कुन बैंकको लाभांश कति ? यी बैंकले शेयरधनीलाई बनायो उत्साहित

काठमाडौं, ८ पुस । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत २६ वटा वाणिज्य बैंक मध्ये एकवटा बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गर्न बाँकी रहेको छ।

बैंकहरुले आर्थिक वर्ष २०७६/७७ को वितरणयोग्य नाफाबाट सेयरधनीहरुलाई लाभांश घोषणा गरेका हुन । लाभांश घोषणा गर्न सिभिल बैंकमात्र बाँकी रहेको छ ।

लाभांश घोषणा गर्ने अधिकांश बैंकहरुले बोनस सेयर र नगद दुवै लाभांश घोषणा गरेका छन् । लाभांश घोषणापछि हिमालयन बैंक, एनआईशी एशिया बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, बैंक अफ काठमाण्डू, ग्लोबल आईएमई बैंक, कृषि विकास बैंक, प्राइम कमर्शियल, बैंक कुमारी बैंक तथा मेगा बैंकका शेयरधनीहरु उत्साहित रहेको पाइएको छ ।

सबैभन्दा बढी निराश स्ट्यान्डर्ड चार्टर्ड बैंक तथा एभरेष्ट बैंकका देखिएका छन् । त्यस्तै, प्रभु बैंक, नेपाल एसबीआई बैंक, नेपाल बंगलादेश बैंक, सनराइज बैंक लगायतका बैंकको लाभांशदेखि पनि लगानीकर्ताहरु सन्तुष्ट छैनन् ।

नेपाल बैंकको लाभांश अपेक्षित नै भए पनि बोनस शेयर कम हुँदा लगानीकर्ता त्यति उत्साहित देखिएनन् । कोरोनका कारण खुद मुनाफा घटेसँगै अधिकांश बैंकहरुले अघिल्लो वर्षको तुलनामा लाभांश पनि घटाएका छन् ।

यद्यपि, कोरोनाका बीच बैंकहरुले आफ्नो क्षमता अनुसार सेयरधनीलाई लाभांश दिएर दिएर निराश भने पारेका छैनन् ।

यो वर्ष सबैभन्दा बढी लाभांश नबिल बैंकले दिएको छ । बैंकले ३५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

यसमध्ये ३३.५ प्रतिशत बोनस शेयर तथा १.७६ प्रतिशत नगद लाभांश दिने घोषणा गरिएको छ । यो लाभांश अघिल्लो वर्षको तुलनामा १.२६ प्रतिशत विन्दुले बढी हो । अघिल्लो वर्ष बैंकले ३४ प्रतिशत लाभांश दिएको थियो ।

नबिल बैंकले ३५ प्रतिशत भन्दा धेरै लाभांश दिए पनि दोस्रो हुने बैंकले भने योभन्दा निकै कम लाभांश दिएका छन् । हिमालयन बैंक र एनआईसी एशिया बैंकले २०/२० प्रतिशत लाभांश दिने घोषणा गरेका हुन् ।

एनआईशी एशिया बैंकले १९ प्रतिशत बोनस सेयर तथा १ प्रतिशत नगद लाभांश तथा हिमालयन बैंकले १४ प्रतिशत बोनस सेयर तथा ६ प्रतिशत नगद लाभांश दिने घोषणा गरेका हुन् । यसमध्ये एनआईसी एशियाको लाभांश साधारणसभाबाट पास समेत भइसकेको छ ।

यी दुई बैंकपछि सबैभन्दा बढी लाभांश दिने चौथो बैंकमा नेपाल इन्भेष्टमेन्ट बैंक आएको छ । सो बैंकले १८.५ प्रतिशत लाभांश दिएको छ । यो लाभांशमध्ये १३ प्रतिशत बोनस शेयर तथा ५.५ प्रतिशत नगद लाभांश रहेको छ ।

एनएमबी १६.२० प्रतिशत, ग्लोबल आइएमई, बैंक अफ काठमाण्डू र नेपाल बैंकले समान १६/१६ प्रतिशत लाभांश घोषणा गरेका छन् ।

ग्लोबलले १४ प्रतिशत बोनस सेयर तथा २ प्रतिशत नगद, बैंक आफ काठमाण्डूले १३ प्रतिशत बोनस र ३ प्रतिशत नगद र नेपालले १२ बोनस सेयर र ४ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश घोषणा गरेका हुन् ।

त्यस्तै, ११ बैंकले १० देखि १५ प्रतिशतको बीचमा लाभांश घोषणा गरेका छन् भने ४ बैंकले १० प्रतिशत भन्दा कम लाभांश घोषणा गरेका छन् ।

१० प्रतिशत भन्दा कम लाभांश घोषणा गर्नेमा नेपाल एसबीआइ, नेपाल बंगलादेश, सनराइज र सेञ्चुरी कमर्शियल बैंक रहेका छन् । गत वर्षको नाफाबाट सबैभन्दा कम सेञ्चुरी कमर्शियल बैंकले ७.५० प्रतिशत लाभांश घोषणा गरेको छ ।

त्यस्तै मेगा बैंकले १० प्रतिशत नगद लाभांश र ३.०५ प्रतिशत नगदसहित १३.०५ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ७ प्रतिशत नगद लाभांश र ४.८४ प्रतिशत नगदसहित ११.८४ प्रतिशत, लक्ष्मी बैंकले ९.५ प्रतिशत नगद लाभांश र २ प्रतिशत नगदसहित ११.५ प्रतिशत तथा सिटिजन्स बैंकले ८ प्रतिशत नगद लाभांश र ३ प्रतिशत नगदसहित ११ प्रतिशत लाभांश दिने प्रस्ताव गरेका छन् । यीमध्ये मेगा बैंकको लाभांश अघिल्लो वर्षको भन्दा बढी हो भने अरु बैंकको लाभांश अघिल्लो वर्षभन्दा कम हो ।

एनसीसी बैंकले १०.२६९५ प्रतिशत बोनस शेयर र ०.५४०५ प्रतिशत नगदसहित १०.८१ प्रतिशत, एभरेष्ट बैंकले ५ प्रतिशत बोनस शेयर र ५.५ प्रतिशत नगदसहित १०.५ प्रतिशत, प्रभु बैंकले १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगदसहित १०.५२६३ प्रतिशत तथा माछापुच्छ्रे बैंकले ७.०३ प्रतिशत बोनस शेयर र ३.३७ प्रतिशत नगदसहित १०.४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here