निर्माण क्षेत्रका २० लाख मजदुर प्रभावित, ५ हजार आयोजना अन्यौलमा

काठमाडौं, २० बैशाख । कोरोनाभाइरस महामारीका कारण निर्माण क्षेत्रमा काम गर्ने करीब २० लाख श्रमिक र कर्मचारी प्रभावित भएको नेपाल निर्माण व्यवसायी महासंघले बताएको छ ।

महासंघका अध्यक्ष रबि सिंहका अनुसार निर्माणको क्षेत्रमा कोरोना संकट सुरु हुनुअघि करीब १५ लाख दैनिक ज्यालादारीमा काम गर्ने मजदुर सहित २० लाख मानिस आबद्ध रहेका थिए ।

त्यसमध्ये नगण्य संख्यामा काममा छन भने बाँकी झण्डै बेरोजगारीको अवस्थामा घरमै बन्दाबन्दीमा रहेका छन् ।

त्यसैगरी, ८ खर्ब रुपैयाँ बराबरका ५ हजार वटा आयोजनाहरु महामारीका कारण प्रभावित भएका छन् । केही ठूला र राष्ट्रिय गौरवका आयोजनाबाहेक सबै निर्माण कार्य ठप्प छन् ।

हालको संकटले अधिकांश निर्माण आयोजनाहरु अवरुद्ध भएकोले ती सबै मजदुरहरु प्रत्यक्षरुपमा प्रभावित भएको, विकास निर्माणका कामको मुख्य सिजनका रुपमा रहेको हालको समयमा निर्माण कार्य प्रभावित भएको सिंहले बताए ।

नेपाल इन्स्टिच्यूट फर अर्बन एण्ड रिजनल स्टडिज (निअर्स)को आयोजनामा शुक्रबार अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा विकास निर्माणका क्षेत्रमा कोभिड –१९ को प्रभाव र यस क्षेत्रको पुनरुत्थान विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अधिकांश मजदुरहरु कृषक रहेकाले कम्तिमा कार्तिक २०७७ अगाडी निर्माण कार्य सुचारु गर्न नसकिने जानकारी दिए ।

सरकारको नयाँ बजेटमा स्थानीय तह केन्द्रित हुनेगरी साना तर धेरै योजनामार्फत गाउँमै रोजगारी सिर्जना गर्न सक्ने वातावरण बनाउन सिंहले सरकारलाई सुझाव दिए ।

निर्माण क्षेत्रमा भारतीय र चिनिया कामदारहरु ठुलो संख्यामा प्रयोग हुँदै आएकामा अब नेपाली कामदारबाट विदेशी कामदारहरु प्रतिस्थापन गर्न समेत सकिने उनको भनाइ थियो ।

जलविद्युत क्षेत्रमा कार्यरत् निर्माण व्यवसायी किरण मल्लले आफूहरुले लकडाउनको अवधिमा निर्माण कार्य सुचारु गर्न प्रयास गरेको भएतापनि निर्माण मजदुरकै कारणले सुचारु गर्न नसकेको जानकारी दिए ।

वर्षायाम तथा चाडबाड़का कारण यस बर्ष कार्तिकअघि विकास निर्माणका काम अगाडी बढाउन निकै कठिन रहेको उनको भनाइ थियो ।
उक्त कार्यक्रममा इन्जिनियरिंग अध्ययन संस्थानका सहायक प्राध्यापक डा. अजयचन्द्र लालले मजदुरको पारिवारिक आर्थिक कारण लगायतका कारणले भने कामदारहरु छिटै काममा फर्किन सक्ने झिनो सम्भावना पनि रहेको बताए ।

त्यसैगरी, शहरी विकास मन्त्रालयका सहसचिव नवराज प्याकुरेलले यस कठिन घडीमा सरकार एक्लैले सबै काम गर्न सक्ने अवस्था नरहेकाले सबैको सहयोग अपेक्षा गरेको बताए ।

निअर्सका क्षेत्रीय योजनाकार डा. सगर प्रसाईले कोभिड –१९ को यसक्षेत्रमा परेको प्रभाव चालु आर्थिक बर्षमामात्र नभई आउँदो आर्थिक बर्षमा पनि देखापर्ने बताए ।
मजदुरहरु गाउँ फर्किएको यो समयमा ग्रामिण रोजगारी र उत्पादनको वृद्धि गर्ने, निर्माण सामग्रीको आपूर्ति रोकिएकाले स्थानीय उत्पादकहरुलाई उत्पादनको वृद्धि गर्ने समेत ठुलो अवसर रहेको उनको धारणा थियो ।

निअर्सका अध्यक्ष तथा राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डा. जगदिश चन्द्र पोखरेलले कोभिडको संक्रमणको यस अवस्था र लकडाउन पछिका अवस्थामा विभिन्न क्षेत्रमा पर्न सक्ने प्रभावका विभिन्न पक्षमा छलफल गर्दै तयारी गर्नु पर्ने देखिएकाले निअर्सले अन्तरक्रियाको सुरुवात गरेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here