नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौं, ९ साउन । विश्व बैंकले पछिल्लो पटक जारी गरेको ‘नेपाल डेभलपमेन्ट अपडेट’ अध्ययन प्रतिवेदनमा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमै सीमित रहने प्रक्षेपण गरेको छ ।

चालू आर्थिक वर्षमा सरकारले ७ प्रतिशत महत्वकांक्षी लक्ष्य राखेपनि विश्व बैंकको पछिल्लोे प्रक्षेपण २.१ प्रतिशतमै सीमित हुने आएको हो ।

कोरोना महामारीका रुपमा फैलिएको कोभिड-१९ र त्यसको संक्रमणको जोखिमबाट जोगिन गरिएको लकडाउनबाट समस्यामा परेको अर्थतन्त्रलाई थप आर्थिक गिरावटवाट जोगाउन सरकारले चालेका प्रयत्नका वावजुद आर्थिक वृद्धि न्यून हुने प्रक्षेपण गरेको हो ।

बैंकको प्रतिवेदनका अनुसार यसवर्ष पर्यटन क्षेत्रमा कम मात्रै आर्थिक क्रियाकलाप हुनेछ र विप्रेषणको प्रवाह पनि औसत रहनेछ ।

त्यसैगरी आपूर्ति श्रृखलामा भएको अवरोधले औद्योगिक र कृषि उत्पादनमा कमी आउने छ । पातला आर्थिक क्रियाकलाप र इन्धनको मूल्यका कारण आयात पनि कम र संकट पूर्वको अवस्थाभन्दा पनि निम्न तहमा पुग्नेछ जसले गर्दा चालु घाटा कुल ग्राहस्थ्य उत्पादन (जिडिपी) को ६.५ प्रतिशतले साँघुरिने अनुमान छ । साथै कम आयातका कारण राजस्व संकलन पनि सिमित हुनेछ ।

चालू आवको बजेटमार्फत घोषणा भएका भन्सार दर समायोजन जस्ता विविध वित्तीय पहलले राहत र पुनरुत्थानमा बढेको खर्च धान्न टेवा पुग्ने अपेक्षा गर्न सकिने बैंकको ठहर छ । यस्तै वित्तीय घाटा सिमान्तकृतरुपमा घटेर जीडीपीको ६.६ प्रतिशत रहने अनुमान छ ।

उत्थानशील पुनःप्राप्ति र समावेशी वृद्धिका लागि व्यावसायिक फर्म र अनौपचारिक क्षेत्रका कामदारका लागि आर्थिक सहयोगका उपाय अवलम्बन गर्नु जरूरी रहेको बैंकका वरिष्ठ अर्थशास्त्री तथा डेभलपमेन्ट अपडेटका लेखक डा. केने इजमेनारीले उल्लेख गरे ।

प्रतिवेदनले स्वास्थ्य, सामाजिक सहायता, आर्थिक सहायता र अन्तरसम्बन्धित प्राथमिकता अनुरूप दीगो वित्तिय स्थायित्व तथा डिजिटल र हरित अर्थतन्त्र सहितका चार स्तम्भहरुलाई आधार मानेको छ ।

जोखिमपूर्ण समयमा सामाजिक सुरक्षा बढाउँदै सुदृढ स्वास्थ्य सेवा प्रदान गर्न प्रणालीमा सुधार र भविष्यमा त्यस्ता समस्याहरु नदोहोरीउन भन्नका लागि सामाजिक दर्ता प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने पक्ष पनि प्रतिवेदनमा उल्लेख छन् ।

त्यसैगरी विद्यार्थीहरु स्कूल फर्कने उपयुक्त वातावरण निर्माण गर्नका लागि विद्यालयको सरसफाईमा ध्यान दिनुपर्ने, स्वास्थ्य जाँच सहितको स्वास्थ्य सम्बन्धी प्रोटोकललाई मध्यनजर गर्नुपर्ने, र खानेपानी तथा सरसफाइ मा सचेतता अपनाउनुपर्ने हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here