ल्यापटप किन्दा के कुरामा ध्यान दिने ? कुन ब्राण्डको मुल्य कति ?

काठमाडौं, २४ बैशाख । कामकाजी मानिसहरु होउन् वा विद्यार्थीहरु सबैको लागि अत्यावश्यक ग्याजेट बनेको छ, ल्यापटप ।

सूचना र प्रविधिको विकाससँगै ल्यापटप मानिसको दैनीक जीवनको अभिन्न अंग बन्दै गइरहेको छ ।

मानिसको हातहातमा स्मार्टफोन पुगेसँगै ल्यापटपको प्रयोग घट्ने धेरैले अड्कल गरेपनि ल्यापटपको लोकप्रियता र व्यापार घटेको छैन ।

व्यावसायीक कामहरुको लागि आजकाल धेरैले डेस्कटप कम्युटर भन्दा ल्यापटप नै रोज्छन् । बोकेर हिड्न पनि सहज हुने र बिजुली नभएको बेलामा पनि काम गर्न मिल्ने भएकाले ल्यापटपको प्रयोग बढ्दो छ ।

बजारमा विभिन्न ब्राण्डका विभिन्न मोडल र क्षमताका ल्यापटप पाइन्छन् । काम र प्रयोगको प्रकृतिअनुसार विभिन्न खालका ल्यापटप उपलब्ध छन् ।

व्यावसायीक कामहरु गर्नको लागि उच्च क्षमता र गतिका ल्यापटप छन् भने विद्यार्थीहरुको लागि इन्टरनेट चलाउन र अध्ययनको लागि मध्यम क्षमताका ल्यापटप पनि पाइन्छन् ।

ल्यापटप किन्दा के कुरामा ध्यान दिने ?

ल्यापटप किन्ने सोचमा हुनुहुन्छ भने तपाईंले त्यसको डिजाइन र लुक्समा भन्दा पनि प्राविधिक पक्षमा ध्यान दिनुपर्छ ।
विशेषगरी प्रोसेसर, र्याम, बेट्रीलाइफ, स्टोरेज स्क्रिन आदी प्राविधिक पक्षमा विचार गरेर आफ्नो बजेट अनुसारको उपयुक्त ल्यापटप किन्नुपर्छ ।

प्रोसेसर भनेको ल्यापटप वा कम्प्युटरको मुख्य इन्जिन हो । अहिले बजारमा आइ थ्री, आइ फाइभ र आइसेभेन गरी तीन थरी प्रोसेसरयुक्त ल्यापटप पाइन्छन् ।

उच्च ग्राफिक्सयुक्त सफ्टवेयरहरु चलाउनुपर्छ भने आइसेभेन प्रोसेसर युक्त ल्यापटप नै किन्नु राम्रो हुन्छ जुन महंगो हुन्छ ।
तर, तपाईंको बजेट कम छ र इन्टरनेट चलाउने, माइक्रोसफ्ट वर्ड, एक्सेलमात्रै चलाउनुहुन्छ वा फिल्म हेर्नुहुन्छ भने आइथ्री वा आइफाइभ ल्यापटप लिएपनि हुन्छ ।

पुतलीसडक स्थित नेपटेक ट्रेड कन्र्सनका व्यावसायी सुरज चापागाईका अनुसार व्यावसायीक कामहरु गर्नु छ भने आइ सेभेन प्रोसेसरयुक्त ल्यापटप उपयुक्त हुन्छ भने विद्यार्थीहरुका लागि आइ फाइभ प्रोसेसरयुक्त ल्यापटप उपयुक्त हुन्छ ।

ल्यापटप किन्दा अर्को ध्यान दिनुपर्ने महत्वपूर्ण कुरा भनेको यसको र्याम हो । ४ देखि ८ जिबीको र्याम भएका मध्यम स्तरका ल्यापटप विद्यार्थीहरुका लागि उपयुक्त हुने चापागाँई बताउँछन् ।

त्यस्तै स्टोरेज, बेट्रीलाईफ र स्क्रिनको साइज र रिजोलुसनमा पनि ध्यान दिनुपर्छ । तपाईंलाई धेरै ठूला ठूला फाइलहरु राख्नुपर्छ भने हार्ड ड्राइभको क्षमता धेरै भएको ल्यापटप लिनुहोस् ।

सबैको लागि बेट्रीलाईफ धेरै भएको ल्यापटप उपयुक्त हुन्छ । त्यस्तै स्क्रिनको साइज र रिजोलुसनमा पनि ध्यान दिनुहोस् । ल्यापटप लिँदा एचडी क्वालिटीको हाइ रिजोलुसन युक्त ल्यापटप लिनु राम्रो हुन्छ ।

नेपालमा कस्ता ल्यापटप धेरै बिक्री हुन्छन् ?

नेपालमा विभिन्न ब्राण्डका ल्यापटप बजारमा पाइन्छन् । एप्पलको म्याकबुक, डेल, तोसिबा, एचपी, सामसुङ, लेनोभो, एसर, सोनी लगायतका ब्राण्डका ल्यापटप सजिलै किन्न सकिन्छ ।

ती मध्ये पनि खासगरी डेल, लेनोभो, एचपी र एसर ब्राण्डका ल्यापटपहरुको माग र बिक्री धेरै हुने गरेको कुरा व्यावसायीहरु बताउछन् । ती मध्ये पनि बिक्रिको हिसाबले अमेरिकी कम्प्युटर निर्माता डेलका ल्यापटप अग्र स्थानमा रहेको छ ।

पुतलीसडकमा ल्यापटपको बिक्री वितरण गर्दै आएका म्याक्स ईन्टरनेशनलका रविन खनालका अनुसार उनको पसलबाट मात्रै एक महिनामा डेल ब्राण्डका ९० वटा सम्म ल्यापटपहरु बिक्री हुने गरेको छन् ।

आजभोली अनलाईन बुकिङ्गबाट हुने व्यापारका कारण आफ्नो व्यवसायमा प्रभाव परेको व्यावसायीहरुको गुनासो छ ।

आईटी ग्लोबलका व्यवसायी प्रकाश कुमार कार्की भन्छन्, ‘अनलाईन व्यवसायको कारण ल्यापटप व्यावसाय कम भएको छ, पहिले महिनामा ५० देखि ६० वटासम्म ल्यापटपहरु बिक्री हुन्थ्यो तर, अहिले महिनामा ४० वटाको हाराहारीमात्रै बिक्री हुन्छ ।’

कुन ब्राण्डको कति मुल्य ?


नेपालमा डेल ब्राण्डका ल्यापटपको मुल्य ४० हजार रुपैयाबाट सुरु भई २ लाख ५३ हजार ५ सय रुपैयाँसम्म रहेको छ ।

त्यस्तै, लेनोभो ब्राण्डका ल्यापटपहरुको मुल्य ३३ हजार रुपैयाँ देखि सुरु भई १ लाख १० हजार रुपैयासम्म रहेको व्यावसायीहरु बताउँछन् ।

एचपी ब्राण्डका ३७ हजार ९ सय ९० रुपैयाँ देखि १ लाख २७ हजार ५ सय सम्मका ल्यापटपहरु पाइन्छन् भने, एसर ब्राण्डका ५० हजार रुपैयाँ देखि १ लाख रुपैयाँसम्म रहेको छ ।

सबैभन्दा धेरै बिक्ने डेलको आई फाइभ एचडी ल्यापटपको मुल्य ६२ हजार रुपैयाँ रहेको छ भने फुल एचडीको मूल्य ६९ हजार रुपैयाँ रहेको छ । त्यस्तै डेल आई सेभेन ल्यापटपको मुल्य ९५ हजारबाट रुपैयाँबाट हुने उनी बताउँछन् ।

नेपटेकका सुरज चापागाईका अनुसार डेल आई फाइभमा बेट्री ब्याकअप राम्रो, ४ जिबी र्याम, ५४ सय आरपिएम र टिएन प्यानल हुनुका साथै मुल्य पनि त्यति धेरै नभएको कारण धेरै मानिसहरुको पहिलो रोजाई बनेको हो ।

भिडियो इडिट गर्न साथै विभिन्न प्रकारका गेमहरु खेल्नको लागि पनि यो ल्यापटप सजिलो र आरामदायी हुनाको साथै ग्राफिक्सकार्ड समेत भएको कारणले यसको माग धेरै भएको उनको अनुभव छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here