चामलको मूल्य ७ वर्षयताकै उच्च, एक हप्तामै १२ प्रतिशत महंगियो

काठमाडौं, २७ चैत । कोरोनाभाइरसका कारण एशियाली देशहरुमा चामल र गहुँको मूल्य महंगियो छ ।

पर्याप्त आपूर्तिका बाबजुद भण्डारण अत्याधिक रुपमा भइरहेकाले चामलको मूल्य अत्याधिक रुपमा बढेको हो । योसँगै एशियामा चामलको मूल्य ७ वर्षयताकै उच्च स्तरमा पुगेको छ ।

कोरोना भाइरसको महामारीका कारण आयातकर्ताहरू चामल भण्डारण बढाउन लागेका छन् भने निर्यातकर्ताहरूले निर्यातमा कडाइ गरेका छन् ।

यस्तोमा माग बढेसँगै मूल्य पनि बढेको हो । थाइ चामल निर्यातकर्ताहरुको संगठनका अनुसार ५ प्रतिशत टुक्रिएको चामलको मूल्य मार्च २५ देखि अप्रिल १ को बीचमा १२ प्रतिशतले बढेको छ ।

भारत र भियतनामबाट आपूर्तिमा समस्या भएका कारण थाई चामलको माग बढ्ने अपेक्षा पनि रहेको छ ।

रोयटर्सका अनुसार, अप्रिल २०१३ पछि चामलको मूल्य सबैभन्दा उच्च स्तरमा पुगेको हो ।

इन्टरनेशनल पोटेटो सेन्टर एशियाका रीजनल डाइरेक्टरका अनुसार, कोरोनाका कारण अरु क्षेत्रजस्तै कृषि क्षेत्र पनि नराम्रोसँग प्रभावित भएको छ ।

विश्वमा आपूर्ति हुने चामलको ९० प्रतिशत उत्पादन एशियामा हुने गर्दछ । लकडाउनका कारण कामदारहरु नभएकाले भारतका चामल व्यापारीहरुले आपूर्तिको नयाँ कन्ट्रयाक्ट लिइरहेका छैनन भने भियतनाम सरकारले पनि आपूर्ति घटाएको छ । जसका कारण चामलको मूल्य तीव्र रुपमा बढ्न पुगेको हो ।

विश्वभरमा चामलको मात्र नभई गहुँको मूल्यमा पनि उछाल आएको छ । उत्तरी अमेरिका र यूरोप सहित कयौँ देशहरुमा लकडाउनका कारण गहुँको माग बढेको छ । यस्तोमा मार्चको दोस्रो हप्तामा गहुँको मूल्यमा १५ प्रतिशतको बढोत्तरी आएको छ ।

विश्लेषकहरुका अनुसार आगामी दिनहरुमा गहुँ र चामलको मूल्य अझैँ महंगो हुनेछ । भियतनामले भने चामल निर्यातमा रोक नै लगाएको छ ।

मार्चमा मूल्य बढ्नु भन्दा अघि नै थाइल्याण्डमा चरम सुख्खा र एशिया एवम् अफ्रिकी आयातकर्ताहरुको मागमा भएको वृद्धिका कारण सन् २०१९ को अन्त्यतिर नै चामलको भाउ बढ्न थालेको थियो । भारत पछि थाइल्याण्ड विश्वको दोस्रो ठूलो चामल निर्यातकर्ता हो । भियतनाम चाँहि तेस्रो ठूलो निर्यातकर्ता हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here