सोमवारदेखि पशुपतिनाथ मन्दिर परिसरमा ऐतिहासिक ‘अतिरूद्र महायज्ञ’, यस्तो छ कार्यतालिका

काठमाडौं । जगद्गुरू श्रीरामानन्दाचार्य स्वामी रामकृष्णाचार्य (जगद्गुरू महायोगी सिद्धबाबा) को सत्संकल्पमा पशुपतिनाथ मन्दिर परिसरमा ऐतिहासिक ‘अभिषेकात्मक अतिरूद्र महायज्ञ’ हुने भएको छ ।

जगद्गुरू श्रीरामानन्दाचार्य सेवापीठ (श्रीराम तारकब्रह्म पीठ) एवं महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठानको आयोजनामा यही साउन २ गते देखि १० गते सम्म नेपालकै ऐतिहासिक ‘अभिषेकात्मक अतिरूद्र महायज्ञ ‘ हुन लागेको हो ।

मुलुकको चौतर्फीव्याप्त प्रकृतिक विपत्ति निवारण भइ समृद्धि,विश्व शान्ति तथा जीव-जगत एवं मानव कल्याण हेतु , सुशान्ती अमन चयन कायम रहोस् र मानव मात्रामा रहेको राग द्धेष, वैमनश्यता तथा विधित प्रकारका दोष समन सनातन धर्मको संरक्षणको लागि उक्त महायज्ञ हुन लागेको आयोजकले जनाएको छ ।

विशेष आरधान सहित नौ दिनसम्म चल्ने महायत्रमा रुद्राध्यायीको १४,६४१ आवृति रुद्रीपाठ हुनेछ ।

यस्याङ्गे च विभाति भूधरसुता देवापगा मस्तके
भाले बालविधुर्गले च गरलं यस्योरसि व्यालराट् ॥
सोऽयं भूतिविभूषण: सुरवरः सर्वाधिपः सर्वदा
शर्वः सर्वगतः शिवः शशिनिभः श्रीशङ्करः पातु माम् ॥

जसका काखमा हिमाचलसुता पार्वतीजी मस्तकमा गंगाजी, ललाटमा द्वितीयाको चन्द्रमा, कण्ठमा हलाहल विष र वक्षःस्थलमा सर्पराज शेषजी सुशोभित हुनुहुन्छ । भस्मले विभूषित, देवताहरूमा श्रेष्ठ, भक्तहरूका पापराशिका संहारक, सर्वव्यापक, कल्याणरूप, चन्द्रमाका समान शुभ्रवर्ण हुनुभएका भगवान श्री शंकरजीले सदैव हाम्रो रक्षा गरून् ।

श्रीरामचरितमानसको उत्तरकाण्ड ४५ औं दोहामा भगवान श्रीराम, भक्ति प्राप्ति हेतु एक अत्यन्त गुप्त रहस्य बताउँदै सबैसंग हात जोडेर भन्नुहुन्छ –

औरउ एक गुपुत मत सबहि कहउँ कर जोरि ।
संकर भजन बिना नर भगति न पावइ मोरि ।।

अर्थात भगवान शंकरको भजन बिना भगवान श्रीरामको भक्ति प्राप्त गर्न सकिदैन ।

“शिवस्य हृदय: विष्णुः विष्णोश्च हृदय शिव: ”

भगवान श्रीरामको हृदयमा शिव र शिवको हृदयमा भगवान श्रीरामको निवास छ ।

जसले गुरुमुखि भएर वेदविधि द्वारा भगवान शिवको विश्वास पूर्वक आराधना गर्दछ, उसले समस्त प्रकारको ऐश्वर्य, सुख समृद्धि र आनन्द प्राप्त गर्नुका साथै ईश्वरभक्ति प्राप्त गर्दछ अर्थात् पुरुषार्थ चतुष्टय (धर्म, अर्थ, काम र मोक्ष) प्राप्त गर्दछ ।

“वेद: शिव: शिवो वेद: ”

अर्थात् भगवान शिव वेद स्वरूप हुनुभएको र “वेदो नारायण: साक्षात् स्वयम्भूरिति शुश्रुम” वेद साक्षात् नारायण स्वरूप हुनुभएकाले वेद मन्त्रहरूद्वारा यज्ञपुरूष नारायणको उपासनाका लागि भगवान शिवको पूजन, अभिषेक, यज्ञादि गरिन्छ ।

भगवान श्रीरामको प्रसन्नता प्राप्त गर्न, मनुष्यको चित्तवृत्ति स्वच्छ भएर प्रवृत्ति मार्गबाट निवृत्ति मार्ग तर्फ लागोस्, लोकमा पुत्रपौत्रादि, धनधान्यादि, सुस्वास्थ र सुख शान्ति प्राप्त होओस्, कुल परम्परालाई आनन्द प्राप्त होओस् भनेर आराधना उपासनादि गरिन्छ ।

रूद्री भन्नाले के बुझिन्छ ?

रूद्रको वेदविधिले शिवलिङ्ग माथि पूजा गरेर श्रृङ्गीद्वारा अभिषेक गर्दै शुक्लयजुर्वेदका १०० मन्त्रको एघार आवृत्ति गरिने पाठलाई नै रूद्री भनिन्छ ।

रुद्र को हुन् ?

शिव र रूद्र ब्रह्मकै पर्यायवाची शब्द हुन् । “शिवयति इति “शिव:” शिव अर्थात कल्याण, रूद्र अर्थात् दुःखहर्ता । जीवको दुःख हरण गरेर भगवानको भक्तिद्वारा कल्याण गर्ने हुनाले शिवलाई रूद्र भनिन्छ । “रुतम् दुखम्, द्रावयति नाशयतीति रूद्रः” अर्थात् दुःख विनाश गर्नेलाई रूद्र भनिन्छ । रूद्र शब्दको निरूक्ति अनुसार भगवान रूद्र दुःखनाशक, पापनाशक एवं ज्ञानदाता हुनुहुन्छ । रूद्रसूक्तमा भगवान रूद्रको शम्भु, शंकर, शिव लगायत विविध (५३) स्वरूपको वर्णन गरिएको छ ।

रुद्रीका विधि कति प्रकारका छन् ?

(क) पाठात्मक (ख) अभिषेकात्मक (ग) हवनात्मक

रुद्री पाठका भेद :

शुक्लयजुर्वेदसंहिता अन्तर्गत ‘रूद्राष्टाध्यायी’ को रूपमा

भगवानको विशद वर्णन गरिएको छ । यही रुद्राष्टाध्यायीको

मन्त्रपाठले पाठात्मक अनुष्ठानपूर्वक शिवलिङ्गमा अभिषेक गरिन्छ । यसरी गरिने रूद्रपाठ ५ प्रकारका छन् –

(क) रूपक या षडङ्गपाठ (ख) रूद्री या एकादशिनी
(ग) लघुरूद्र (घ) महारूद्र (ङ) अतिरूद्र

एकावृत्ति रूद्रीपाठ गरिनेलाई षडङ्ग रूद्र, त्यसको ११ गुणा अर्थात् ११ आवृत्तिलाई रूद्री या रूद्रैकादशिनी, त्यसको ११ गुणा अर्थात् १२१ आवृत्तिलाई लघुरूद्र, त्यसको ११ गुणा अर्थात् १,३३१ आवृत्तिलाई महारूद्र र त्यसको पनि ११ गुणा अर्थात् १४,६४१ आवृत्तिलाई अतिरूद्र भनिन्छ ।

यसरी रूद्रपूजन गर्दा याजकको फल-कामना अनुरूप वृष्टि

कामना र ज्वर प्रकोप शान्त गर्न जलधारा, पशुधनको लागि दही, दीर्घायु, पुत्र प्राप्ति र प्रमेहादि रोग निवारणार्थ दुध, पापनाशका लागि मह, आरोग्यताका लागि घिउ, मोक्षको लागि तीर्थजल र शत्रुनाशका लागि सर्स्यूँरको तैलादि द्रव्यद्वारा अभिषेक गरिन्छ ।

रूद्र पाठ पूजनको महिमा वा महात्म्य

त्रिगुणमयी प्रकृतिमा जब तमोगुण कुपित हुन्छ तब भयङ्कर हानिकारक परमाणु सर्वत्र व्याप्त भएर गगनमण्डल, वायुमण्डल, जल, थल, अन्न आदिमा सर्वत्र व्याप्त हुन्छ । तब यसको कुप्रभाव मनुष्यादि समग्र जीवजन्तुहरूमा पर्दछ । जसले गर्दा काम, क्रोध, लोभ, मद, मोह, मत्सरादि विवेकहीनता तथा शारीरिक मानसिक अस्वस्थता उत्पन्न गर्दछ, जसलाई रूद्रकोप भनिन्छ ।

यस रूद्रकोपबाट बच्नको लागि रूद्राभिषेक कर्म सर्वश्रेष्ठ

तथा सर्वहितकर हुन्छ ।

भगवान वेदव्यासका अनुसार –

शतरुद्रीय पाठ वा जप मात्रै पनि वेदपारायण तुल्य हुन्छ ।

भास्कराचार्यका अनुसार:

रूद्राध्यायको पाठ वा जप मात्रैले पनि समस्त कामनाहरू
पूर्ण हुन्छन् ।

‘अस्य रुद्राध्यायस्य जपमात्रेणैव सर्वसिद्धिः ‘

सूतसंहिता अनुसार :

रूद्रजापी महावातक रूपी पिजडाबाट मुक्त भएर सम्यक्
ज्ञान प्राप्त गर्दछ र अन्तमा विशुद्ध मुक्ति प्राप्त गर्दछ, भन्दै

“अनेन सदृशं जप्यं, नास्ति सत्यं श्रुतो स्मृतौ”

अर्थात् रुद्राध्यायको मन्त्र समान जप्न योग्य, स्वाध्याय गर्न योग्य अन्य कुनै मन्त्र वेद र स्मृतिमा पनि छैनन् ।
किनकि :-

“सर्वदेवात्मको रुद्रः सर्वे देवा: शिवात्मका: ”

यसरी शास्त्रीय विधि र सन्त परम्पराबाट व्यवहृत हुँदै आइरहेको यो रूद्रपूजन / रूद्रीको ‘अतिरूद्री’ यथार्थमा राजअनुष्ठान हो ।

यस यज्ञको संकल्पकर्ता को हुनुहुन्छ ?

हिमालय क्षेत्रदेखि मरूभूमीय प्रदेशसम्मका भौगोलिक कठिनाइ र वातावरणीय प्रतिकूलतामा पनि अविचलित रही तपस्यारत रहेर झण्डै ४०० वर्षदेखि विकीर्ण अवस्थामा रहेको सुरत शब्दयोग अर्थात् हिमालयन सिद्धमहायोगलाई आफ्ना गुरूजनहरूको कृपा र आफ्नो तपोबलबाट साङ्गोपाङ्ग रूपमा प्राप्त गर्नु भएका परमपूज्य जगद्गुरू महायोगी सिद्धबाबा स्पर्श, दृष्टि, मन्त्र वा सङ्कल्प मात्रले पनि हरेक मनुष्यमा रहेको त्यो दिव्य कुण्डलिनी शक्ति जागृत गराउन सक्ने एक समाधिसिद्ध महापुरूष हुनुहुन्छ ।

जसको एक झलक २०६५ सालको वासन्तिक नवरात्रको अवसरमा सुनसरी, वराहक्षेत्र स्थित चतराधाम एवं २०७२ सालमा पोखरा स्थित नदीपुरमा लिनु भएको ९ दिने अखण्ड भू-समाधिबाट पनि स्पष्ट भइसकेको छ ।

विश्व इतिहासमा ७०५ वर्ष पछि र नेपालमा प्रथम पटक २०७५ सालमा सुनसरी बराहक्षेत्र स्थित चतराधाममा १२०० मन्त्र दीक्षित साधकहरूद्वारा १ अर्ब ६० करोड श्रीराम तारक मन्त्रको जप एवं १६ करोड हवनार्चन गराई श्रीराम तारकब्रह्म महायज्ञ सम्पन्न गराउनुहुने उहाँ श्रीमणिरामदास छावन पीठका पीठाधीश्वर तथा श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रष्टक परमाध्यक्ष अनन्त श्रीविभूषित श्रीनृत्यगोपालदासजी महाराजबाट चतुःसम्प्रदायको सम्मतिमा जगद्गुरू श्रीरामानन्दाचार्य पद अलंकृत भइ भारतको अयोध्यामा आयोजित विशाल सन्त सम्मेलनमा सबै सम्प्रदाय र अखाडाका महान विभूतिहरूको ऐक्यमतमा धर्मचक्रवर्ती जगद्गुरू श्रीरामानन्दाचार्य स्वामी रामभद्राचार्य महाराजश्री बाट जगदगुरू श्रीरामानन्दाचार्य स्वामी रामकृष्णाचार्यको रूपमा प्रतिष्ठित एक श्रोत्रीय ब्रह्मनिष्ठ त्रिदण्डी सन्यासी जीयर स्वामी हुनुहुन्छ ।

लोक कल्याणमा समर्पित प्रातःस्मरणीय, परमपूज्य सद्गुरूदेव अनन्तश्रीविभूषित जगदगुरू श्रीरामानन्दाचार्य स्वामी रामकृष्णाचार्य महायोगी सिद्धबाबाले हरेक मानवलाई “भित्र पसेर हेर, माथि उठेर सोच” भन्ने आह्वानका साथ राष्ट्र, राष्ट्रियता, धर्म, संस्कार र संस्कृतिको संरक्षण र उन्नयनमा शिक्षा, स्वास्थ संस्कार, शान्ति र समृद्धिको योजनाबद्ध अभियानमा लाग्दै आउनुभएको छ ।

उहाँकै प्रेरणास्पद उपदेशहरूले प्रेरित भएर साधक समुदायका सहयोगले भगवान श्री पशुपतिनाथको मन्दिर परिसरमा भगवद् भक्ति प्राप्तिका साथै नेपाल र हामी नेपालीहरूको सर्वविध सुख शान्ति र समृद्धिको कामना गर्दै वेदनिर्दिष्ट विधि अनुसार अभिषेकात्मक अतिरूद्रमहायज्ञ आयोजन हुन गइरहेको छ यस्तो वृहद् आयोजन वर्तमानकालमा भगवान श्रीपशुपतिनाथको काखमा यो आफ्नै किसिमको पहिलो आयोजन हुनेछ ।

विभिन्न सामाजिक मान्यतानुसार समेत भगवान शंकरको दर्शन, पूजन, जलाभिषेक गरेर मनाइने श्रावण महिना शिवाराधनाको लागि महत्वपूर्ण मानिन्छ त्यसैले हजुरहरू सबैमा यस अवसरमा भगवान पशुपतिनाथको दर्शन पूजनका साथै सताधिक्य वेदपाठी ब्राह्मणहरूद्वारा नव दिवसीय अभिषेकात्मक अतिरूद्रमहायज्ञको दिव्य कृपा प्राप्त गर्नको साथै वेदध्वनि श्रवण, यज्ञ दर्शन र प्रसाद प्राप्त गरि यस दुर्लभ अवसरको सक्दो लाभ उठाउनुहुन हार्दिक अनुरोध गर्दछौं !

मिति तथा कार्यक्रम विवरण

२०७९ श्रावण २ गते सोमबार बिहान ६:०० बजे :-

बाग्मती नदीमा दशविधि स्नान, कलशयात्रा, मण्डप प्रवेश, मण्डप पूजा, हेमाद्रि संकल्प, वास्तुपूजा, आचार्यादि वरण, अरणिमन्थन, अग्नि स्थापना, प्रायश्चित्त हवन, श्राद्धादि, योगिनी स्थापना, क्षेत्रपाल स्थापना, नवग्रह स्थापना, पूर्वाङ्ग सहित प्रधानपूजा, अभिषेकात्मक रूद्रीपाठ

साउन ३ गते देखि साउन ९ गतेसम्म

बिहान ६:०० बजे देखि ७:३० बजे सम्म – पूर्वाङ्ग पूजा ७:३० बजे देखि १०:०० बजे सम्म :- अतिरुद्रीपाठ अभिषेक १०:०० बजे देखि १०:३० बजे सम्म :- बालभोग
१०:३० बजे देखि १:०० बजे सम्म :- अतिरुद्री पाठ अभिषेक

२०७९ साउन ३ गते देखि साउन ७ गतेसम्म

अपरान्ह ३:०० बजे देखि ६:०० बजे सम्म :- मञ्च कार्यक्रम तथा सत्सङ्ग

२०७९ साउन ८ र ९ गते

अपरान्ह ३:०० बजे देखि ६:०० बजे सम्म :- सन्त सम्मेलन

२०७९ साउन १० गते :- अतिरूद्रमहायज्ञको पूर्णाहुति

पशुपतिनाथ मन्दिर परिसरमा ऐतिहासिक ‘अतिरूद्र महायज्ञ’ हुँदै