कोरोना भाइरससँग आत्तिनु नपर्ने १० कारण

काठमाडौं । हालसम्म ४ हजारभन्दा बढी मानिसको ज्यान लिएको र करीब विश्वभर फैलिएको कोभिड १९ भनिने कोरोनाभाइरसका कारण आममानिस आत्तिएका छन् ।

नेपालमा कोरोनाभाइरसको संक्रमण हालसम्म नदेखिए पनि त्यसले मानिसहरुमा त्रास भने बेसरी फैलाएको छ । इटाली र भारतमा भएको संक्रमणले त झन आगोमा घ्यू थप्ने काम गरेको छ ।

तर, यसअघि फैलिएका अनेक भाइरसको तुलनामा कोरोनाभाइरससँग त्यति धेरै आत्तिनु नपर्ने विज्ञहरुले बताएका छन् । यसको फैलावट तिब्र भए पनि यो धेरै घातक भने देखिएको छैन ।

यस्तो महामारीसँग डर त लाग्छ नै । त्यसमाथि विश्वभरका मिडिया र सामाजिक सञ्जाल पनि कोरोनाभाइरसकै समाचारले भरिएको देख्दा त्रास झनै बढेको छ । यसले पर्यटन, उड्डयन, यातायात तथा अन्य व्यवसायमा पनि उत्तिकै असर गरेको छ ।

संसारभरका शेयरबजार ओरालो लागेका छन् । महामारीका बेला आउन सक्ने खराब अवस्थाका लागि आफू तयार त हुनु पर्छ नै तर आत्तिने र हतोत्साहित हुने काम भने गर्नु हुँदैन ।

यहाँ हामीले स्पेनको नभारा विश्वविद्यालयका माइक्रोबायोलोजिस्ट इग्नासियो लोपेज–गोनीको लेखको सारसंक्षेप प्रस्तुत गरेका छौं ।

कोभिड १९ बारे राम्रा समाचार आएका छन् भन्नु गलत हुनेछ तर त्यहाँ प्रशस्त आशाका किरण भने देखिएका छन् । भाइरसको नियन्त्रण र उपचार हुने संभावना पनि उत्तिकै छन् भने भविष्यका लागि सिक्नु पर्ने पाठ पनि कोरोनाभाइरसले दिएको छ ।

१. भाइरस के हो भन्ने थाहा छ

एचआईभी एड्स जस्ता यसअघिका भाइरसको तुलनामा कोभिड १९ बारे ज्यादै छिटो जानकारी हासिल भएको छ । एड्सको पहिलो केश सन् १९८१ मा भेटिए पनि त्यसको भाइरस एचआईभी पत्ता लगाउन दुई वर्षभन्दा बढी लागेको थियो ।

तर, ३१ डिसेम्बर २०१९ मा पहिलो केश भेटिएको न्यूमोनिया कोरोनाभाइसका कारण भएको थाहा पाउन जम्मा एक हप्ता मात्र लाग्यो । ७ जनवरी २०२० मा कोभिड १९ को पहिचान भइसकेको थियो ।

जनवरी १० मा त यसको जिनोम नै उपलब्ध भएको थियो । यो सार्स परिवारको एक सदस्य भएको थाहा भइसकेको छ । यो चमेरोमा हुने कोरोनाभाइरससँग सम्बन्धित हो कि भन्ने अनुमान छ । जैविक विश्लेषणले देखाए अनुसार यो हालै उत्पत्ति भएको हो र यसको म्युटेशन दर त्यत्ति उच्च छैन ।

२. भाइरसको पहिचान कसरी गर्ने भन्ने थाहा छ

संभवन कोरोना भाइरसको पहिचान अन्य भाइरसको तुलनामा ज्यादै छिटो भएको छ । भाइरस भेटिएको दुई हप्ताभित्रै अर्थात जनवरी १३ मै त्यसको पहिचान गर्ने परीक्षण विधि निर्माण गरिसकिएको थियो ।

३. चीनको अवस्था सुधारोन्मुख छ

चीनले अपनाएको कडा नियन्त्रण र आइसोलेसन पक्रियाले नतिजा देखाउन थालेको छ । विगत केही सातादेखि कोभिड १९ भएका विरामीको संख्या घट्न थालेको छ ।

त्यस्तै अन्य मुलुकमा सुक्ष्मरुपमा यो महामारीविरुद्धका अभियानहरु सञ्चालन गरिएका छन् । पछिल्लो पटक देखिएको संक्रमण कुनै क्षेत्र विशेषमा बढी केन्द्रित देखिएको छ जसले नियन्त्रण गर्न पनि सहज हुने संभावना छ ।

४. ८० प्रतिशत केश सामान्य छन्

कोभिड १९ ले करीब ८१ प्रतिशतमा कुनै लक्षण नदेखाउने वा सामान्य लक्षण मात्र देखाउने गरेको छ । बाँकी १४ प्रतिशतमा यसले गम्भीर न्यूमोनिया गराउन सक्छ भने ५ प्रतिशतमा यो ज्यादै कडा वा घातक हुन सक्छ । यद्यपि यसबाट हुने मृत्युदर बारे अहिले नै प्रष्ट हुन सकिएको छैन तैपनि त्यो हालसम्म गरिएका अनुमान भन्दा कम हुने संभावना भने छ ।

५. मानिसहरु निको हुन्छन्

अहिलेसम्म आएका समाचार र तथ्यांकहरुमा भाइरसको बढ्दो संक्रमण र मृत्युका कुरा मात्र बढी आएका छन् । तर धेरै मानिसहरु निको भएर घर फर्केका छन् । मृत्युको तुलनामा १३ गुणा बढी मानिसहरु निको भएका छन् । र, यस्तो अनुपात बढ्दो क्रममा छ ।

६. बालबालिकामा लक्षण सामान्य देखिन्छ

हालसम्मको तथ्यांक हेर्दा २० वर्ष मुनिका बालबालिका तथा किशोरकिशोरीमा यो भाइरसको आक्रमण ३ प्रतिशत मात्र देखिएको छ । ४० वर्षमुनिको मृत्युदर मात्र ०.२ प्रतिशत छ । बालबालिकामा यसका लक्षण यति सामान्य हुन्छन कि कतिपय अवस्थामा देख्नै सकिंदैन ।

७. भाइरसलाई निर्मूल गर्न सकिन्छ

कोभिड १९ भाइरसलाई प्रभावकारीरुपमा सतहबाट निर्मूल गर्न सकिन्छ । इथानोल (६२–७१ प्रतिशत अल्कोहल), हाइड्रोजन पेरोक्साइड (०.५ प्रतिशत हाइड्रोजन पेरोक्साइड) वा सोडियम हाइपोक्लोराइट (०.१ प्रतिशत ब्लिच)ले यो भाइरसलाई १ मिनेटमा निर्मूल गर्छ । साबुन पानीले समयसमयमा हात धुनु संक्रमणबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय हो ।

८. विज्ञान यसैमा लागेको छ

अहिलेको युग भनेको विज्ञानको अन्तरराष्ट्रिय समन्वयको हो । विगत १ महिनामा मात्र १ सय ६४ ओटा कोभिड१९ वा सार्ससँग सम्बन्धित रिसर्च पेपरहरुको अध्ययन गरिएको छ भने अन्य कतिपयको अध्ययन भइरहेको छ ।

ति पेपर भ्याक्सिन, उपचार, महामारी, जेनेटिक्स, निदान तथा अन्य मेडिकल कुरासँग सम्बन्धित छन् । ७ सय भन्दा बढी लेखक तथा विज्ञहरुले ति पेपरको व्याख्या गरेका छन् भने संसारभर तिनको वितरण गरिएका छ ।

सन् २००३ मा सार्सको महामारी फैलिंदा १ वर्षमा अहिलेको भन्दा आधामात्र अनुसन्धानमूलक लेखहरु भेट्न सकिएको थियो । पैसा तिरेर मात्र हेर्न सकिने कतिपय जर्नलहरुले पनि कोरोनाभाइरससँग सम्बन्धित लेखहरु सित्तैमा उपलब्ध गराएका छन् ।

९. खोपको नमूना तयार छ

अहिले कोभिड १९ को खोप तयार गर्नका लागि आठ ओटा परियोजना सञ्चालनमा छन् । यस्तै प्रकारका अन्य भाइरसविरुद्ध खोप तयार पार्नका लागि थप अनेकौं कार्यक्रमहरु चलिरहेका छन् । यसैवीच युनिभर्सिटी अफ क्विन्सल्याण्ड, अष्ट्रेलियाले कोभिड १९ खोपको नमूना विकास गरेको बताएको छ । यो छिट्टै मानवमा परीक्षण गरिने बताइएको छ ।

१०. एण्टिभाइरल परीक्षण भइरहेका छन्

खोपले रोगको रोकथाम नै गर्छन् । तर, अहिले भने संक्रमणमा परेका विरामीको उपचार प्राथमिकताको कुरा हो । अहिले ८० भन्दा बढी कोरोनाभाइरस उपचारका क्लिनिकल ट्रायलहरु चलिरहेका छन् ।

अन्य भाइरल संक्रमणमा प्रयोग हुने उपचार पद्दतिलाई कोरोनाभाइरसमा पनि परीक्षण गरिएको हो । त्यसमध्ये कतिपय प्रमाणित र सुरक्षित सावित भइसकेका छन् ।

त्यसमध्ये मानवमा परीक्षण गरिएको एक उपचार रेम्डेसिभिर हो जुन अझै अध्ययनकै क्रममा छ । यसलाई इबोला तथा सार्स र मर्सविरुद्ध उपचारमा प्रयोग गरिएको थियो ।

त्यसैगरी क्लोरोक्वीन अर्को विधि हो जुन मलेरियाविरुद्ध प्रयोग गरिएको थियो । यसले भाइरल संक्रमणलाई रोक्छ । यो कोरोनाभाइरस न्यूमोनियामा पनि प्रयोग गरिसकिएको छ ।

(द प्रिण्टमा प्रकाशित लेखको सम्पादित अंश)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here