काठमाडौं । भारतले मुख्य खाद्यान्न निर्यातमा प्रतिबन्ध लगाएसँगै अन्तर्राष्ट्रिय बजारमा गहुँको मूल्य उकालो लागेको छ । घरेलु बजारमा गहुँको भाउ बढ्दै गएपछि भारतले आधिकारिक सूचना निकाल्दै गहुँ निर्यातमा प्रतिबन्ध लगाएको थियो ।
शिकागोमा ५ दशमलव ९ प्रतिशतले गहुँको मूल्य बढेको छ । यो दुई महिनामा भएको उच्चतम हो। गर्मीको लहरले भारतको गहुँ बालीमा असर गरेको भन्दै निर्यात रोकेको हो । गर्मीले गर्दा भारतमा गहुँको उत्पादन घटेको थियो ।
सरकारी तथ्यांकअनुसार भारतमा यसपालि गहुँको उत्पादनमा ५ प्रतिशतले कमी आएको छ। साथै भारतमा गहुँको आन्तरिक मूल्य उच्च विन्दुमा पुग्नु पनि गहुँ निर्यात रोक्नुको कारण हो ।
पश्चिम उत्तर प्रदेश, पञ्जाब, हरियाणा तथा मध्यप्रदेशका किसानकाअनुसार गहुँको उत्पादनमा १५ देखि २५ प्रतिशतसम्म कमी आएको छ।
गहुँको उत्पादन र निर्यात ज्यादा गर्ने देश रूस र युक्रेन युद्धमा फसेका कारण पनि यसपछि अन्तर्राष्ट्रिय स्तरमै गहुँको मूल्य बढेको छ।
यी देशमा युद्धका कारण भारतको गहुँको माग विश्व बजारमा बढेपछि भारतले पनि आफूलाई अपुग हुनेभन्दै निर्यातमा रोक लागएको हो।
सबैभन्दा बढी गहुँ उत्पादन गर्ने देशमा रुस, युक्रेन, क्यानडा, फ्रान्स, अमेरिका हुन्।
यीमध्ये विश्व बजारमा ३० प्रतिशत गहुँको आपूर्ति रूस र युक्रेनले गर्दै आएका थिए। रूसको उत्पादनमध्ये आधा गहुँ मिश्र, टर्की र बंगलादेशले खरिद गर्ने गरेका छन्।
युक्रेनको गहुँ नेपाल, इन्डोनेसिया, फिलिपिन्स, तुर्की, ट्युनिसियाजस्ता देशले खरिद गर्ने गरेका छन्।
यस वर्ष विश्व बजारमा गहुँको मूल्य लगभग ६० प्रतिशतले बढेको छ, जसले रोटीदेखि चाउचाउसम्म सबैको मूल्य बढाएको छ।
भारत सरकारले जारी गरिसकेका क्रेडिट पत्रहरूद्वारा समर्थित निर्यातहरूलाई अझै अनुमति दिने बताएको छ । साथै खाद्य सुरक्षा आवश्यकता पुरा गर्न अनुरोध गर्ने केहि देशमा भने निर्यात जारी राख्ने बताएको छ ।
सरकारी अधिकारीहरूले पनि प्रतिबन्ध स्थायी नभएको र परिमार्जन गर्न सकिने बताए।
तर, जर्मनीमा बसेको समूह अफ सेभेन जी सेभेन राष्ट्रका कृषि मन्त्रीहरूले यो निर्णयको आलोचना गरेका छन्।
‘यदि सबैले निर्यात प्रतिबन्ध लगाउन वा बजार बन्द गर्न थाल्छन् भने, यसले संकट झन् झन् बिग्रन्छ,’ जर्मन खाद्य तथा कृषि मन्त्री सेम ओजडेमिरले भने।
विश्वको सात ठूला तथाकथित ‘उन्नत’ अर्थतन्त्रहरूको संगठन हो, जसले विश्वव्यापी व्यापार र अन्तर्राष्ट्रिय वित्तीय प्रणालीमा प्रभुत्व जमाउँछ। तिनीहरू क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र संयुक्त राज्य अमेरिका हुन्।
भारत विश्वको दोस्रो ठूलो गहुँ उत्पादक देश भएतापनि यसका अधिकांश बाली घरेलु बजारमा बिक्री हुने भएकाले यो पहिले प्रमुख निर्यातकर्ता थिएन।
युक्रेन युद्धको प्रभाव
विश्वका प्रमुख गहुँ निर्यातकर्ता रुस, अमेरिका, क्यानडा, फ्रान्स र युक्रेन हुन् । यसमा ३० प्रतिशत हिस्सा रुस र युक्रेनको हुने गर्छ । अहिले यी दुई प्रमुख निर्यातकर्ता युद्ध गरिरहेका छन् । यसले गहुँको निर्यातलाई प्रभावित बनाएको छ र विश्वव्यापी मूल्य वृद्धिको कारण बनेको छ ।
रुसी आक्रमणअघि युक्रेनले प्रतिमहिना ४.५ टन कृषिजन्य उत्पादन निर्यात गर्थ्याे । उसले विश्वको १२ प्रतिशत गहुँ, १५ प्रतिशत मकै र झण्डै आधा हिस्सा सूर्यमुखी तेल निर्यात गर्थ्याे ।