कोरोनाविरुद्ध फाइजर र बायोएनटेक खोप प्रयोगको स्वीकृत दिने बेलायत विश्वकै पहिलो देश

तस्बिर : रोयटर्स

काठमाडौं, १७ मंसिर । बेलायतले फाइजर र बायोएनटेकले बनाएको कोरोनाविरुद्धको खोपको आपत्कालीन प्रयोग अनुमति दिएको छ ।

बेलायती नियमनकारी निकाय मेडिसिन एन्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी(एमएचआरए) ले फाइजरको खोप सुरक्षित रहेको भन्दै प्रयोगको अनुमति दिएको हो ।

एमएचआरएका अनुसार ९५ प्रतिशतसम्म सुरक्षा प्रदान गर्ने सो खोप आगामी सातादेखि लगाउन शुरु हुनेछ । खोप लगाउन केही दिनमै सर्वाधिक जोखिममा रहेका मानिसबाट शुरु हुने अपेक्षा गरिएको छ।

यससँगै कोरोनाविरुद्धको खोपको प्रयोग अनुमति प्रदान गर्ने बेलायत विश्वकै पहिलो देश भएको छ । सो खोपको चार करोड मात्रा किनिसकेको छ जुन दुई करोड मानिसलाई पर्याप्त हुनेछ। तीमध्ये एक करोड मात्रा तुरुन्तै उपलब्ध हुने र आठ लाख मात्रा केही दिनमा आइपुग्ने बताइएको छ।

बीबीसीका अनुसार खोपको इतिहासमा यो सबैभन्दा छिटो स्वीकृति पाउने खोप बनेको छ। दश महिनाको अवधिमा यो खोप योजनाबाट अनुमतिसम्म आइपुगेको हो।

कतिपय खोपका लागि यो अवधि एक दशकभन्दा लामो भएका थिए। तर, यसलाई भण्डारण गर्न एकदम न्यून तापक्रम (–७० डिग्री सेन्टिग्रेड) आवश्यक पर्ने बताइएकाले भण्डारण र ओसारपसारमा चुनौती रहेको स्वास्थ्यविद्हरूको धारणा छ ।

बेलायत सरकारले अक्सफोर्ड र एस्ट्राजेनेकाको १० करोड र मोडेर्नाको ५० लाख डोज यसअघि नै ‘अर्डर’ गरिसकेको छ ।

कोरोना खोप सुरुमा राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) का कर्मचारीलाई र त्यसपछि केयर होममा रहेका र ८० वर्षभन्दा माथिका वृद्धवृद्धालाई दिइनेछ । सरकारले यसअघि कोभिड संक्रमणको उच्च जोखिममा पर्ने ‘केयर होम’ मा रहेकाहरू र ८० वर्षभन्दा माथिकालाई खोपमा पहिलो प्राथमिकता दिने बताएको थियो ।

दी जोइन्ट कमिटी अन भ्याक्सिनेसन एन्ड इमुनाइजेसनले सुरुमा ‘केयर होम’ बसेकाहरू र त्यहाँका कर्मचारी अनि त्यसपछि ८० वर्ष उमेर कटेका र सामान्य स्वास्थ्य कर्मचारीहरूलाई खोप लगाउन सुझाएको छ ।

यसले सम्पूर्ण रूपमा प्रयोगात्मक प्रकृया अपनाएको छ जुन प्रकृयामा मानव शरिरको रोग प्रतिरोधी क्षमतालाई कोरोनाभाइरस विरूद्ध लड्न अभ्यस्त तुल्याउन उक्त भाइरसको जेनेटिक कोडको एक भागलाई सुई मार्फत शरिरमा प्रवेश गराउने विधि स‌ंलग्न छ।

पहिलेका परिक्षणहरूले उक्त खोपले शरिरलाई कोरोनभाइरससँग लड्न उक्त भाइरस विरोधी एन्टिबडि निर्माण गर्न र टि-सेल भनिने शरिरको रोध प्रतिरोधी क्षमताको अर्को भाग तयार पार्न अभ्यस्त तुल्याउने देखाएका थिए। तीन हप्ताको अन्तरालमा उक्त खोपको दुई मात्रा आवश्यक पर्दछ।

अमेरिका, जर्मनी, ब्रजिल,आर्जेन्टिना, दक्षिण अफ्रिका र टर्कीमा गरिएको परिक्षणहरूमा उक्त खोपको दोस्रो मात्रा दिइएको सात दिनपछि खोप दिइएकाहरू मध्ये ९० प्रतिशतलाई कोरोनाभाइरस सङ्क्रमणबाट सुरक्षा प्राप्त भएको देखिएको थियो।

औषधी निर्माण कम्पनी फाइजरको विश्वासमा उसले यो वर्षको अन्त्यसम्ममा पाँच करोड मात्रा खोप आपूर्ति गर्न सक्नेछ। र सन् २०२१ को अन्त्य सम्ममा उक्त कम्पनीले १ अर्ब तीस करोड मात्रा आपूर्ति गर्न सक्ने सो कम्पनीले बताएको छ। बीबीसी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here