खाद्यजन्य रोगबाट बर्सेनि ४ लाख २० हजार जनाको मृत्यु, ५५ करोड मानिस प्रभावित

काठमाडौं, २४ जेठ । पछिल्लो समय नेपालका लागि मात्र नभएर विश्वभर नै खाद्य सुरक्षा चुनौतीपूर्ण बन्दै गएको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार खाद्यजन्य रोगबाट विश्वमा बर्सेनि ४ लाख २० हजार जनाको मृत्यु हुने गरेको छ ।

यस्तै, वार्षिक ५५ करोड मानिस झाडापखालाबाट बिरामी पर्ने तथा दुई लाख ३० हजारजनाको मृत्यु हुने गरेको संगठनको तथ्यांकमा उल्लेख गरिएको छ ।

संगठनको अनुसन्धानानुसार तरकारी, फलफूल, पशुपक्षीजन्य खाद्यपदार्थहरूमा जीवनाशक विषादी, एन्टिबायोटिक अवशेष, ढुसीजस्ता हानिकारक पदार्थहरू भेटिने गरेको छ ।

अस्वस्थकर एवम् दूषित खानाका कारण विश्वमा २०० भन्दा बढी रोग देखिइसकेका छन् । प्रत्येक १० मध्ये एक व्यक्ति अस्वस्थकर खानाको उपभोगका कारण बिरामी हुने गरेका छन् ।

संयुक्त राष्ट्र संघ, विश्व खाद्य संगठन (एफएओ) र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को संयुक्त आह्वानमा यस वर्षदेखि जुन ७ तारिखका दिन ‘विश्व खाद्य सुरक्षा दिवस’ मनाउन थालिएको छ ।

खाद्य सुरक्षाले खानालाई कसरी ह्याण्डल गर्ने, तयारी गर्ने र भण्डारण गर्ने भन्ने सुनिश्चितता गर्दछ । यसअन्तरगत मुख्यतः खाद्य भण्डारण र तयारी पर्दछ । खाद्य सुरक्षाले खाद्यजन्य रोगबाट बिरामी हुने व्यक्तिको जोखिमलाई कम गर्दछ । खाद्य सुरक्षा मानिसको स्वास्थ्यसँग प्रत्यक्ष्य जोडिएको बिषय हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here