‘रेनकोट र प्लास्टिकलाई पीपीई बनाएका छौं’- डा. गगन चौधरी

डा. गगन चौधरी
प्राथमिक स्वास्थ्य केन्द्र, दोधारा

माहाकाली नगरपालिकाको एक मात्र प्राथमिक स्वास्थ्य केन्द्रमा यतिबेला भ्याई नभ्याई छ । केन्द्रमा एक मात्र डाक्टरको रुपमा मेडिकल अफिसर डा. गगन चौधरीलाई चौबिसै घण्टा बसेर काम गर्नु पर्ने अवस्था छ ।

देश समृद्धीको बाजा घन्कीरहेको बेला माहाकाली नगरपालिकाका जनताले अझैसम्म अधिकांश स्वास्थ्य सुबिधाबाट बन्चित छन् ।

प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा डाक्टर बस्न नमान्ने कयौं उदाहरणहरु छन् ।

तर केही वर्षदेखि माहाकाली नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर गगन चौधरी कार्यरत छन् ।

लगनशिलत डाक्टर चौधरी बिश्वमा त्रासद्धी मच्चाएको नोवेल कोरोनाभाइरसको बेला माहाकाली नगरपालिकामा छन् ।

अहिले माहाकाली नगरपालिका कोरोनाभाइरसको उच्च जोखिममा रहेको मान्न सकिन्छ। भारतसंग जोडिएको झण्डै ३५ किलोमिटरको खुला सिमा क्षेत्रमा भारत लगाएत अन्य देशबाट घर फर्किने नेपालीको लर्को लागेको छ ।

छिमेकी राष्ट्र भारतमा कोरोनाभाइरसको संक्रमणले मर्नेको संख्यामा बृद्धि हुदै छ । देशमा लकडाउन पछि माहाकाली नगरपालिका क्षेत्रमा बसोबास गर्ने तथा भारत लगाएत अन्य मुलुकबाट घर फर्किनेको संख्या झण्डै १५ सय पुगेको छ ।

भारत लगाएत अन्य देशबाट भाइरसको संक्रमण माहाकाली नगरपालिकामा नभित्रिएको भन्न सकिन्न । प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा रुघा र खोकी, ज्वरो लगाएतका बिरामी दिनदिनै बढ्दै गएको छ । केन्द्रमा थोरै जनशक्ती भएतापनि नगरबासीलाई सक्दो स्वास्थ्य सेवा दिने प्रयत्न भएको छ ।

यस क्रममा माहाकाली नगरपालिकास्थित स्वास्थ्य केन्द्र दोधाराका मेडिकल अफिसर डा. चौधरीसंग पत्रकार पप्पु गुरुङ्गले गरेको छोटो कुराकानी:

यो ठाउँ निकै जोखिमपूर्ण छ। १२ वटा अनौपचारिक नाका छन्। मान्छेहरू आउने जाने ठप्प भएको छैन। चाँदनी र दोधारामा १९ जना मान्छे क्वारेन्टिनमा छन्। तर ती क्वारेन्टिन पनि आश्रयस्थल जस्ता मात्र छन् ।

सबैभन्दा ठूलो समस्या पीपीईकै छ। सरकारले पठाएको पीपीई डिस्पोजेबल रहेछ। एकपटक प्रयोग गरेपनि पुन: प्रयोग गर्न नमिल्ने।

हामीले रेनकोटलाई पीपीई बनाएका छौं। थाहा छैन कति सुरक्षित छ। त्यसको बाहिरपट्टि प्लास्टिक प्रयोग गर्छौं। रेनकोटलाई स्ट्रेरलाइजबाट पुन: प्रयोग गरेका छौं।

वडामा महिला स्वास्थ्य स्वयंसेविका परिचालन भैसकेका छन्। हामीले स्वास्थ्य केन्द्रबाट मोबाइल हेल्थ टिम परिचालन गरेर ठाउँठाउँमा पुगेर ज्वरो नाप्ने गरेका छौं।

स्वास्थ्य संस्थामा बिरामी आउने घटेका छैनन्। दैनिक १ सय २५ जनासम्म बिरामी आउँछन्। हामीले प्रहरी परिचालन गरेर छुट्टाछुट्टै टिम बनाएर जाँच्ने काम गरिरहेका छौं। त्यस्तोमा पनि कोही कोरोना संक्रमित भेटिए सर्ने सम्भावना भने छ।

स्थानीय मान्छेहरूमा बुझ्ने मान्छे कम छन्। ज्वरो नाप्ने इन्फ्रारेड थर्मोमिटर भने नगरपालिकाले ल्याएको छ। हामीले घरमै बसेर स्वास्थ्य सल्लाह दिन हेल्पलाइन समेत सञ्चालन गरेका छौं।

स्वाब टेस्टका लागि जम्मा गर्ने किट छैनन्। कतार एयरवेजबाट आएका एकमा कोरोना देखिएपछि सरकारले कन्ट्याक्ट ट्रेसिङ अगाडि बढाएको थियो। महाकाली अस्पतालबाट प्राविधिक आएर स्वाब टेस्ट गर्न लगेका थिए।

भारतबाट आएका व्यक्तिमा कोरोना भएको भए फैलने सम्भावना व्यापक छ। मान्छेहरू अचम्मका छन्। धेरै मान्छे अरूलाई सिकाउने छन् तर आफू पालना नगर्ने गर्छन्। लकडाउन भए पनि जनप्रतिनिधिका नातेदारलाई लकडाउनले नछुने रहेछ। उहाँहरू डुलिरहनु हुन्छ।

लकडाउन व्यवस्थित हुन सकेको छैन। अहिलेसम्म भारतबाट आएकाहरूमा पनि लक्षण देखिएको छैन। तर मान्छेहरू छिर्ने ठाउँ धेरै छ। एक सय सुरक्षाकर्मीले २४ सै घण्टा ४५ वर्गकिलोमिटर क्षेत्र निगरानी सम्भव नुहने रहेछ। स्वास्थ्यकर्मी जोखिममा छन्। रेनकोट र प्लास्टिकले कति धान्छ थाहा छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here