उम्मेदवारको खर्च सीमा निर्धारण,कसले कति खर्च गर्न पाउने ?

काठमाडौं, २० कात्तिक । निर्वाचन आयोगले १४ मंसिरमा हुने उपनिर्वाचनका लागि लक्षित गर्दै उम्मेदवारले चुनाव प्रचारप्रसारमा गर्न पाउने खर्चको सीमा निर्धारण गरेको छ।

खर्चको सीमा निर्धारण गर्दै राजनीतिक दल तथा उम्मेदवारहरुलाई प्रचार प्रसारको लागि प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको हकमा १६ दिन र स्थानीय तहका उम्मेदवारको हकमा १० दिनको समयावधी उपलब्ध गराईएको छ ।

जस अनुसार प्रतिनिधिसभा सदस्यका उम्मेदवारले २५ लाख र प्रदेशसभा सदस्यले १५ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन् भने उपमहानगरपालिका प्रमुखका उम्मेदवारले ५ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउनेछन् ।

यसैगरी, उपनगरपालिकाको वडाध्यक्षले २ लाख ५० हजार, नगरपालिकाको वडाध्यक्षले २ लाख, गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षले ३ लाख ५० हजार र गाउँपालिका वडाध्यक्षले १ लाख ५० हजारसम्म निर्वाचन प्रचारप्रसारका लागि खर्च गर्न पाउँनेछन् ।

प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन, उपमहानगरपालिका प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, उपाध्यक्ष एक र ४३ वडाध्यक्ष गरी कुल ५२ पदका लागि उपनिर्वाचन हुँदै छ ।

जसमध्ये प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यमा ९५ दलले र स्थानीय तहको सदस्यको पदमा ७८ दलले उपनिर्वाचनमा भाग लिन सक्नेछन ।

मतदाता शिक्षा एक साता

उपनिर्वाचन प्रयोजनको लागि मतदाता शिक्षा कार्यक्रम मंसिर ५ देखि ११ गतेसम्म सञ्चालन हुँदैछ । प्रत्येक वडामा दुई जना मतदाता शिक्षा कार्यकर्ताले उक्त अवधिमा मतदाताहरूलाई जानकारीमूलक नमूना मतपत्र, पोष्टर, हातेपुस्तिका लगायतका सामग्रीको माध्यमबाट मतदाता शिक्षा दिइनेछ ।

यसका साथै नमूना मतदान कार्यक्रम, मतदाता शिक्षा गोष्ठी, आयोगको वेबसाइट, मोबाइल एप्स्, फेसबुक मार्फत मतदातालाई शिक्षा दिने कार्यक्रम रहेको छ ।

उम्मेदवारी दर्ता भोलि,के-के चाहिन्छ उम्मेदवारी दिन,धरौटी कति ?

निर्वाचन आयोगले उपनिर्वाचनका लागि बिहीबार उम्मेदवारी मनोनयन दर्ताको कार्यक्रम राखेको छ । निर्वाचन आयोगले सम्बद्ध जिल्ला निर्वाचन कार्यालयमा उम्मेदवारी मनोनयन हुने जनाएको छ ।

प्रतिनिधि सभा र प्रदेश सभाका लागि भोलि बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता गराउन सकिनेछ ।

एक संघीय निर्वाचन क्षेत्र, तीन प्रदेशसभा निर्वाचन क्षेत्रसहित विभिन्न पदका लागि ५२ ठाउँमा उपनिर्वाचन हुँदैछ।

स्थानीय तहको हकमा भने २७ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी मनोनयन दर्त गर्न सक्ने गरी आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । प्रतिनिधिसभातर्फ कास्की क्षेत्र नं. २, प्रदेशसभातर्फ भक्तपुर १(१), बाग्लुङ २(२) र दाङ ३(२) क्षेत्रमा निर्वाचन हुँदै छ ।

रिक्त स्थानमा उम्मेदवारी दिनेले नागरिकता वा मतदाता परिचयपत्रको प्रतिलिपि, मतदाता नामावलीमा नाम भएको प्रमाण तथा राजनीतिक दलका तर्फबाट उम्मेदवार बन्नेले सम्बद्ध दलबाट प्राप्त औपचारिक पत्र मनोनयनपत्रसँगै बुझाउनुपर्नेछ ।

प्रतिनिधिसभाको उम्मेदवारले १० हजार र प्रदेशसभाको उम्मेदवारले ५ हजार रुपैयाँ धरौटी राख्नुपर्नेछ । मतदानमा खसेको कुल सदर मतको १० प्रतिशतभन्दा बढी ल्याउने उम्मेदवारले मात्र धरौटी फिर्ता पाउनेछन् ।

उम्मेदवारले सम्बन्धित निर्वाचन क्षेत्रका मतदातामध्येबाट एक/एक जना प्रस्तावक र समर्थकसमेत राख्नुपर्छ । एक व्यक्ति एक उम्मेदवारको मात्र प्रस्तावक र समर्थक बस्न पाउँछन् ।

आयोगका अनुसार कात्तिक २५ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिन्छ। स्थानीय तहका लागि भने आयोगले कात्तिक २७ गते उम्मेदवारको मनोनयन गर्ने समय दिएको छ। मंसीर १४ गते विहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म ५२ पदका लागि मतदान हुने आयोगले जनाएको छ।

के–के चाहिन्छ उम्मेदवारी दिन ?

प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यका लागि :

(१) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि/निर्वाचन आयोगबाट जारी भएको मतदाता परिचयपत्रको प्रतिलिपि ।

(२) ………….. गाउँपालिका/नगरपालिकाको ………….. वडाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा ।

(३) ………….. नामको राजनीतिक दलले प्रदान गरेको उम्मेदवार मनोनयनको औपचारिकपत्र (राजनीतिक दलको उम्मेदवारको हकमा) ।

(४) प्रतिनिधि सभा सदस्यको लागि रु. १०,०००।–(अक्षररुपी दशहजार) र प्रदेश सभा सदस्य को लागि रु. ५,०००।– (अक्षररुपी पाँचहजार) धरौटी ।

(५) मतदाता नम्बर : …………..

(६) सम्पत्ति विवरण :

(क) घर सङ्ख्या :
(ख) घर रहेको स्थान :
(ग) जग्गाको विवरण (जिल्ला, गाउँपालिका/नगरपालिका, वडा नं., कि.नं., क्षेत्रफल) :

(७) प्रतिनिधि सभा सदस्य वा प्रदेश सभा सदस्यको पदमा उम्मेदवारी दिँदा कुनै लाभको पद वा निर्वाचित पदमा बहालवाला पदाधिकारी भए निजले बहाल रहेको पदबाट राजीनामा दिएको दर्ताको निस्सा ।

स्थानीय तहका लागि :

(१) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ।

(२) सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा (वडा अध्यक्ष पदको लागि) ।

(३) सम्बन्धित गाउँपालिका वा नगरपालिकाको कुनै वडाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा (अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको लागि) ।

(४) ………….. नामको राजनीतिक दलले प्रदान गरेको उम्मेदवार मनोनयनको औपचारिकपत्र (राजनीतिक दलको उम्मेदवारको हकमा) ।

(५) स्थानीय तहको अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको लागि रु. १,५००।– (अक्षररुपी एकहजार पाँचसय) र वडा अध्यक्ष पदको लागि रु. १,०००।– (अक्षररुपी एकहजार) धरौटी राख्नुपर्ने ।

(६) मतदाता नम्बर : …………..

(७) सम्पत्ति विवरण
(क) घर संख्या :
(ख) घर रहेको स्थान :
(ग) जग्गाको विवरण (जिल्ला, गाउँपालिका/नगरपालिका, वडा नं., कि.नं., क्षेत्रफल) :

(८) अध्यक्ष/उपाध्यक्ष/प्रमुख/उपप्रमुख/वडाध्यक्षको पदमा उम्मेदवारी दिँदा कुनै लाभको पद वा निर्वाचित पदमा वहालवाला पदाधिकारी भए निजले वहाल रहेको पदबाट राजिनामा दिएको दर्ताको निस्सा ।

भोटर लिष्टमा तपाईको नाम छ कि छैन ? यसरी हेर्नुहोस्

१. सबैभन्दा पहिले निर्वाचन आयोगको वेभसाईट मा गई दिईएको टेबलमा आफ्नो प्रदेश
छान्नु होस् त्यसपछि जिल्ला छान्नुहोस्।

२. त्यसपछि आफू बस्ने गाविस वा नगरपालिकाको नाम छान्नुहोस्।

३. त्यस तलको भागमा तपाईंको वार्ड नम्बर छान्नुहोस्।

४. त्यसपछि मदतान केन्द्र छान्नुहोस्।

५. त्यसपछि SUBMIT लेखेको बटन क्लिक गर्नुस्। केहीसमयपछि तपाईको विवरण छाने अनुसारको नामावली आउँछ।

नामावलीमाको माथि तपाईंको आफ्नो नामको पहिलो अक्षर बाट आफ्नो नाम खोज्दा सजिलो हुनेछ।

६ . आफ्नो फोटोसहितको पूरा विवरण हेर्न आफ्नो जन्ममिति वा नागरिकता नम्बर राख्नुपर्नेहुन्छ त्यसका लागि आफ्नो नामको पछाडि मतदाता विवरण भनेर आउँछ त्यहाँ क्लिक गर्नुहोला।

त्यसपछि जन्ममिति/नागरिकताको नम्बर राखिसकेपछि कुन चित्रमा क्लिक गर्ने भनेको छ त्यसमा क्लिक गरेपछि तपाईको पूरा विवरण आउँछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here