नेपाललाई अति कम विकसित राष्ट्रबाट स्तरोन्नति गर्ने सिफारिस, २०२६ मा विकासशील बन्ने

काठमाडौं, १५ फागुन । नेपाल विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि सिफारिस भएको छ। संयुक्त राष्ट्र संघको कमिटी फर डेभलपमेन्ट पोलिसीले नेपाललाई स्तरोन्नतिको सिफारिस गरेको हो।

पाँच वर्षको तयारी अवधि राखिएको हुँदा सन् २०२६ देखि सो स्तरोन्नति कार्यान्वयनमा आउनेछ। सीडीपीले तीन–तीन वर्षमा गर्दै आएको मूल्यांकन यही फ्रेब्रुअरी २२ देखि २६ सम्म चलेको थियो ।

नेपालले आयको स्तरबाहेक अन्य दुई मापदण्डमा यसअघिका दुईओटा समीक्षादेखि नै मापदण्ड पूरा गरिसकेको उल्लेख गर्दै स्तरोन्नति हुन सुझाएको हो ।

प्रतिव्यक्ति आय, मानव सम्पत्ति सूचकांक र आर्थिक जोखिम सूचकांकमध्ये नेपालले पछिल्लो दुई मापदण्ड पूरा गरेर स्तरोन्नतिका लागि योग्य भएको हो ।

सीडीपीको सिफारिशपछि राष्ट्रसंघीय आर्थिक एवं सामाजिक परिषद् (इकोसोक) र राष्ट्रसंघको महासभाले स्वीकार गरेर अन्तिम निर्णय गरेपछि नेपाल विकासशील देश बन्ने औपचारिक ढोका खुल्नेछ।

यद्यपि, औपचारिक रूपमा विकासशील देशको सूचीमा उक्लिन तीन वर्षपछि सन् २०२४ मा हुने सीडीपीको अर्को समीक्षामा तोकिएको मापदण्डमा समेत नेपाल उत्तीर्ण हुनुपर्नेछ।

संयुक्त राष्ट्रसंघीय निकायको नीतिअनुसार, हरेक तीन वर्षमा हुने समीक्षामा लगातार दुई पटक तोकिएका मापदण्डमा सफल देश मात्र विकासशील देशमा उक्लिन्छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here