विद्युत् बिक्रीबाट ६६ अर्ब ६१ करोड आम्दानी, १० अर्ब ६७ करोड नाफा

काठमाडौं, २१ चैत । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष (आव) मा १० अर्ब ६६ करोड ७९ लाख रुपैयाँ नाफा गरेको छ ।

कुलमान घिसिङको सबल नेतृत्व र उनलाई सदैव काम गर्न मार्ग निर्देशन गरिरहने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री भरोसाका कारण प्राधिकरणले ठूलो मुनाफा गरेको हो ।

एक अध्ययन अनुसार प्राधिकरणले आर्थिक वर्ष २०७५/७६ मा मात्रै १० अर्ब ६६ करोड ७९ लाख रुपैयाँ बराबरको नाफा कमाएको छ ।

नेपाल फाइनान्सियल रिर्पोटिङ स्टाण्डर्ड (एनएफआरएस) को विस्तृत आम्दानी ८५ करोड ५४ लाखसहित प्राधिकरणले १० अर्ब ६६ करोड ७९ लाख नाफा कमाएको हो ।

प्राधिकरणको ३४ औं वार्षिकोत्सवको अवसरमा गत भदौमा आव २०७५/७६ मा ७ अर्ब २० करोड खुद नाफा आर्जन हुने प्रक्षेपण गरिएको थियो ।

सोही कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री एवं प्राधिकरण सञ्चालक समितिका अध्यक्ष पुनले सरकारी संस्थानहरुमध्ये प्राधिकरणलाई एक नम्बरको संस्था बनाउने दृढता प्रस्तुत गरेका थिए।

महालेखापरीक्षकको कार्यालयबाट भएको अन्तिम लेखापरीक्षणबाट प्राधिकरणले आव २०७५/७६ मा ९ अर्ब ८१ करोड २५ लाख खुद नाफा कमाएको देखिएको छ ।

योसँगै सञ्चालनमा रहेका सार्वजनिक संस्थानहरुमध्ये प्राधिकरण सबैभन्दा बढी खुद नाफा कमाउने संस्थाका रुमपा स्थापित भएको छ ।

प्राधिकरणको जगेडा तथा संचित कोष नोक्सानी घटेर १२ अर्ब २३ करोड ३९ लाखमा झरेको छ । आव २०७४/७५ मा प्राधिकरणको खुद नाफा २ अर्ब ८४ करोड ८१ लाख र जगेडा तथा संचितकोष २३ अर्ब ५९ करोड ७९ लाख ऋणात्मक थियो ।

आव २०७२/७३मा ८ अर्ब ८९ करोड खुद घाटामा र जगेडा तथा संचित कोष ३४ अर्ब ६० करोड ८५ नोक्सानीमा रहेको प्राधिकरणमा घिसिङ कार्यकारी निर्देशक भएपछिका आवहरुमा फड्को मार्दै खुद नाफा उकालो लागिरहेको छ ।

ऋणात्मक रहेको संचित कोष धनात्मकतर्फ अघि बढिरहेको छ । प्राधिकरणले आव २०७३/७५ र २०७४/७५ मा खुद नाफा क्रमशः १ अर्ब ४६ करोड ७३ लाख र २ अर्ब ८४ करोड ८१ लाख आर्जन गरेको थियो ।

आव २०७२/७३ मा २५.७८ प्रतिशत रहेको विद्युत् चुहावट आव २०७५/७६मा आईपुग्दा १५.३२ प्रतिशतमा झरेको छ । घिसिङले निर्देशक हुँदा विद्युत्भार कटौतीको अन्त्य गर्ने, प्राधिकरणलाई नाफामा लैजाने र मुलुकलाई विद्युत्मा आत्मनिर्भर बनाउने मुख्य तीनवटा प्रतिबद्धता जनाएका थिए ।

प्राधिकरणले आव २०७५/७६ मा ३८ अर्ब ८९ करोड ६३ लाख बराबरको विद्युत् खरिद गरेको छ भने विद्युत् बिक्रीबाट ६६ अर्ब ६१ करोड २९ लाख आम्दानी गरेको छ ।

आव २०७२/७३ मा विद्युत् चुहावट २५.७८ प्रतिशत रहेकोमा अहिले घटाएर १५.३२ प्रतिशतमा झारिएको छ । एक प्रतिशत विद्युत् चुहावट घटाउँदा करिब ७० करोड प्राधिकरणलाई फाइदा हुन्छ ।

आव २०७४/७५मा यस्तो आम्दानी ५५ अर्ब ३५ करोड ८२ लाख थियो । विद्युत् खरिदमा ३४ अर्ब १३ करोड खर्च भएको थियो । प्राधिकरणले विद्युत् आयोजनाको १ अर्ब ५० करोड १७ लाख रोयल्टी सरकारलाई बुझाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here