उपत्यकाबाटै हराउँछन् दैनिक चारवटा मोटरसाइकल, यसरी अपनाउनु होस् सावधानी

फाइलफोटो

जितेन्द्र खनाल

काठमाडौं २३ मंसिर । पछिल्लो समय काठमाडौं उपत्यकामा बाइक तथा स्कुटर चोरको बिगबिगि बढ्न थालेको छ । ट्राफिक प्रहरी महाशाखाको तथ्यांक अनुसार दिनहुँ तीन देखि चार मोटरसाइकल र स्कुटर चोरी भएको घटना हुने गरेको छ ।

काठमाडौं उपत्याकाभित्र पार्किङस्थल, घर, अस्पताल, पार्टी प्यालेस, होटल, सार्वजनिक स्थल, मठमन्दिर, पार्कलगायत स्थानबाटै सजिलैबाइक चोरी हुन थालेको छ।

५ महिनामा ४५४ चोरी

महाशाखाको तथ्यांक अनुसार चालू आर्थिक वर्षमा ४ सय ५४ वटा चोरीको निवेदन ट्राफिककोमा परेको छ । मंसिर २१ गतेसम्म ट्राफिक प्रहरीले ५९ वटा मात्रै चोरीका मोटरसाइकल र स्कुटर फेला पारेको छ । साथै चोरीमा संलग्न १० जनालाई पक्राउ गरी कारर्वाही गरेको महाशाखाले जनाएको छ ।

महाशाखाको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्षमा १ हजार ३ सय ७९ वटा बाइक तथा स्कुटर चोरीको निवेदन परेको थियो जसमध्ये ३ सय ११ वटा मात्रै चोरीका मोटरसाइकल र स्कुटर फेला पर्यो । यसका साथै चोरीमा संलग्न ३७ जनालाई कारर्वाही गरिएको थियो ।

यसकारण हुन्छ धेरै चोरी

ट्राफिक प्रहरीका अनुसार सवारीचालकको लापरबाही, सवारीमा लकको व्यवस्था नगर्नु, सुनसान एरियामा पार्किङ गर्नु, सवारीसाधनको डिस्क तथा ह्विल लक नगर्नु, सडकमा सिसिटिभी क्यामेरा नहुनुलगायत कारण बाइक चोरी बढेको हो ।

चोरी विशेषगरि बढी भिडभाड हुने क्षेत्रहरुमा बढी हुने गर्दछ । व्यस्त सडकको किनारा, व्यापारी क्षेत्र, अस्पताल, फुटपात वा गल्लीहरुमा पार्क गरेको मोटरसाइकल र स्कुटरमा चोरको आँखा पर्ने गर्दछ ।

थोरै समयको लागि मात्र पार्क गर्ने भन्दैमा सवारी चालकले ह्याण्डिल लक, डिक्स लक नगरि छोडेर जाने वा चाबी बिर्सिएर जाने गर्दा त्यस्ता मोटरसाइकल र स्कुटर चोरी हुन्छन् ।

बाटैको छेउमा रहेको पसलमा समान किन्ने हो भनेर किरानामा बाईक चाबीसहित छोडेर वा ह्याण्डिल लक नगरी जाँदा चोरी भएको निवेदन लिएर प्रहरीकोमा सबै भन्दा धेरै पुग्ने गरेका छन् ।

यदी मोटरसाइकल र स्कुटरमा ह्याण्डिल लक वा डिक्स लक छैन भने चोरलाई त्यस्ता सवारी चोरी गर्न कुनैपनि मोहनत गर्नु नै नपर्ने ट्राफिक प्रहरीको भनाइ छ ।

यसको लाई आफै सुरक्षित भएदेखि चोरीको घटना कम हुने प्रहरीले जनाएको छ । सवारीसाधनमा डिस्क लक, ह्विल लक, सेक्युरिटी साइरन प्रयोग गर्ने प्रचलन पनि बढेको छ ।

यस्तो प्रविधि जडान गरेको छ भने चोरलाई चोरी गर्न समय लाग्छ र प्रक्राउ पर्ने सम्भावना बढी हुने प्रहरीले जनाएको छ । यस्ता मोटरसाइकर र स्कुटर उनीहरुले चाँडै चोरी हाल्न आटपनि गर्दैनन् ।

उपत्यकामा पल्सर बाइक धेरै चोरी

मोटरसाइकर र स्कुटर चोर्नेले सस्तोभन्दा महंगो र ब्राण्डेड मोटरसाइकल र स्कुटर चोर्ने गरेको प्रहरीले जनाएको छ । महाशाखाका अनुसार उपत्यकाबाट सबैभन्दा धेरै पल्सर मोटरसाइकल हराउने गरेका छन् । पल्सर दुई सय २० सिसी, पल्सर एक सय ५० सिसी, होन्डा स्प्लेन्डर, आरवान फाइभलगायत बाइक धेरै हराउने गरेका छन् ।

चोरी हुँदा इन्स्योरेन्सको पैसा कति पाईन्छ ?

मोटरसाइकलको बीमा गरेको छ र मोटरसाइकल भर्खरै निकालेको नयाँ हो भने यस्तो अवस्थामा सत प्रतिशत बीमा पाईने कुरा बीमा समितिका प्रवक्त राजु रमन पौडेल बताउँछन् ।

‘मोटरसाइकल चोरी भएको अवस्थामा बीमा गरिएको छ भने बीमा भुक्तानी तुरुन्त पाईन्छ ।’ उनले भने, ‘यस्तोमा मोटरसाइकल निकालेको मितिले भने प्रभाव पार्छ । मोटरसाइकल नयाँ हो भने पुर्ण बिमा भुक्तानी पाईन्छ भने पुरानो हो भने केही कम बीमा भुक्तानी पाइन्छ ।’

बीमा दाबी यसरी गर्नुहोस्

बीमाको दाबी प्रक्रिया सुरु गर्न तपाईंले आफ्नो बीमा एजेन्टलाई जतिसक्यो छिटो सम्पर्क गर्नुपर्छ । ढिलो जानकारी गराउंदा तपाईको दावि बीमा कम्पनिबाट अस्विकृत पनि हुन सक्दछ ।

यसका अलवा प्रहरी रिपोर्ट, चोरी भएको मोटरसाइकलको फोटोहरू र अन्य आबश्यक कागजात तपाईंको बीमा कम्पनी वा सो बाट दावी संबन्धमा नियुक्त गरिएको सर्भेयरलाई उपलब्ध गराउनुपर्छ ।

साथै, कम्पनीको प्राविधिक वा कम्पनीले दुर्घटना वा चोरी संबन्धमा नियुक्त गरिएका सर्भेयरसंग छलफल गर्दै उनीहरुबाट प्राप्त सुझाव अनुसार अबश्यक कागजातहरु तयार गर्नुपर्छ यसले तपाइँको दावी प्रक्रिया सरल, सहज र छिटो संपन्न गर्न मद्दत पुर्याउनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here