सरकार ! विद्यार्थीका लागि खोई त राहत प्याकेज ?

रामकृष्ण थापा

-विश्व यतिबेला कोभिड–१९ (कोरोना भाइरस) को महामारीसँग जुधिरहेको छ । पछिल्लो तथ्याङ्कअनुसार संसारभर यो रोगबाट ज्यान गुमाउनेको संख्या १ लाख ७ हजार माथि पुगिसकेको छ ।

साढे १७ लाख भन्दाबढी मानिसहरूमा यो रोगको संक्रमण पुष्टि भई मृत्युसँग पौंठेजारी खेलिरहेका छन् भने करीब ४ लाखको हाराहारीमा निको भएर घर फर्किएका छन् ।

यो प्राणघातक रोगबाट संसारलाई नै तहसनहसको स्थितिमा पु¥याएको छ । सर्वशक्तिमान देशका नागरिकहरूसमेत यसको सन्त्रासबाट छटपटाहटमा छन् भने समग्र मानव जीवनमाथि नै प्रश्न उठिरहेको बेलामा नेपाल पनि यसबाट अछुतो रहन सकेको छैन ।

यद्यपि सरकारले चालेको पूर्ण सतर्कताको कदम, स्वास्थ्यकर्मीको साहस, सुरक्षाकर्मीको निडरता अनि नागरिकको साथ र समर्थनका कारण आजको दिनसम्म हाम्रो देशमा संक्रमितको संख्या न्यून छ र यो संख्या चाँडो घटोस् भनेर हामी सबै कामना गरिरहेका छौँ ।

त्यतिमात्र होइन रोगलाई परास्त गर्न यतिबेला हामी लकडाउन (बन्दाबन्दी)को अवस्थामा घरभित्रै बस्न बाध्य छौँ । सरकारले आफ्ना गतिविधिहरू नियमित सञ्चालन गरिरहेको छ । खान नपाउनेहरूका लागि राहत तथा अन्य विभिन्न प्याकेजहरू घोषणा गरी अविभावकीय भूमिका निर्वाह सरकारले गरिरहेको छ ।
नागरिकहरूका पनि आ–आफ्नै स्वाभाविक चासो, चिन्ता, आवश्यकता र मागहरू छन् ।

व्यवसायीलाई व्यवसाय बन्द भएको, डेरामा बस्नेलाई भाडा तिर्न नपाएको, दैनिक गुजारा चलाउँदै आएकाहरूलाई बिहानबेलुका छाक टार्नुलगायत थुप्रै समस्याहरू छन् । त्यसो त सरकारले केही विषयहरूमा ध्यानाकर्षण भएर जस्तो घरभाडा नलिने, विभिन्न करहरू छुट गर्ने, निजी विद्यालयका सञ्चालकहरूले १ महीनाको शुल्क मिनाहा गर्नेलगायत विषयमा सरकारले निर्देशन पनि दिएको छ ।

तर, एकजना साधारण विद्यार्थीहरूको नजरबाट हेर्दा शिक्षाको क्षेत्रमा सरकारले अझै मिहिन ढंगले ध्यान नदिएको स्पष्ट देखिन्छ । शिक्षाको क्षेत्रमा सरकारले जे–जे निर्णय गरी निर्देशनहरू दिएको छ, त्यो पर्याप्त छैन । जसका कारण आम विद्यार्थीहरू लकडाउन पछि पनि निरन्तर अध्ययनमा जोडिन मुश्किल पर्ने देखिन्छ ।

लकडाउनका कारण आम मानिसमा गम्भीर प्रभाव परिरहेको छ । त्यसमा पनि काठमाडौं लगायत देशका विभिन्न ठाउँमा भाडामा बसेर आफ्नो अध्ययनलाई जारी राखेका विद्यार्थीहरू बढी नै समस्यामा छन् । राज्यले पनि त्यति ख्याल नगरेको यो अवस्थामा आगामी दिनमा आफ्नो अध्ययनको कामलाई कसरी निरन्तरता दिने भन्ने विषयमा उनीहरू चिन्तामा छन् ।

देशभरी करीब १ हजार भन्दाबढीको संख्यामा रहेका त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पस र करीब १ हजार ६०० भन्दाबढी सामुदायिक क्याम्पसहरू छन् । ति क्याम्पसको अवस्थालाई हेर्न हो भने गरीब तथा जेहन्दार अनि अत्यन्तै बिकट ठाउँबाट आएर पढ्ने विद्यार्थीको संख्या अधिक छ ।

यसर्थ कम्तिमा ३ महीनाको क्याम्पस फी छुट गरिनु आजको आवश्यकता हो । त्यस्तै आउँदै गरेको रास्ट्रिय परीक्षा बोर्डअन्तर्गत कक्षा ११ र १२ को परीक्षामा क्याम्पसले सबै पैसा तिर्नुपर्ने रुलिङ गरेको छ । यस्तो अवस्थामा मुखैमा आएको परीक्षाबाट धेरै विद्यार्थीहरू बञ्चित हुने खतरा बढ्दै गएको छ । यसतर्फ सरकारले विशेष ध्यान दिनु जरुरी छ ।

शैक्षिक संस्था (क्याम्पस)हरूले राखेका कतिपय अडानले गर्दा धेरै विद्यार्थीहरू पढ्नबाट बञ्चित हुने अवस्था सिर्जना स्वयं क्याम्पसहरूकै तर्फबाट भइरहेको छ । यो आम विद्यार्थीका लागि अत्यन्तै दुःखद विषय हो । आम विद्यार्थीहरूलाई राहतस्वरूप कम्तिमा ३ महीनाको फी मिनाहा गर्नेगरी सरकारले विशेष प्याकेज घोषणा गरोस् भन्ने आम विद्यार्थीको आवाज छ ।

क्याम्पसहरूमा हरेक विद्यार्थीको हक र अधिकारका लागि सधैँ अग्रमोर्चामा रहने कतिपय विद्यार्थीहरू लकडाउनको कठिन परिस्थितिमा पनि विभिन्न माध्यममार्फत उनीहरूकै समीपमा छन् र उनीहरूको समस्या, गुनासा र अभाव आनि आवश्यकताबारे सूचनाहरू बटुलिरहेका छन् ।

यही क्रममा विद्यार्थीहरूबाट आएका अनेकन भावनालाई सरकारले चाँडो सम्बोधन गरी लकडाउनमा रहेका विद्यार्थीलाई चिन्तामुक्त गर्नु जरुरी छ । यसतर्फ सम्बन्धित निकायले ध्यान पुर्याईदिन विनम्रतापूर्वक अनुरोध गर्दछु ।

थापा अनेरास्ववियू कोटेश्वर बहुमुखी क्याम्पस काठमाडौंका प्रतिनिधि हुन् ।

1 COMMENT

  1. बिश्वब्यापी रुपमा फैलिरहेको महामारी COVID-19 भाईरसले नेपाल-नेपाली पनि प्रत्यक्षद रुपमा लडिरहेका छौँ । यस बेला सरकारले लिएको निर्णयलाई कुनै तर्कहिन भएर नियम पालना गर्नु र भगवान सामु रामराम भन्नू बाहेक केही उपाय छैन जहाँ देशलाई शोकबाट बचाउन सरकारको निर्णय मानै पर्छ पालन गर्नु हुन्छ भन्ने बिश्वास पनि छ।
    यस महामारीको कारण सम्पुर्ण देश/बिदेश अत्यन्तै शोकमा छ यसमा नेपाल पनि हो यसै कारण पर्न गएको समस्याले विशेष 🤔 बिहान काम गरि बेलुका हातमुख कसरी जोड्ने दिनमा दुई पटक कसरी चुलो बाल्न धौधौ पर्ने र म जस्ता लाखौं विद्यार्थी जो विभिन्न जिल्लाबाट भबिस्यमा केही गर्छु भन्ने लक्ष्यका साथ अध्ययन गर्ने जो डेरामा छौँ हामी प्रती सरकारले न्यायीक रुपमा राहत पुगे जस्तो लाग्दैन जहाँ संचार माध्यमबाट दिनानुदिन लाखौंको सम्पती हुनेले कुनै प्रक्रिया बिहिन राहत पाएको तर साच्चै दिनमा दुई पटक चुलो नबल्ने परिवार हप्तौं कुर्नु परेको सुन्दै देख्दै आएका छौँ यस बिषयमा सरकार,संबंधित निकाय, विभिन्न पार्टी प्रतिनिधि #किन_मौन_किन_चुपचाप? यस विषयमा सम्बन्धित निकाय,सरकारको ध्यान जाओस् चाडो भन्दा चाडो ।
    हामी जस्ता विद्यार्थीलाई कि र टोल-टोल सम्बन्धित निकाय गएर न्यायीक रुपमा राहतको ब्यवस्थापन/व्यवस्था गरियोस् कि त हामी लाई गाउँ-घर सम्म पुग्ने चाडैं मिलाईयोस यस बिषयमा ध्यान जाओस् ।
    यस गुनासो प्रती सम्बन्धित निकायको ध्यान सहित सुनुयायी होस यहि कामना पनि गुनासो पनि । धन्यवाद ।
    #बिकाश_खड्का
    #Bachelor_Student- koteshwor multiple campus Kathmandu
    #तिनकुने_काठमाडौ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here