भारतको चन्द्रयानले यस्तो पठायो चन्द्रमाको पहिलो तस्वीर

नयाँ दिल्ली । भारतको तेस्रो चन्द्र अभियान अहिलेसम्म सबैभन्दा कम खोजी भएको चन्द्रमाको दक्षिणी ध्रुवतर्फ नजिकिँदै गर्दा भारतको अन्तरिक्ष निकायले चन्द्रमाको पछिल्लो तस्बिर सार्वजनिक गरेको छ। उक्त तस्बिर चन्द्रयान–३ सँगै पठाइएको विक्रम नाम दिइएको ल्यान्डरले खिचेको हो। विक्रमले चन्द्रमामा अवतरणका लागि आफ्नो अन्तिम चरणको अभियान बिहीवारबाट सुरू गरेको छ। २३ अगस्टमा रोभर लिएर गएको विक्रम चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्दैछ।

चन्द्र सतहको निकै नजिकसम्म पुर्‍याएपछि ल्यान्डर यसको प्रोपल्सन प्रणालीबाट अलग भइसकेको छ। सार्वजनिक भएको श्यामश्वेत तस्बिरमा चन्द्रमाको सतहमा चट्टान र खाडलहरू देखिन्छन्। एउटा तस्बिरमा प्रोपल्सन पनि देखिएको छ। चन्द्रमाको ध्रुवीय सतह निकै खतरनाक छ। त्यहाँ ठूलाठूला खाडल र भीरहरू छन्। केही खाडलमा अर्बौँ वर्षदेखि सूर्यको प्रकाश परेको छैन।

भारतको चन्द्रयान–३ सँगै रुसको ‘लुना–२५’ पनि चन्द्रमाको दक्षिणी ध्रुवतर्फ गइरहेको छ। दुवै अन्तरिक्षयानहरू यहाँ केही दिनको अन्तरालमा अवतरण हुने अपेक्षा गरिएको छ। लुना–२५ सन् १९७६ यता रुसले प्रक्षेपण गरेको आफ्नो पहिलो चन्द्रयान हो। त्यसबेला सोभियत सङ्घको अङ्ग रहेकै समयमा रुसले चन्द्रमामा अन्तरिक्षयान पठाएको थियो।

गत साता प्रक्षेपण गरिएको रुसको अन्तरिक्षयान अगस्ट २१ वा २२ मा चन्द्रमामा अवतरण हुने ठानिएको छ। भारतीय अन्तरिक्षयान भन्दा केही दिन अगाडी मात्रै अवतरण हुने ठानिएको उक्त अभियान सफल भए रुसले यसमा इतिहास बनाउने छ। त्यो अवस्थामा भारतको चन्द्रयान दक्षिणी ध्रुवमा अवतरण गर्ने दोस्रो हुनेछ। यद्यपि भारत चन्द्रमामा अन्तरिक्षयान अवतरण गर्ने अमेरिका, पूर्व सोभियत युनियन र चीनपछि चौथो देश हुनेछ।

भारतको अन्तरिक्ष अन्वेषण सम्बन्धी निकाय इसरोले शुक्रवार आफ्नो ल्यान्डर मोड्यूलले तल्लो कक्षतर्फ अवतरणको क्रम सुरु गरेको जनाएको छ। भारतले चन्द्रमाको अन्वेषणका लागि प्रक्षेपण गरेको तेस्रो अभियान चन्द्रयान–३ यसअघिका सफलताहरूमा आधारित छ। सन् २००८ मा भएको पहिलो चन्द्र अभियानको १३ वर्षपछि भारतले तेस्रो यान चन्द्रमामा पठाएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here