महंगी रोक्न भारतले लगायो चिनी निर्यातमा प्रतिबन्ध, कस्तो देखिएला नेपाली बजारमा प्रभाव ?

काठमाडौं, ११ जेठ । विश्वमै बढीरहेको महंगीबाट भारतलाई जोगाउन भारत सरकारले अर्को ठूलो कदम चालेको छ। महंगीबाट जोगाउन भारतले चिनीको निर्यातमा प्रतिबन्ध लगाएको हो । उक्त नियम आगामी जुन १ बाट लागू हुनेछ ।

भारतको वैदेशिक व्यापार महानिर्देशनालयले १ जुनदेखि अक्टोबर ३१ (चार महिना) सम्मका लागि चिनी र त्यसका सबैखाले कच्चा पदार्थ निर्यातमा रोक लगाउने निर्णय गरेको हो ।

सन् २०२१–२२ मा १०० लाख मेट्रिक टनभन्दा बढी चिनी निकासी गर्न पाइने छैन । अहिले मुलुकमा चिनीको मौज्दातको चिन्ता नरहेको तर यस वर्ष विगत ६ वर्षको तुलनामा सबैभन्दा बढी चिनी निकासी भएकाले सावधानीका रुपमा यो कदम चालिएको हो ।

भारतको सरकारी तथ्यांकअनुसार सन् २०१७-१८ मा ६.२ लाख मेट्रिक टन, सन् २०१८-१९ मा ३८ लाख मेट्रिक टन, २०१९-२० मा ६० लाख मेट्रिक टन, गत वर्ष २०२०-२१ मा ७० लाख मेट्रिक टन चिनी निर्यात भएको थियो।

तथ्यांकअनुसार २०२१-२२ मा हालसम्म ९० लाख टन चिनी निर्यातका लागि सम्झौता भइसकेको छ, जसमध्ये ७९ लाख मेट्रिक टन चिनी निकासी भइसकेको छ ।

यस्तो अवस्थामा आन्तरिक बजारमा चिनीको वैकल्पिक उपलब्धता सुनिश्चित गर्न भारत सरकारले यो निर्णय गरेको हो ।

चीन निर्यातमा भारत विश्वको दोस्रो ठूलो देश हो । विश्वमा ब्राजिलले सबैभन्दा धेरै चिनी निर्यात गर्छ । यदि भारतले चिनी निर्यात रोकेपछि धेरै देशका लागि टाउको दुःखाइ बन्न सक्नेछ।

भारतबाट सबैभन्दा धेरै चिनी इन्डोनेसिया, अफगानिस्तान, श्रीलंका, बंगलादेश, संयुक्त अरब इमिरेट्स, मलेसिया र अफ्रिकी देशले खरिद गर्दै आएका छन्।

यससँगै नेपाली बजारमा यसको प्रभाव देखिने छ । नेपालमा औद्योगिक र उपभोग प्रयोजनको लागि वार्षिक करिब २ लाख ५० हजार मेट्रिक टन चिनी खपत हुदै आएको छ ।

जसमध्य १ लाख ३० हजार टन मात्र स्वदेशमा उत्पादन हुन्छ । नेपालमा चालु आवको १० महिनामा भारतबाट मात्रै ८९ हजार मेट्रिक टन चिनी आयात भएको थियो। जुन ४ अर्ब ७० करोड बराबरको बराबरको हुन आउँछ ।

नेपालमा माग अनुसारको उत्पादन नहुँदा आयातको भर पर्नु परेको अवस्थामा भारतले निर्यात रोक्दा चिनीको भाउ बढ्न सक्ने सम्वन्धित व्यवसायीहरु बताउँछन् ।

नेपालमा भारत, पाकिस्तान, थाइल्याण्ड, भारत, ब्राजिल तथा युएईलगायत देशबाट चिनी आयात गरिदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here