धेरै नाफा कमाउने बैंकको दोस्रो नम्बरमा ग्लोबल आईएमई

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ग्लोबल आईएमई बैंकले ३ अर्ब ३० करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यससँगै ग्लोबल आईएमई बैंक धेरै नाफा कमाउने वाणिज्य बैंकहरुमध्ये दोस्रो नम्बरमा छ । तेस्रो त्रैमाससम्म सबैभन्दा धेरै नाफा कमाउने नविल बैंक हो । गत आर्थिक वर्षको चैतसम्मको तुलनामा यस वर्षको सोही अवधिमा सबै वाणिज्य बैंकहरुको नाफा औसत साढे १३ प्रतिशतले घटेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २० वटा वाणिज्य बैंकले कुल ४० अर्ब ६८ करोड रुपैयाँ कुल खुद नाफा आर्जन गरेका छन्  । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब साढे १३ प्रतिशतले कम हो । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा यी बैंकको खुद नाफा ४७ अर्ब १ करोड रुपैयाँ थियो ।

अर्थतन्त्रको शिथिलता लम्बिँदै गएको, ब्याजदर घट्दै गएको, अपेक्षाभन्दा न्यून मात्र कर्जा प्रवाह भएको, कर्जा असुली नहुँदा खराब कर्जा बढेकोलगायत कारण बैंकहरूको नाफा लगातार घटिरहेको जानकार बताउँछन् । गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा यस वर्षको सोही अवधिमा पनि बैंकहरूको खुद नाफा करिब साढे ८ प्रतिशतले घटेको थियो ।

बैंकहरूले प्रकाशन गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १३ वटा बैंकको खुद नाफा घटेको छ भने बाँकी ७ वटाको बढेको छ । यस्तो अवस्थामा पनि ग्लोबल आईएमई बैंकको खुद नाफा करिब सवा ३ अर्ब छ ।

यसैगरी, गत चैतसम्मको कुल निक्षेप र कुल कर्जाका हिसाबले पनि ग्लोवल आईएमई बैंक सबैभन्दा अघि छ । चैतसम्म यो बैंकको कुल निक्षेप ४ खर्ब ५९ अर्ब ७७ करोड रुपैयाँ छ । गत वर्षको तुलनामा यो बैंकको निक्षेप ७.८५ प्रतिशतले बढेको हो । यस्तै गत चैतसम्म या बैंकको कुल कर्जा प्रवाह ३ खर्ब ८० अर्ब ६१ लाख रुपैयाँ छ । गत वर्षको तुलनामा कर्जा प्रवाह वृद्धिदर ३.३९ प्रतिशतले मात्र बढेको हो ।

यस्तै, ब्याज आय प्राप्तिका हिसाबले यो बैंक सबैभन्दा अघि छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा यो बैंकले ब्याज आयबाट मात्र ३९ अर्ब ६७ करोड रुपैयाँ प्राप्त गरेको छ । सञ्चालनमा रहेको २० वटा वाणिज्य बैंकमध्ये यो सबैभन्दा धेरै हो भने गत वर्षको तुलनामा यो करिब १८ प्रतिशतले बढेको छ ।

गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा ग्लोबल आईएमई बैंकको आधार दर पनि घटेर ८.८४ प्रतिशत कायम भएको छ । ०७९ चैतमा यो बैंकको आधार दर १०.६९ प्रतिशत थियो । निक्षेपको ब्याजदर निरन्तर घटेपछि यो बैंकको आधार दर पनि निरन्तर घटिरहेको छ ।

खासगरी अहिले बजारमा दुई थरी ऋण देखिएका छन् । एकथरी अर्थतन्त्रमा आएको समस्या (परिस्थितिजन्य कारण) ऋणीले साँवाब्याज भुक्तानी गर्न सकेका छैनन् भने अर्काथरीले क्षमता हुँदाहुँदै पनि भुक्तानी नगरेका हुन् । खासगरी वित्तीय प्रणालीप्रति समाजमा बढ्दै गएको नकारात्मक गतिविधिले पनि बैंकको कर्जा असुली प्रभावित भएको जानकारहरु बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here