कसरी मासिए कुनै समय राज गरेका डाइनोसर र अनौठ जीवहरु ?

काठमाडौं । करोडौं वर्ष पहिला धर्तीमा दैत्याकार सरिसृपको राज्य थियो । स्वच्छन्द विचरण गर्ने ४५० देखि ६५० क्विन्टल वजन भएका, २० फुटदेखि १२० फुटसम्म लम्बाई भएका तथा २० फुटदेखि ४० फुटसम्म अग्लो कद भएका यी अनौठा जीवलाई वैज्ञानिकहरु डाइनोसर नाम दिन्छन् ।

धर्तीमा लगभग १२ करोड वर्षसम्म राज्य गर्ने यी जीव लगभग ७ करोड वर्ष पहिला अचानक नै लुप्त भए ।

आखिर कहाँ गए यी जीवहरु ?

कल्पना गर्नुस् कि छुट्टी मनाउने मुडमा तपाईं कुनै दिन शहरको भीडबाट टाढा निस्कनुहुन्छ । कुनै तलाउको किनारमा आफ्नो पाल टाँग्नुहुन्छ ।

शान्त, सुरम्य वातावरण, पंक्षीको चिरबिर, कुल मिलाएर तपाईं खुशी हुनुहुन्छ वातावरणको सुन्दरतामा । तर, तब तपाईंको दृष्टि पानीमा पौडिरहेको कुनै कुरामा गएर रोकिन्छ, जुन करिब २० फुटसम्म माथि उठ्दै जान्छ । ओहो ! यो त कुनै जलीय प्राणी हो !

अब त त्यसको गर्धन पनि देखिन थालेको छ । पानीमा पाइने घाँस मजाले चपाइरहेको त्यो जनावर तपाईंतिर नै बढिरहेको छ, खानेकुरा टिपिरहेका तपाईंको हात मुख नजिकै पुगेर रोकिन्छ र अचानक तपाईंको मुखबाट चिच्याहट निस्कनेछ ।

सबै कुरा छोडेर तपाईं बेतोडले भाग्न थाल्नुहुन्छ । त्यहाँबाट धेरै पर पुगेपछि मात्र स्वास फेर्नुहुन्छ । तपाईं बुझ्ने कोसिस गर्नुहुन्छ कि कुरा के हो, तब त्यो भीमकाय जीव अचानक पानीमा डुबुल्की लगएर तपाईंको दृष्टिबाट ओझेल हुन्छ ।

हतार–हतार तपाईं आफ्नो सारा सामान बटुलेर घरतिर लाग्नुहुन्छ । तपाईं सोचिरहनु हुनेछ कि यस्तो अनौठो जनावर पहिला कहिल्यै देख्नुभएको थिएन ।

तर, आज अचानक यो कसरी देखियो ? थाहा छ, त्यो २० फुट अग्लो गर्धन भएको जीव कुन थियो ? त्यो स्टिगोसार थियो । हामी पनि आफूलाई भाग्यमानी ठान्छौं, यदि स्टिगोसारसँग कुनैबेला आमनेसामने हुनसके ।

तर हामी सबै यो मामलामा अभागी नै छौं, कहिल्यै पनि हामीले यो विचित्र जीवको दर्शन पाउन सक्नेछैनौं, किनकि यी जीव अब समयको नियन्त्रण बाहिर छन् । करोडौं वर्ष पहिला नै स्टिगोसार र उसका प्रजाति लोप भइसकेका छन् । आज कतैकतै अवशेषको रुपमा त्यसका हड्डीहरु अवश्य भेटिन्छन् ।

वैज्ञानिकहरुले उत्खननबाट पाएका अवशेषको आधारमा ढाँचा खडा गरेर त्यसको प्रतिरुप तयार गरे, त्यसपछि जुन प्रतिरुप अगाडि आयो, त्यो बडो विचित्र र आकर्षक थियो । मानवको सृष्टिभन्दा पहिला धर्तीमा दैत्याकार सरीसृपको एकछत्र राज्य थियो ।

यी दैत्याकार जन्तु बदलिदो संसारको दौडमा पछाडि परे र सदा सदाको लागि कालको ग्रास बन्न पुगे । तिनीहरुको अवशेषको आधारमा तिनीहरुको आकारको पत्ता लाग्छ ।

वैज्ञानिकले हजारौं फुटको गहिराइबाट, चट्टानको बीचबाट यी जन्तुको अस्थिपञ्जर खोजेर निकालेका छन् र त्यसैको आधारमा यसको शरीरको बनावटको अनुमान लगाउँदै त्यसको अनुकृतिहरु बनाएका छन् ।

वैज्ञानिक यसलाई डाइनोसर भन्छन् । धर्तीमा लगभग १२ करोड वर्षसम्म यी अनौठा जीवको राज्य रह्यो र आजभन्दा लगभग ७ करोड वर्ष पहिला यिनीहरु लोप भए ।

कसरी मासिए डाईनोसर

कुनै समय पृथ्वीमा एकछत्र राज गरेका डाइनोसर अचानक लोप हुनुमा एक उल्का पिण्डलाई जिम्मेवार मानिन्छ । सो उल्कापिण्ड पृथ्वीमा ठोक्किएपछि डाइनोसर मासिएको मानिँदै आएको छ।

तर हालै बेलायतमा गरिएको एक अध्ययनले उल्कापिण्ड पृथ्वीमा ठोक्किनुअघि नै डाइनोसरको संख्या ओरालो लाग्न थालिसकेको निष्कर्ष निकालेको छ । डाइनोसर पृथ्वीभर कुनकुन बाटो हुँदै फैलिए भनी गरिएको सो अध्ययनमा ती भीमकाय जीव आफ्नै सफलताको शिकार बनेको निष्कर्ष निकालिएको हो।

अनुसन्धानकर्ताहरुका अनुसार उल्कापिण्डले पृथ्वीलाई ठक्कर दिनुअघि नै पृथ्वीका सम्पूर्ण बासस्थान डाइनोसरहरुले ओगटिसकेका थिए ।

अनुसन्धानकर्ताहरुले डाइनोसरहरु आफ्नो उद्गमस्थल दक्षिण अमेरिकाबाट ‘पूरै पृथ्वी ढाक्नेगरी उन्मादको अवस्थामा फैलिएको’ बताएका छन्। सो क्रममा क्रुर टि रेक्सदेखि लिएर भीमकाय लामो घाँटी भएको डिप्लोडोकसजस्ता अनेकौँ प्रकारका डाइनोसर उत्पन्न भए।

तर उल्कापिण्ड ठोक्किनुअघि नै आवासको कमीका कारण उनीहरुको संख्या उल्लेख्य रुपमा कम भइसकेको थियो । नेचर इकोलोजी एन्ड इभोलुसन नामक जर्नलमा प्रकाशित सो अध्ययनमा दक्षिण अमेरिकाबाट पृथ्वीभर फैलिन डाइनोसरले प्रयोग गरेको बाटाहरुको निर्क्यौल गरिएको थियो।

‘उनीहरु दृश्यमा देखिनेबित्तिकै एकदम चाँडै पृथ्वीको सबै भागमा फैलिए,’ एक अनुसन्धानकर्ता युनिभर्सिटी अफ रिडिङका डा. क्रिस भेन्डिटी भन्छन् । उनका अनुसार डाइनोसरको उत्पत्तिभन्दा अघिमात्र संसारबाट ‘ग्रेट डाइङ’ भनेर चिनिने बहुसंख्यक प्रजाति लोप हुने घटना भएको थियो, जसको फाइदा यो प्रजातिले उठाउन पाएको थियो ।

डाइनोसरहरु निर्बाध पृथ्वीभर फैलिन पाए किनभने खाना, स्थान र अन्य स्रोतका लागि उनीहरुसँग प्रतिस्पर्धा गर्ने कुनै प्रजाति बाँकी थिएन । तर पृथ्वीको हर कुनामा छाइसकेपछि डाइनोसरको प्रगति धीमा भएको थियो । त्यसपछि त उड्न सक्ने डाइनोसर मात्र जीवित रहन सफल भए, जो अहिले आएर चरा बनेका छन् ।

‘तिनले पृथ्वी भरेका थिए। हलचल गर्ने ठाउँ थिएन, त्यसैले उनीहरु आफ्नै बासस्थानमा मात्र विशिष्टिकृत भए, जसका कारण तिनले नयाँ प्रजाति उत्पन्न गर्न सकेनन्,’ युनिभर्सिटी अफ रिडिङकी डा सियरा ओडोनोभन भन्छिन्, ‘चराबाहेक उनीहरुको अन्त्येष्टिको अन्तिम घटना यही थियो ।’

यो अनुसन्धान प्रत्येक डाइनोसर र उसका पुर्खा कहाँ थिए भन्ने तथ्यांकगत विधिमा आधारित छ । जीवाष्म अध्ययनले भन्दा यसले अझ पूर्ण तस्वीर देखाउनसक्छ । यद्यपि सबै अनुसन्धानकर्ता उल्कापिण्ड ठोक्किनुअघि नै डाइनोसरको अधोगति सुरु भइसकेको थियो भन्ने तर्कलाई मान्न तयार छैनन्।

‘महादेशहरु ससाना खण्डमा टुक्रिँदै गर्दा पनि डाइनोसरको प्रजातिमा विविधता थपिने क्रम रोकिएको थिएन । क्रिटेसस युगको अन्तमा पृथ्वीमा उल्का पिण्ड ठोक्किँदासम्म पनि उनीहरुमा विविधता थपिइरहेको थियो,’ युनिभर्सिटी अफ पोर्ट्समाउथका प्राध्यापक डेविड मार्टिल भन्छन् ।

डाइनोसरको युगमा जाऔं र हेरौं, कति रोचक, रोमाञ्चक र विचित्र थियो यी विराट सरीसृपहरुको संसार । यीमध्ये केही शाकाहारी थिए, केही मांसाहारी र केही दुवै प्रकारको शौक भएका । डाइनोसरका चार खुट्टा हुन्थे ।

कंगारु समान अगाडिको दुई खुट्टा छोटा तथा पछाडिको खुट्टा धेरै ठूला हुन्थे । केही चार खुट्टाले हिंड्थे र केही आफ्नो पछाडिका खुट्टाले मात्र आफ्नो भारी शरीर सम्हाल्थे । यिनको पुच्छर पनि धेरै लामो र वजनदार हुन्थ्यो । डाइनोसर आफ्नो पुच्छरले आफ्नो स्थूलकाया शरीरको सन्तुलन गथ्र्यो ।

डाइनोसरको प्रारम्भिक वंशावलीका जन्तु अपेक्षाकृत कम लामा हुन्थे । प्रारम्भिक डाइनोसरमा प्लेटियोसोर करिब २० फुट लामो थियो । यो पूर्णतः शाकाहारी थियो अर्थात् केवल वनस्पतिहरुबाट आफ्नो निर्वाह गथ्र्यो ।

समय बित्दै जाँदा अरु पनि दैत्याकार डाइनोसर अस्तित्वमा आए । त्यो समयको वातावरण उनीहरुको अस्तित्वको लागि धेरै उपयुक्त थियो । त्यो समय समुद्रको पानी तातो थियो ।

तपाईं आश्चर्य मान्नुहुन्छ कि जहाँ आज अमेरिका महाद्वीप रहेको अलास्कामा वर्षभर बरफ जमिरहन्छ, त्यो समय त्यहाँ खजूरको वृक्ष उम्रने गर्थे । खानाको लागि वनस्पतिहरु पनि पर्याप्त मात्रामा उपलब्ध थिए । वातावरण तातो थियो, जुन यिनीहरुको लागि लाभदायी सिद्ध भयो ।

जुन समय डाइनोसरले यो धर्तीमा जन्म लियो, त्यो युगलाई मेसोजोइक युग भनिन्छ । त्यो समय सरीसृपको यो धर्तीमा साम्राज्य थियो । तर वातावरणमा एकाएक केही यस्तो परिवर्तन भयो कि त्यसलाई यी दैत्याकार जीवले सहन सकेनन् र फेरि सदाको लागि लुप्त भए ।

डाइनोसरमा ऐलण्टोसोर, ब्रोण्टोसोर तथा टिरेनोसोर प्रसिद्ध भए । ऐलण्टोसोर त धेरै भयानक जन्तु थियो । त्यो करिब २० फुट अग्लो थियो र यसको लम्बाई थियो, १२० फुट । गर्धन धेरै लामो थियो र वजन ४०० क्विन्टलभन्दा धेरै थियो । यो हिंड्दा जमिन थर्कन्थ्यो ।

ब्रोण्टोसोर त योभन्दा धेरै भयानक थियो । यसको शरीरको लम्बाई लगभग ७० फुट थियो र वजन लगभग ६५० क्विन्टल थियो । वैज्ञानिकहरुको अनुमान छ, धर्तीमा योभन्दा धेरै वजन भएको कुनै पनि प्राणीको अस्तित्व असम्भव थियो ।

यदि ब्रोण्टोसोर अझ बढी वजनको भएको भए शरीरको भार खुट्टाले थाम्न नसकेर मर्ने थियो । यो शाकाहारी जीव थियो । आफ्नो खानाको खोजीमा यो पानीमा, विशेषगरी तलाउमा विचरण गर्ने गथ्र्यो ।

यसका दुई फाइदा थिए, एक त खाना प्राप्ति र दोस्रो, थलमा हिंड्नमा । यसलाई जुन कठिनाइ हुन्थ्यो त्यसबाट यो पानीमा बाँच्न सक्थ्यो र मांसाहारी डाइनोसरबाट आफ्नो रक्षा पनि गथ्र्यो ।

पानीमा सधैं बस्ने डाइनोसरमा स्टिगोसोर तथा डिप्लोडोकसको नाम उल्लेखनीय छ । स्टिगोसोरको वजन करिब १० टन हुन्थ्यो र केवल घाँस आदि खाएर नै आफ्नो पेट भथ्र्यो । डिप्लोडोकस ९० फुट लामो थियो र त्यसको वजन लगभग ३५० क्विन्टल थियो । यो तलाउमा या त्यसको नजिकै बस्थ्यो र यसले पनि आफ्नो पेट घाँसपातले भर्नुपथ्र्यो ।

मांसाहारी डाइनोसरमा एलोसोर धेरै खतरनाक थियो । पुच्छरको टुप्पोदेखि लिएर मुखसम्म यो लगभग ३५ फुट लामो थियो । पछाडिको खुट्टा अगाडिको भन्दा धेरै लामो थियो । मोटो र लामो पुच्छर दौडदा शरीरको सन्तुलन बनाई राख्थ्यो ।

यसका दाँत ठूला र तीखा थिए, शाकाहारी डाइनोसरको शिकार गर्नमा सहायक हुन्थे । यसको डरले शाकाहारी डाइनोसर गहिरो तलाउमा गए र त्यहीं बस्न थाले । धेरैको साथ प्रकृति र आकारले दिएका छन्, जस्तो स्टिगोसोरको पेट र ढाड हड्डीमा कठोर आवरण हुनु ।

ब्रेक्योसोर शायद त्यो युगको सबैभन्दा विशाल जलीय प्राणी थियो । यसको लम्बाई ७० फुट थियो, जसमा गर्धन नै करिब ३० फुट लामो थियो । पानीमा डुबिरहँदा पनि यो आफ्नो गर्धन बाहिर निकाली रहन सक्थ्यो ।

डाइनोसरको परिवारमा जलीय र थलीय प्राणीहरु बाहेक केही यस्ता प्राणी पनि थिए, जो हावामा पंक्षीझैं उड्न सक्थे । टिरोसोर उड्ने सरीसृप थिए । यसका दुवै अगाडिका खुट्टा डेनोमा बदलिएका थिए ।

यिनमा टिरेनोडान सबैभन्दा ठूलो थियो । यसको पुच्छर छोटो हुन्थ्यो, दाँत हुँदैनथियो र डेना धेरै लामो लगभग २०–२५ फुटसम्मको थियो । तर यी भीमकाय प्राणीहरुको साम्राज्य धेरै दिनसम्म चल्नेवाला थिएन ।

बिस्तारै उनीहरु सबै लुप्त भए । आज पृथ्वीमा चट्टानको बीचमा गाडिएको उनीहरुको अवशेष मात्र रहेको छ । आखिर लगभग १२ करोड वर्षसम्म जल, थल र वायुमा एकत्र राज्य गर्ने यी प्राणी यसरी किन गायब भए !

यसको हल खोज्नमा वैज्ञानिकले धेरै दुःख गरे । कैयौं वैज्ञानिकले आफ्नो मत प्रस्तुत गरेका छन् । तर पनि हामी कुनै निश्चित निष्कर्षमा पुग्न सकेका छैनौं । धेरै वैज्ञानिकको विचार छ कि डाइनोसर लुप्त हुनुमा जलवायुको सबैभन्दा ठूलो हात थियो ।

मेसोजोइक युगको अन्त्यमा पृथ्वीको अधिकांश भू–भागमा एकाएक ठूलो परिवर्तन आयो । अलास्का जस्तो देश, जहाँ खजूरको वृक्ष उम्रने गथ्र्यो, बरफले ढाकियो ।

डाइनोसर चिसो रगत भएका जन्तु थिए, जसको शरीरको ताप वातावरणको ताप अनुकूल बदलिरहन्थ्यो, अतः धेरै चिसो सहन गर्न नसक्नाले उनीहरु नष्ट भए । यस्तो परिस्थितिमा यी दैत्याकार जीवले आफूलाई लुकाउने स्थान पाउन सकेनन् ।

अतः साना सरीसृप नै बाँचे, जो आफूलाई लुकाउन सके । यथार्थमा डाइनोसरले टाउको लुकाउने स्थानको खोजी गर्न पनि कसरी सक्थे ? किनकि डाइनोसर महामूर्ख जन्तु थिए । उनीहरुको मस्तिष्क उनीहरुको शरीरको तुलनामा धेरै सानो र कमजोर थियो । डाइनोसरको शरीर उसको मस्तिष्कभन्दा लगभग २५,००० गुणा भारी थियो ।

केही वैज्ञानिकको विचार यस्तो पनि छ कि त्यो समयमा केही स्तनपायी जीवको आविर्भाव भयो, तिनले यिनीहरुका अण्डा खान थाले । फलतः डाइनोसर लुप्त भए ।

खाद्य अभाव, जलवायु–परिवर्तन, शक्तिशाली र हिंस्रक जीवको उद्भवको कारण डाइनोसर विलुप्त भए । भारत भूमिमा ज्वालामुखीय विस्फोट हुनु पनि एक कारण हो ।

यो कुराको पुष्टि ऐतिहासिक र वैज्ञानिक रुपमा भैसकेको छ । तर, प्रश्न यो उठ्छ कि सिर्फ भारत भूमिका डाइनोसर मात्र त्यो कालखण्डमा विलुप्त भए, बरु अफ्रिका, अमेरिका, रुस र फ्रान्स सबै भू–भागबाट पनि किन लुप्त भए ? उल्का झर्नु र डाइनोसरको विलुप्तिको तालमेल केही वैज्ञानिकहरु मिलाउने गर्छन् । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here