तपाईं जहाँ जानुहुन्छ गुगलले ठ्याक्कै कसरी थाहा पाउँछ ?

काठमाडौं, २४ बैशाख । गुगलले तपाईंको यात्राको बारेमा वा तपाईं दैनिक कहाँ कहाँ जानुहुन्छ भनेर ठ्याक्कै कसरी थाहा पाउँछ त ?

गुगलले तपाईं अफिस कतिखेर पुग्नुभयो भन्ने पनि थाहा पाउँछ र तपाईंले कुन ठाँउमा कुन तस्वीर खिच्नुभयो भनेर ती तस्वीरहरुको प्रति समेत भण्डारण गरेर राख्छ ।

खासमा लोकेसन हिस्ट्री भिजुअलाइजर नामक टुलले गुगल डाटाको प्रयोग गरेर तपाईं जहाँ जानुहुन्छ त्यसको हिटम्याप बनाउँछ । यो खबर प्रकाशित भएपछि कसैले यसलाई रुचीपूर्वक लिएका छन् भने कसैले गुगलले निगरानी गरेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

जबसम्म तपाईंले आफ्नो लोकेसन हिस्ट्री सेटिङ परिवर्तन गर्नुहुँदैन प्रविधिको बादशाह कम्पनीले तपाईंको सबैकुरा थाहा पाइराख्छ ।

गुगलले यी सूचनाहरु तपाईंले गुगल म्याप वा अन्य गुगल एपहरु प्रयोग गर्नुभएको छैन भने पनि संकलन र भण्डारण गर्छ । कम्पनीका अनुसार यो व्यक्तिगत म्याप तपाईंले मात्रै देख्न सक्नुहुन्छ ।

तर, यदि तपाईंलाई आफ्ना सबै गतिविधिहरु डिजिटलाईज भएमा असहज महसुस भएको छ भने गुगलको लोकेसन ट्रयाकिङ फिचर बन्द गर्न सक्नुहुन्छ ।

कसरी बन्द गर्ने ?

यसको लागि गुगलको ‘प्राइभेसी चेकअप’ पेजमा जानुहोस् र स्क्रोल गरेर ‘लोकेसन हिस्ट्री’मा जानुहोस् । त्यहाँ ‘म्यानेज लोकेसन हिस्ट्री’ अप्सनलाई सेलेक्ट गर्नुहोस ।

त्यसपछि पेजको अन्तिमसम्म स्क्रोल गर्नुहोस् र ‘म्यानेज लोकेसन हिस्ट्री’ छनौट गर्नुहोस् । त्यसपछि बटन थिचेर ट्रयाकिङ अफ गर्नुहोस् ।

पुराना डाटाहरु डिलिट गर्न चाहेमा तपाईंले लोकेसन हिस्ट्री म्यापमै ‘डिलिट अल लोकेसन हिस्ट्री’ थिच्न सक्नुहुन्छ । त्यसपछि अब अन्तिम चरणको रुपमा गुगल एक्टिभिटी कन्ट्रोलमा गएर ‘वेव एण्ड एक्टिभिटी अफ’ गर्न सक्नुहुन्छ । त्यसपछि तपाईंको लोकेसन ट्रयाक हुँदैन ।

तर, यो कुरा पनि ध्यानमा राख्नुहोस कि ट्रयाकिङ अफ गर्दा गुगलले ‘केही गुगल एपहरुले पहिले जसरी काम नगर्न सक्छन्’ भन्ने सन्देश पठाउँछ ।

कम्पनीले लोकेसन डाटालाई ट्राफिक अपडेट पठाउन, पर्सनलाइज्ड म्याप र तपाईं गएको ठाउँको सिफारिस पठाउन लोकेसन डाटाको प्रयोग गर्ने गर्छ ।

एजेन्सीको सहयोगमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here