‘काठमाडौंमा कोहि भोकै बस्न पर्दैन्, मागिखानेको सहर भनेर चिनाउने काम नहोस्’-मेयर शाक्य

काठमाडौं, १९ कात्तिक । काठमाडौं महानगर क्षेत्रभित्रका विभिन्न सार्वजनिक र भीडभाड हुने स्थलहरूमा हालै भइरहेको निःशुल्क खाना खुवाउने कार्यप्रति काठमाडौं महानगरपालिकाले आपत्ती जनाएको छ ।

बुधबार पत्रकार सम्मेलन गर्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरवासीको स्वस्थ जीवनप्रति संवेदनशील भएको बताउँदै निःशुल्क खाना खुवाउने कार्यप्रति ध्यानाकर्षण भएको बताएका हुन् ।

कोभिड–१९ का कारण प्रभावित भएका काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेका असहाय, अशक्त, अतिविपन्न र दैनिक ज्यालादारीमा काम गर्नेलाई काठमाडौं महानगरपालिकाले सुरुदेखि नै सहयोग गर्दै आइरहेको पनि मेयर शाक्यले दाबी गरे ।

लकडाउन अवधिभर काठमाडौँ महानगरपालिकाले ३२ वटै वडामार्फत ‘भोकै कोही पर्दैन, भोकले कोही मर्दैन’ भन्ने मूल नाराका साथ खान नपाउने, बेरोजगार, अशक्त र असहायलाई राहत वितरण र खाना खुवाउने कार्य गरेको बताए ।

सो अवधिमा मात्रै काठमाडौँ महानगरपालिकाले १ लाख ५० हजार भन्दा बढी परिवारलाई राहत वितरण र २ लाख ५० हजार बढीलाई खाना खुवाउने कार्य गरेको उनको दाबी थियो ।

लामो समयको लकडाउनपछि पनि कोरोनाको महामारीबाट मुक्त हुन नसकेको अवस्थालाई ध्यानमा राख्दै काठमाडौँ महानगरपालिका क्षेत्र भित्र बसोबास गरिरहेका काम गर्न सक्ने तथा कोभिडका कारण बेरोजगार भएकाहरुलाई उनीहरुको सामथ्र्य र सिपको आधारमा रोजगारी दिई काठमाडौँ महानगरपालिकाले जीवन निर्वाहका लागि पारिश्रमिक दिने कार्यको थालनी गरेको शाक्यले बताए ।

त्यसका लागि कार्यपालिकाको बैठकले जीवन निर्वाहका लागि पारिश्रमिक कार्यविधि, २०७७ नै पारित गरि कार्यान्वयनमा रहेको छ । उक्त कार्यविधिमा उनीहरुलाई वडा कार्यालयबाट सार्वजनिक पूर्वाधार विकास, सार्वजनिक पूर्वाधार मर्मत सम्भार, ढल निकास तथा फुटपाथ व्यवस्थापन, सम्पदा संरक्षण र सौन्दर्यीकरण जस्ता काममा लगाउने उल्लेख गरे ।

कार्यविधिमै सार्वजनिक पार्क संरक्षण तथा हरियाली विकास, स्वास्थ्य, सरसफाई तथा फोहोरमैला व्यस्थापन, महानगरपालिका तथा वडाले तोकेका अन्य विभिन्न काममा लगाई हप्तामा कम्तीमा दुई दिनका दरले तोकिएको दैनिक ज्यालादारीमा रोजगारी दिने बताए ।

त्यस्तै काठमाडौँ महानगरपालिकाले मानव सेवा आश्रमको सहकार्यमा विगत तीन वर्षदेखि सडकमा रहेका वेवारिसे, मनोरोगी तथा अशक्त–असहायको उद्धार गरी पालनपोषण, औषधोपचार तथा परिवारमा पुनर्मिलन गराउने कार्य गर्दै आएको पनि जानकारी गराउन चाहन्छु । काठमाडौं महानगरलाई सहयोगापेक्षी सडक मानव मुक्त शहर बनाउने घोषित नीति अनुसार नै उक्त कार्य अघि बढाएको जानाकारी दिए ।

कोभिड महामारीका कारण रोजगारी गुमेर खान नपाएका कोही पनि महानगरवासी हुनुहुन्छ भने उहाँहरूले आफू बसेको सम्बन्धित वडा कार्यालयमा सम्पर्क गरेको अवस्थामा कसैलाई पनि भोकै बस्न नपर्ने गरी सहयोग गर्न काठमाडौं महानगरपालिका प्रतिवद्ध जनाए ।

अहिले मुलुकमा लकडाउन छैन । यस्तो बेलामा हामी सबैले समन्वय गरेर अघि बढ्ने हो भने समस्यामा परेका श्रमिक, गरिब र असहायलाई दुई छाक खाने र उनीहरुको चुल्हो ननिभ्ने व्यवस्था सजिलै गर्न सकिन्छ ।

हुनेखानेले मात्रै होइन दीनहीनले पनि स्वस्थ्यकर र पेटभरी खाना खान पाउनुपर्छ, काठमाडौँ महानगर यो मान्यतामा दृढ छ । श्रम गरी खान सक्ने युवालाई श्रमप्रतिको सम्मानका लागि प्रेरणा जागृत गराउनुपर्छ, अल्छी बनाउनुहुन्न उनले भने ।

काठमाडौंलाई गरिखानेहरूको शहरका रुपमा चिनाउनुपर्छ भन्ने हाम्रो मान्यता रही आएको छ । कोरोना कहरका बेला सार्वजनिक स्थान र सडकमा स्वास्थ्य मापदण्डको सामान्य पनि ख्याल नगरी जथाभावी लाइन लगाएर खाना खुवाई स्वास्थ्यमाथि नै हेलचेक्य्राइँ गरी उनीहरुकै कथा–व्यथा बेचेर विश्वमै ऐतिहासिक र साँस्कृतिक शहरका रुपमा परिचित काठमाडौँ मागिखानेहरुको शहर हो भनी विश्वलाई चिनाउने प्रयास कसैबाट नहोस् भन्ने पनि हाम्रो चाहना रहेको बताए ।

कोरोना महामारीका कारण रोजगारी गुमी केही समयका लागि हातमुख जोड्ने समस्याले पेट भर्नकै लागि ताँती लागेका नागरिकहरूको निर्दोष अनुहारलाई सामाजिक सञ्जाललगायतमा व्यापक बनाउँदा कसैलाई क्षणिक लाभ पुगे पनि सम्बन्धित नागरिकको आत्मसम्मानलाई भने यसले आघात पु¥याउने कुराप्रति हामी सबै सचेत हुन आग्रह गरे ।

कोरोना महामारी अहिले राष्ट्रिय संकटका रूपमा हामी सामु विद्यमान छ । यस घडीमा समस्यामा परेका श्रमिक, गरिब र असहायको सेवामा निरन्तर खटिरहनु भएका विभिन्न संघ–संस्था र व्यक्तिलाई अहिलेसम्म गरेको मानवीय सेवाका लागि धन्यवाद दिदैँ काठमाडौँ महानगरपालिकासँग समन्वय गर्न विनयपूर्वक आग्रह गर्न गरेका छन् ।

अहिले काठमाडौंका पुरानो बसपार्क लगायतका विभिन्न सार्वजनिक स्थलहरूमा फोहोर, धूलोधुँवा र भीडभाडका बीच स्वास्थ्य सुरक्षासम्बन्धी सामान्य मापदण्ड समेत पूरा नगरी अस्वस्थ र असुरक्षित तरिकाले खाना खुवाउँदै आइरहेको भनी जनस्तरबाटै गुनासो आउने गरेको कुराप्रति पनि हाम्रो ध्यानाकर्षण भएको छ, मेयर शाक्यले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here