अन्तर्राष्ट्रिय उडान: कुन गन्तब्यका लागि कसले मागे कति अनुमति ?

काठमाडौं, २० साउन । सरकारले १ भदौबाट अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई व्यवसायिक उडानको अनुमति दिने घोषणा गरेसँगै उडानका लागि नेपालका दुईसहित १२ वटा वायुसेवा कम्पनीले अनु्मति मागेका छन् ।

नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार साउन १९ सम्म १२ वटा वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडानका लागि अनुमति मागेका हुन् ।

कुन कम्पनीलाई कुन गन्तब्यमा कतिसम्म उडान अनुमति दिने भन्ने निर्णय नभएको उड्डयन प्राधिकरणले जनाएको छ । काठमाडौंलाई विभिन्न मुलुकका १८ शहरमा जोड्ने गरी १२ वटा कम्पनीले तयारी अवस्थामा रहेका छन् ।

अन्तर्राष्ट्रिय उडानका लागि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र निजी क्षेत्रको हिमालय एयरलाइन्स, भारतको इण्डिगो एयर, चीनकोे एयर चाइना र चाइना साउदर्न, ओमानको सलाम एयर, कुवेतको जजीरा एयर, संयुक्त अरब इमिरेट्स (यूएई) को फ्लाई दुबई, मलेसियन एयर, मालिन्दो एयर, एयर अरेबिया र टर्कीको टर्किस एयरलाइन्सले नियमित उडानका लागि प्राधिकरणसँग अनुमति मागेका छन् ।

सबैभन्दा धेरै अनुमति माग्नेमा नेपाल एयरलाइन्स

यसमध्ये सबैभन्दा धेरै नेपाल एयरलाइन्सले ५७ वटा उडानका लागि अनुमति माग गरेको छ ।

नेपाल एयरलाइन्सले दिल्ली १४, बैंलौर ३, मुम्बई ७, ग्वाङझाउ ३, दुबई ७, दोहा ७, क्वालालाम्पुर ७, नारिता ३, बैंकक ३ र हङकङ ३ उडानका लागि अनुमति मागेको छ ।

दोस्रो स्थानमा एयर अरेबियाले सातामा आबुधावी ७, सारजाहा २८ गरि ३५ उडानका लागि अनुमति मागेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।हिमालय एयरलाइन्सले सातामा चोङगिङ १, दोहा ५ , आवुधावी ४, दमाम ७ क्वालालाम्पुर ४ गरि २१ उडानका लागि अनुमति मागेको छ ।

त्यस्तै टर्किस एयरलाइन्सले इस्तानबुलको लागि १ मात्र उडानको अनुमति मागेको छ । सलाम एयरले मस्कटको लागि ७, इण्डगो एयरले दिल्लीको लागि ७,चाइना साउदर्नले ग्वाङझाउको लागि १, एयर चाइनाले छेन्दुको लागि १, जजिरा एयर कुवेतको लागि २ , फ्लाई दुबइले दुबईको लागि ७, मलेसिया एयरलाइन्सले क्वालालाम्पुरको लागि ५ र मालिन्दो एयरले क्वालालाम्पुरको लागि १४ उडानको लागि अनुमति मागेको छ ।

बन्दाबन्दीपछि स्वास्थ्य प्रोटोकल पालना गर्दै उडान सञ्चालनका लागि सरकारले स्वीकृति दिएपछि मात्रै विदेशी एयरलाइन्सले व्यावसायिक उडान गर्न पाउछन् ।

विश्व स्वास्थ्य सङ्गठनको स्वास्थ्य मापदण्ड, अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को मार्गनिर्देशनलगायत आधारमा नेपालको नियामक प्राधिकरणले स्वास्थ्य प्रोटोकल बनाएको छ । नेपालमा उडान गर्न चाहने सबै एयरलाइन्सले उक्त मापदण्डमा रहेको उडान सञ्चालन गर्नुपर्ने हुन्छ ।

यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन नेपालीसहित ३० वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका थिए । सामान्य अवस्थामा अन्तर्राष्ट्रियतर्फ उडान र अवतरण गरी सरदर १०० उडान हुने गरेको थियो ।

सरकारले कोभिड- १९ रोकथामका लागि गत चैत ११ गतेदेखि साउन ६ गतेसम्म नेपालभर बन्दाबन्दी लागू गरेको थियो । उक्त अवधिमा नेपालमा आन्तरिक तथा अन्तर्राष्ट्रियतर्फ व्यावसायिक हवाई उडान १ भदौदेखि खोल्ने निर्णय गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here