ वटामध्ये ११२ र नयाँमध्ये ५६ वटा गरी १६८ वटा योजना सम्पन्न भएको प्रगति समीक्षामा उल्लेख गरिएको छ ।

पूर्वाधारतर्फ ४ वटा वडा भवनको नवनिर्माण गरियो । ८ वटा पार्क, २ वटा आकाशे पुल र १ हजार ३ सय वटा म्यानुअल कभर राखिएको उल्लेख छ ।

नयाँ ४१.४२ किलोमिटर नयाँ सडक र १५.५९ किलोमिटर सडक मर्मत गरी ५६.९१ किलोमिटर सडक कालोपत्रे गरियो । यससँगै सडक ढलान गर्ने, ढल राख्ने, ब्लक राख्ने, ढुङ्गा छाप्ने, रिटेनिङ् पर्खाल बनाउनेलगायत काम भएका छन् ।

यस बर्ष घ बर्गका १ हजार ९१० निर्माण व्यवसायीको व्यवसाय दर्ता, नविकरण, नामसारी गएको जनाइएको छ ।

वातावरण व्यवस्थापनतर्फ १ हजार ४८० ठाउँमा वृक्षारोपण गरियो । ४ हजार ८२५ ट्रक फोहोर ल्याण्डफिल साइटमा लगिएको उल्लेख गरिएको छ ।

६३.१ प्रतिशत वित्तिय प्रगति गरेको विभागले १ हजार १४० ठाउँको मंगाल खोलेको थियो । ट्राफिक आइल्याण्ड बनाउने, सडक र सार्वजनिक ठाउँको सरसफाइ विभागका मुख्य काम हुन् ।

आयोजनातर्फ चमती जग्गा आयोजनामा २ हजार ७०२ प्लटमध्ये १ हजार ९१० जनालाई स्थायी र २ हजार २२१ जनालाई अस्थायी पुर्जा वितरण गरिसकिएको छ ।

यसैगरी मनोहरामा ९ सय ७४ जनालाई स्थायी र १ हजार २२२ जनालाई अस्थायी पूर्जा वितरण गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here