लगानी कोषको ‘पे एज यु गो’मा आधारित नयाँ प्रडक्ट, रु. ५ सयदेखि माथि वचत गर्न सकिने

काठमाडौं, २ असोज । नागरिक लगानी कोषले ‘नागरिक वचत वृद्धि’ कार्यक्रम ल्याएको छ । निश्चित अवधिपछि ‘पे एज यु गो’ को आधारमा पेन्सन योजनामा रुपान्तरण गर्ने गरी यो कार्यक्रम ल्याइएको उसको भनाइ छ ।

यस कार्यक्रमले नियमित वा निश्चित समयमा मात्र आय आर्जन गर्ने आम नागरिकलाई समेटने छ ।

गैर आवासीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरु, प्रचलित कानुन बमोजिम दर्ता भएको प्रतिष्ठान र सो प्रतिष्ठानमा कार्य गर्ने कामदार श्रमिकहरु, स्वरोजगारमा रहेका सर्वसाधारणलाई पनि यस कार्यक्रमले समेटने छ ।

यसमा न्यूनतम मासिक रु ५ सयदेखी क्षमता अनुसार अधिकतम रकम जम्मा गर्न सकिने प्रावधान राखिएको छ । साथै, यस कार्यक्रममा सहभागीहरुले एकमुष्ठ वा अनुकुलता अनुसार पटक पटक गरेर पनि बचत गर्न सक्ने ब्यवस्था गरिएको कोषले जानकारी दिएको छ ।

कोषमा सर्वसाधरण जनतालाई समेट्ने कुनै कार्यक्रम नरहेको र लामो समय देखि कोषले कुनै पनि नयाँ कार्यक्रम नल्याएको सन्दर्भमा सर्वसाधारणलाई समेत सामाजिक सुरक्षाको प्रत्याभूति दिन र बचत गर्न प्रोत्साहित गर्ने उद्देश्यले निश्चित अवधि पछि पेन्सन योजनामा रुपान्तर गर्ने ऐच्छिक सुविधा यस कार्यक्रममा समाबेश गरिएको छ ।

यस योजनामा सहभागी भई २ वर्ष सम्म नियमित बचत गरे पश्चात बचतकर्तालाई जम्मा रकमको ८० प्रतिशत सम्म सहभागी सापटी उपलब्ध गराइने छ ।

त्यस्तै, २ वर्ष सम्म बचत गर्ने बचतकर्ताहरुलाई धितोमा आधारित आवास, सरल एवं शिक्षा कर्जा जस्ता कोषले प्रवाह गर्ने कर्जा सुविधाहरु उपलब्ध गराइने छ ।

यसका अतिरिक्त सहभागीहरुलाई निश्चित मापदण्डको आधारमा दुर्घटना बीमा, औषधी उपचार बीमा, मृत्यु संस्कार खर्च र सुत्केरी खर्च जस्ता समाजिक सुरक्षाका सुविधाहरु समेत समावेश गरिने छ । यस कार्यक्रममा कोषले समय समयमा निर्धारण गरेको ब्याजको अलवा थप प्रतिफलको समेत ब्यवस्था गरिने छ ।

यस योजनामा संकलित रकम राष्ट्रिय गौरवका आयोजनाहरुमा लगानी गर्दा बचतकर्तालाई सहभागी गराउने ब्यवस्था मिलाईने पनि कोषले बताएको छ । निजी अस्पतालहरुसंग समझदारी गरेर यस कार्यक्रममा सहभागी हुने बचतकर्ताहरुलाई औषधीउपचार गर्दा विशेष छुटको ब्यवस्था समेत गरिने छ ।

केन्द्रीय तथ्याङ्क विभागको तथ्याङ्क अनुसार करिब ७१ लाख श्रमशक्ति आयमुलक रोजगारीमा संलग्न रहेका छन् । रोजगारमा रहेका र तलव÷ज्याला प्राप्त गर्नेहरूको औसत मासिक आम्दानी रु. १७ हजार ८ सय ९ रहेको छ ।

कुल रोजगारीमा रहेका मध्ये करिव १५ लाख रोजगारहरु कुनै न कुनै समाजिक सुरक्षा सहितको बचत कार्यक्रममा संलग्न रहेका छन् भने बाँकी रोजगार श्रमशक्ति उक्त बचत कार्यक्रमको दायरा भन्दा बाहिर रहेका छन् ।

तसर्थ, कोषका विद्यमान योजनाहरुले नसमेटिएका क्षेत्र तथा समुदायलाई लक्षित गरी सर्वसाधरणलाई कोषको कार्यक्रममा आवद्धता गराउन सहभागितामूलक बचत कार्यक्रम संचालन गर्नु पर्ने आवश्यकता रहेकोले नयाँ कार्यक्रम ल्याइएको कोषले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here