नयाँ पर्यटकीय गन्तव्य बन्दै घ्याल्चोकको थामपाखा

गोरखा । करिब ६ वर्ष अघिको कुरा हो, गोरखा जिल्लाको गण्डकी गाउँपालिकाको वडा नं ८ स्थित घ्याल्चोक गाउँ माथि तेस्रो जाने बाटोमा प्रतिक्षालय निर्माणका क्रममा भुमी प्रसाद रेग्मीका छिमेकी तथा साथी स्वर्गीय बाबुलाल उपरकोटीले त्यसभन्दा मािथकाे थुम्का थामपाखाबाट देखिने दृष्य कल्पना गर्दै भने’यहाँ मन्दिर बनाउन सके कस्तो राम्रो हुन्थ्यो ।’त्यहाँ जम्मा भएका अरुले पनि त्यसो बनाउन सकेमा थामपाखालाई सुन्दर बनाउन सकिने र घ्याल्चोकको विकासमा पनि टेवा पुग्ने राय व्यक्त गरे। साथी बाबुलालको कोरोनाका कारण मृत्यु भएपछि उनको सपनालाई साकार बनाउने हुटहुटी रेग्मीमा जाग्यो।

आफ्नो घरको शीरजस्तो देखिने थामपाखामा मन्दिर मात्र नभइ त्यसलाई एउटा पर्यटकीय गन्तव्य नै बनाउदाँ के होला भन्ने कुराको केही स्थानीय बुद्धिजिवी तथा साथीहरुसँग गरेको छलफलपछी पाएको प्रतिक्रियाले थप उर्जा दियो समाजसेवी तथा थामपाखा डाँडा संरक्षण समितिका संयोजक भुमीप्रसाद रेग्मीलाई ।

अनि औपचारिक रुपमा शुरु भयो भुमीको थामपाखालाई पर्यटकीय स्थल बनाउने यात्रा। सहयोगका लागी कहिले वन कार्यालय त कहिले घरेलु कार्यालय तथा विभिन्न निकायको ढोका ढकढकाउन पुगे उनी। सामाजिक सञ्जालमा सहयोगका लागि अपिल मात्र गरेनन् व्यक्ति व्यक्तिलाई भेटेर सहयोग मागिरहे । ‘सच्चा मनले काम शुरु गरेपछी पुरा हुन्छ’ भन्ने भनाईलाई सार्थक बनाए उनले । अहिले थामपाखामा दिनहुँ कम्तिमा ५० जना अवलोकन तथा घुमफिरका लागि जाने गरेका छन्।

अहिले थामपाखामा मन्दिर तथा बस्नका लागी बेन्चहरु,खानेपानीको धारा तथा चौतारा छन्। त्यस्तै निकट भविष्यमा शौचालय तथा पीङ पनि निर्माणका लागी आर्थीक सहयोगको आवश्यकता रहेको उनी बताउँछन् । त्यस्तै त्यहाँ फूलबारी बनाउने तथा वृक्षारोपण समेत गरेर नमुना गन्तव्यका रुपमा विकास गर्ने बताउँछन्। थामपाखालाई एउटा पिकनिक स्पट तथा हाइकिङको राम्रो गन्तव्य बनाउने उनको योजना हो । थामपाखामा भन्ज्याङ प्रतिक्षालयबाट माथि पुग्नका लागि दुई तिर सिँढी सिढी निर्माण गरिएको छ ।

स्थानीय स्वर्गीय सुर्कबहादुर सार्कीको नाममा श्रीमती चनमती रम्तेलले ७० हजार रुपैयाँ बराबरको घण्टी सहयोग गरेकी छिन् । थामपाखामा बजेको घण्टीको आवाज उनको घरसम्म सुनिन्छ । जसले उनलाई आफ्नो श्रीमान आफुसँगै भएको आभाश गराउने बताउँछिन् ।

थामपाखामा प्याराग्लाइडिङ शुरु गर्ने उद्देश्यले परीक्षण पनि गरिएको थियो। तर हाइटेन्सन प्रशारणलाइनका कारण त्यो योजना त्यतीकै रोकियो।

सहरको कोलाहालबाट पर प्रकृतिसँग रमाउनेहरु लाई लक्षित गर्दै थामपाखालाई पर्यटकीय स्थल बनाउन लागिएको थामपाखा डाँडा संरक्षण समितिका संयोजक भूमीप्रसाद रेग्मी बताउँछन् ।

थामपाखा वरपरको जंगलमा थाकल, डुम्री, अमला, भलायो बेलजस्ता जंगली फलफुल प्रशस्त पाउन सकिन्छ भने बाघ, स्याल दुम्सीलगायत जंगली जनावरको अवलोकन गर्न पनि सकिन्छ ।

साथै सुगा, तित्रा, वनकुखुरा, जुरेलीलगायत चराको अवलोकन गर्न सकिन्छ । ‘थामपाखाको विशेषता भनेकै प्राकृतिलाई नजिकबाट नियाल्न पाउनु हो,’ संयोजक रेग्मीले बताए। त्यसो त थामपाखा डाँडाबाट देखिने गणेश हिमालको दृष्यले थप रोमाञ्चकता दिन्छ ।

थामपाखा डाडाबाट प्याराग्लाइडिङमार्फत गोरखा र धादिङका रमणीय दृष्यका साथै हिमाली चुचुराहरुको अवलोकन गर्दै त्रिशुली किनारमा झार्ने सपना साकार नभएपनि अन्य योजनामा काम भइरहेको छ ।

थामपाखा नजिकै एउटा पोखरी निर्माण गर्ने योजना उनको छ । जसले गर्दा जंगली जनावरले सजिलै पोखरीमा गएर पानी पिउन सक्ने उनले सुनाए । थामापाखामा पानी तथा विजुलीको व्यवस्था छ ।

बेनीघाट वा चरौंदीबाट भन्ज्याङसम्म गाडीमा र त्यहाबाट सिँढी चढेर थामपाखा पिकनिक स्पटमा पुग्न सकिन्छ । त्यस्तै हाइकिङ गर्न चाहनेहरु करीब ५० मिनेटमा भन्ज्याङ पुग्न सक्नेछन् ।

त्यस्तै नेपाली कलाकौशल झल्काउने ससाना कटेज पनि बनाईंदै छ । त्यसैगरी पिङ तथा बस्नका लागी झुपडीहरु बनाउने योजना छ ।

पृथ्वी राजमार्गको नजिकै र काठमाडौ पोखरा तथा चितवनको बिचमा भएकोले थामपाखा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने स्थानीयवासीको विश्वास छ ।

त्यस्तै त्रिशुली नदिमा र्याफ्टीङ गर्न आउने पर्यटकलाई पनि यस डाँडाले आकर्षित गर्न सक्छ । त्यस्तै यहाँबाट घ्याल्चोकको मास, मुन्थालाको सुन्तला, अर्गानीक तरकारी, केरा, अम्बालागायत कोसेली लैजान सक्नुहुनेछ ।

त्यसो त स्थानीय बुद्धिजीवी विष्णुमणी रेग्मी पूर्व वडाअध्यक्ष रामप्रसाद रेग्मीको सहयोगले भुमीप्रसाद रेग्मीलाई राहत दिएको बताउँछन् । त्यसैगरी स्थानीयको आर्थिक सहयोग तथा श्रमदानले गर्दा थामपाखामा मन्दिर बनाउने तथा पर्यटकीय स्थल बनाउने सपना साकार भएको उनी बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here