कृषि प्रधानदेश झन परनिर्भरतातर्फ, कृषिजन्य वस्तुको आयात पाँच वर्षमा दोब्बर बढ्यो

काठमाडौं । सरकारले वर्षेनी कृषिमा आत्मनिर्भरताको नारा अघि सार्छ तर त्यो नारामा मात्र सीमित देखिएको छ ।

कृषि प्रधान मुलुकमा दैनिक उपभोगका लागि अत्यावश्यक कृषि उत्पादनमा भारतसँग परनिर्भर हुँदै गएका छौं। सरकारले नारा घन्काइरहँ पनि देश झन परनिर्भरतातर्फ धकेलिएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८/७९ को तथ्याङ्क अनुसार, गत वर्ष नेपालले तीन खर्ब ७८ अर्ब ६० करोड मूल्यका कृषिजन्य वस्तु आयात गरेको छ। यो वर्ष दिनभर नेपालले विदेशबाट आयात गरेको सम्पूर्ण वस्तुको करीब २० प्रतिशत हो।

आर्थिक वर्ष २०७७/७८ मा नेपालले तीन खर्ब २३ अर्ब ६६ करोड मूल्यको कृषिजन्य वस्तु आयात गरेको थियो। अर्थात्, वर्ष दिनको बीचमा कृषिजन्य वस्तु आयात झण्डै १७ प्रतिशतले बढेको हो।

आर्थिक वर्ष २०७६/७७ मा कृषिजन्य वस्तुको आयात दुई खर्ब ४३ अर्ब थियो। तथ्याङ्कले कृषिजन्य वस्तुको आयात पाँच वर्ष पनि नपुग्दै दोब्बर भएको देखाउँछ।

आर्थिक वर्ष २०७४/७५ मा नेपालले दुई खर्ब चार अर्बको कृषिजन्य वस्तु आयात गरको थियो। आर्थिक वर्ष २०७३/७४ मा कृषिजन्य वस्तुको आयात करीब पौने दुई खर्ब थियो।

भन्सार विभागको तथ्याङ्क अनुसार, गत वर्ष नेपालले ७४ अर्ब २८ करोड मूल्यको अन्न आयात गरेको छ। यसमध्ये धानचामल ४७ अर्ब ५७ करोडको र मकै १९ अर्ब ६५ करोड मूल्यको आयात भएको छ। त्यस्तै, ३६ अर्ब ५४ करोडको तरकारी, झण्डै २५ अर्बको फलफूल आयात भएको छ।

वर्षेनी कृषि जमिन घट्दै गइरहेको छ । घट्दै गएको कृषि जमिनमा खाद्यन्य उत्पादन गरेर आत्म निभर हुने सपना देख्नु निकै चुनौतिपूर्ण रहेको छ ।

खाद्यान्न उत्पादन बढाउन सरकारले बर्सेनि विभिन्न कार्यक्रम सञ्चालन गरे पनि आयात भने प्रतिस्थापन हुन सकेको छैन ।

सरकारले कृषि क्षेत्रको आधुनिकीकरण र व्यावसायीकरण गर्दै खाद्यान्नमा आत्मनिर्भर बन्नका लगि विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here