अमेरिकी निर्वाचन प्रक्रिया : यसरी सरल भाषामा बुझौं

काठमाडौं\बीबीसी । अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि मङ्गलवार राती निर्वाचन हुँदैछ । मतदानलाई विश्वभरिका मानिसहरूले नजिकबाट नियालिरहेका छन्।
अमेरिकी मतदाताले देशको राष्ट्रपतिसँगै कङ्ग्रेस भनिने त्यहाँको संसद्‌का सदस्य पनि चयन गर्दैछन् । जसले देशका नागरिकहरूको जीवनमा प्रभाव पार्ने महत्त्वपूर्ण कानुन पारित गर्न उल्लेख्य भूमिका निर्वाह गर्छन्।

अमेरिकी राष्ट्रपतीय निर्वाचन नोभेम्बर ५ मा हुँदैछ। नेपाली समय अनुसार मङ्गलवार राती हुने मतदानबाट चयन हुने विजेताको कार्यकाल जनवरी २०२५ बाट सुरु हुन्छ।

अमेरिकी राष्ट्रपतिको कार्यकाल चार वर्षको हुन्छ । अमेरिकी राष्ट्रपतिले आफ्नै अधिकार प्रयोग गरी कानुन बनाउन सक्छन्। तर कानुन पारित गर्न उनले अधिकांश समय कङ्ग्रेससँग मिलेर काम गर्नुपर्छ।

अमेरिकी राष्ट्र प्रमुखलाई विश्व मञ्चमा देशको प्रतिनिधित्व गर्न र विदेश नीति तय गर्न उल्लेख्य स्वतन्त्रता हुन्छ। अमेरिकी निर्वाचनमा प्रमुख दुई पार्टीले आफ्ना उम्मेदवारहरू शृङ्खलाबद्ध मतदानबाट चयन गर्छन्।

त्यो प्रक्रियालाई स्टेट प्राइमरी र ककसहरू भनिन्छ। जसमा पार्टी सदस्यहरूले आफ्नो दलको प्रतिनिधित्व गर्ने उम्मेदवार छान्छन्। रिपब्लिकन पार्टीबाट पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प आफ्ना प्रतिस्पर्धी भन्दा ठूलो अन्तरको समर्थन सहित राष्ट्रपतिको उम्मेदवार बनेका छन्।

Source : BBC

विस्कन्सिनमा आयोजित रिपब्लिकन राष्ट्रिय सम्मेलनबाट उनी राष्ट्रपतिको उम्मेदवार चयन भएका थिए। उनले जेडी भेन्सलाई उपराष्ट्रपतिमा अघि सारेका छन्।

राष्ट्रपति जो बाइडनले गत जुलाई महिनामा आफू उम्मेदवार नबन्ने घोषणा गर्दै उपराष्ट्रपति कमला ह्यारिसलाई अगाडि सारेपछि ह्यारिस डेमोक्र्याटहरूको उम्मेदवार बनिन्।

उनलाई पार्टीबाट कसैले पनि चुनौती नै दिएन। उनले मिन्नेसोटाका गभर्नर टिम वाल्ट्जलाई उपराष्ट्रपति बनाउने घोषणा गरेकी छन्।

राष्ट्रपतीय निर्वाचनमा केही स्वतन्त्र उम्मेदवारहरूले पनि उम्मेदवारी दिएका छन्। जसमध्येका एक पूर्व राष्ट्रपति एक जोन एफ केनेडीका भतिजा रोबर्ट एफ केनेडी धेरै चर्चामा थिए। तर उनले अगस्ट अन्तिममा आफ्नो उम्मेदवारी फिर्ता लिएर ट्रम्पलाई समर्थन गर्ने घोषणा गरेका थिए।

डेमोक्र्याट उदारवादी राजनीतिक पार्टीको रूपमा चिनिन्छ। यसका मुख्य नीतिहरूमध्ये नागरिक अधिकार, व्यापक सामाजिक सुरक्षा सञ्जाल र जलवायु परिवर्तनको असरलाई सम्बोधन गर्ने विषयहरू पर्छन्।

रिपब्लिकन अमेरिकाको परम्परावादी राजनीतिक दल हो। ग्रान्ड ओल्ड पार्टी अर्थात् बुढो पार्टीको रूपमा पनि चिनिने रिपब्लिकन कम कर लगाउने, छरितो सरकार बनाउने, बन्दुक राख्ने अधिकार दिने र अध्यागमन तथा गर्भपातमा कडा प्रतिबन्धहरू लगाउने पक्षको दल हो।

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुन मतदाताको सर्वाधिक मत ल्याएर मात्र पुग्दैन। सबैभन्दा धेरै मतदाताको समर्थन पाउने उम्मेदवार पनि राष्ट्रपतिको निर्वाचनमा पराजित हुने सम्भावना रहन्छ।

अमेरिकामा मतदाताको प्रत्यक्ष मतबाट नभई इलेक्टोरल कलेज भनिने निर्वाचक मण्डलले राष्ट्रपति छान्छ। त्यहाँ राज्यहरूलाई मतभार दिइएको हुन्छ, अनि त्यसकै आधारमा परिणामको छिनोफानो हुन्छ। त्यसकारण उम्मेदवारहरू सबै ५० राज्यको चुनाव जित्न आफ्नो सामर्थ्य प्रयोग गर्छन्।

कुनै राज्यमा निर्वाचन जित्नु भनेको उम्मेदवारले सो राज्यसँग भएका सबै इलेक्टोरल कलेज मत हात पार्नु हो। अमेरिकाका ५० राज्यसँग भएको इलेक्टोरल कलेज मतको कुल सङ्ख्या ५३८ छ। कम्तीमा २७० इलेक्टोरल कलेज मत पाउने उम्मेदवार राष्ट्रपति निर्वाचित हुन्छन्।

यसअघि भएका छ वटा निर्वाचनमध्ये दुइटामा आफ्ना प्रतिद्वन्द्वीको भन्दा कम मत ल्याउने दुई उम्मेदवार राष्ट्रपति बनेका थिए। सन् २०१६ मा डोनल्ड ट्रम्पले झन्डै ३० लाख मत कम पाए पनि इलेक्टोरल कलेजले उनलाई बहुमत दिएका कारण उनी राष्ट्रपति बने।

अधिकांश राज्यले प्रत्येक निर्वाचनमा एउटै पार्टीलाई जिताउँछन्। त्यस कारण राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारहरूले स्विङ स्टेट भनिने परिणाम अनिश्चित हुने राज्यहरूमा आफ्नो ध्यान केन्द्रित गर्छन्।

सन् २०२४ को निर्वाचनमा एरिजोना, नोर्थ क्यारलाइना, जोर्जा, मिशिगन, नभाडा, पेन्सिल्भेनिया र विस्कन्सिनसहित सात राज्यमा उम्मेदवारहरूबीच उच्च प्रतिस्पर्धा हुने देखिएको छ।

प्रत्येक राज्यमा त्यहाँको जनसङ्ख्याको आकारका आधारमा इलेक्टोरल मतको सङ्ख्या तोकिएको हुन्छ इलेक्टोरल कलेजको भेला प्रत्येक चार वर्षमा हुने निर्वाचन सकिएपछि केही सातामा आयोजना हुन्छ। त्यही भेलाले राष्ट्रपति र उपराष्ट्रपति छान्छ।

अमेरिकी राष्ट्रपति चयनका लागि हुने निर्वाचनमा १८ वर्ष वा सो भन्दा माथिका अधिकांश अमेरिकी नागरिकहरूले मत दिन पाउँछन्। तर नर्थ डाकोटा बाहेकका सबै राज्यमा निर्वाचनअघि अघि मतदाताको रूपमा दर्ता हुनुपर्ने नियम छ।

प्रत्येक राज्यमा मतदाताको रूपमा दर्ता हुने आफ्नै प्रक्रिया र समयसीमा छ। विदेशमा रहेका अमेरिकी नागरिकहरूले पनि सङ्घीय हुलाक कार्यालयको प्रणालीमा निवेदन दिएर हुलाक मार्फत् मतदान गर्न सक्छन्।

अधिकांश राज्यमा चुनावको दिनअघि नै मतदाताहरूलाई अग्रिम मत दिने सुविधा दिइएको हुन्छ। राष्ट्रपतिबारे धेरै चर्चा हुने गरे पनि अमेरिकी मतदाताहरूले नोभेम्बर ५ मा अरू पदमा पनि मत दिँदैछन्।

कङ्ग्रेस भनिने अमेरिकी संसद्‌का सदस्यहरू पनि त्यही दिनको निर्वाचनबाट चुनिन्छन्। अमेरिकामा कानुनको निर्माणमा उनीहरूको उल्लेख्य भूमिका हुन्छ। कङ्ग्रेसको संरचना ४३५ सिटको प्रतिनिधिसभा र ३४ सिटको सिनेट मिलेर बनेको हुन्छ।

अमेरिकी सरकारले गर्ने खर्चमा नियन्त्रण गर्ने प्रतिनिधिसभामा अहिले रिपब्लिकन पार्टीको बहुमत छ। सरकारका प्रमुख नियुक्तिहरूमा मतदान गर्ने सिनेटमा भने डेमोक्र्याटको नियन्त्रण छ।

संसद्‌का यी दुई सदनले कानुनहरू पारित गर्नुका साथै ह्वाइट हाउसमाथि नियन्त्रणको काम गर्छन्। राष्ट्रपति योजना कुनै सदनमा बहुमत रहेको पार्टीलाई चित्त नबुझे त्यसको कार्यान्वयन गर्न ह्वाइट हाउसलाई अप्ठ्यारो पर्नसक्छ।

साधरणतया चुनाव सकिएकै रात अमेरिकी राष्ट्रपतीय निर्वाचनका विजेताको घोषणा हुन्छ। तर सन् २०२० मा सबै मत गणना सक्न केही दिन लागेको थियो।

बहालवाला भन्दा फरक राष्ट्रपति निर्वाचित भएको अवस्थामा नयाँ राष्ट्रपतिको पदबहाली नहुँदासम्मको अवस्थालाई सङ्क्रमणकाल भनिन्छ। यसले नयाँ प्रशासनलाई मन्त्रीहरू चयन गर्न र कार्यकालको योजना बनाउन समय दिन्छ।

इन्यागुरेसन भनिने एक समारोहबीच नयाँ निर्वाचित राष्ट्रपतिले ज्यानुअरीमा पदबहाली ग्रहण गर्छन्। यो समारोह क्यापिटोल भनिने अमेरिकी संसद् भवनको खुड्किलाहरूमा हुन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here