‘कोरोना भाइरसबाट डर नमानौं, आत्तिनुपर्ने अवस्था छैन’

काठमाडौं, १५ माघ । चीनको हुवान प्रान्तबाट सुरु भएको नोवेल कोरोना भाइरस एक जना नेपालीमा देखिएपछि सरकारले उच्च सतर्कता अपनाउन थालेको छ । सङ्क्रमित व्यक्ति हुवान प्रान्तबाट आएका नेपाली हुन् ।

एक जनामा देखिए पनि सङ्क्रमण बढ्न सक्ने आशङ्कामा सरकारले विभिन्न क्षेत्रमा ‘हेल्थ डेस्क’ स्थापना गरेर सङ्क्रमण फैलन नदिन आवश्यक तयारी थालिसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । काठमाण्डाै, पोखरा, चितवन, लुम्बिनीलगायत क्षेत्रमा डेस्क नै स्थापना गरेर निगरानी र सतर्कता अपनाउन थालिएको हो ।

मुख्य लक्षण

नोेवेल कोरोना भाइरसको मुख्य लक्षण भनेको ज्वरो आउनु, सास फेर्न अफ्ठेरो हुनु र छातीमा सङ्क्रमण हुनु हो । रुघाखोकी जस्तै लक्षण देखिने भाइरस श्वासप्रश्वास, एक जनाले प्रयोग गरेको सामान वा रुमाल प्रयोग गर्दा, हात मिलाउँदा सर्न सक्ने चिकित्सकको भनाइ छ ।

यसको नियन्त्रणका लागि तत्कालै पहिचान गर्ने, त्यसलाई व्यवस्थापन र निदानात्मक उपाय अपनाउने, सङ्क्रमित व्यक्तिको नजिकका मान्छे खोजेर उनीहरूको निगरानी गर्ने जस्ता उपाय अपनाउनु पर्नेमा चिकित्सकको जोड छ ।

यस्तै विभिन्न देशमा गएका यात्रीले आफ्नो स्वास्थ्यमा सचेतना अपनाउनु पर्छ । धेरै भिडमा नजाने, व्यक्तिगत सुरक्षा र सरसफाइमा ध्यान दिने, सकेसम्म हात नमिलाउने मिलाएमा साबुन पानीले राम्ररी हात धुनसमेत चिकित्सकले भनेका छन् ।

विश्व स्वास्थ्य सङ्गठनको आकस्मिक कमिटीको यही जनवरी २२ र २३ मा जेनेभामा बसेको बैठकले यसलाई अहिलेसम्म विश्वको ठूलो स्वास्थ्य समस्याको रूपमा घोषणा गरेको छैन । यसलाई मध्यम तहको भनेर घोषणा गरेको छ ।

सङ्गठनको तथ्यङ्कअनुसार दुई हजार सात सय ९८ जनामा भाइरस सङ्क्रमण भएको पुष्टि भएको छ । चीनबाहेक नेपालसहित ११ देशमा सङ्क्रमण भएको पुष्टि भएको छ । चीनमा दुई हजार सात ४१ जना छन् भने बाँकी अन्य देशका छन् । अहिलेसम्म ज्यान गुमाउनेकाे सङ्ख्या सय नाघिसकेकाे जनाइएको छ ।

चीन बाहिर भियतनाममा मात्रै मान्छेबाट मान्छेमा सरेको पुष्टि भएको तर मान्छेबाट मान्छेमा कति समयमा र कुन परिमाणमा सर्छ भन्ने कुरा अझै यकिन भैसकेकाे छैन । कति अवधिमा रोग सर्छ भन्ने प्रष्ट नभए पनि सामान्यतः दुई देखि १० दिनभित्रमा लक्षण देखिने जनाइएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार बढी सङ्क्रमण फैलिएको चीनको हुवान प्रान्तमा एक सय ९० जना नेपाली रहेको तथ्याङ्क छ । जसमध्ये सय जना सम्पर्कमा आइसकेका छन् । अन्यलाई पनि ‘वी च्याट ग्रुप’ वा अन्य कुनै माध्यामबाट सम्पर्कमा ल्याउने प्रयास भइरहेको जनाइएको छ ।

सन् २००२ मा चीनमा सार्स कोरोना भएको थियो । त्यसको पुष्टि सन् २००३ मा विश्व स्वास्थ्य सङ्गठनले गर्‍याे । त्यहाँ आठ हजार जनामा सङ्क्रमण भएकोमा सात सय ७४ को ज्यान गएकाे थियो । जसले गर्दा मृत्युदर बढी भयाे ।

सन् २०१२ मा साउदी अरबमा मर्स कोरोनाको सङ्क्रमण हुँदा मृत्युदर ३५ प्रतिशत थियो । अहिले तीन प्रतिशत मृत्युदर हुनु सामान्य भएको मन्त्रालयको दाबी छ । सन् २०१५ मा दक्षिण कोरियामा पनि यस्तै प्रकारकाे भाइरस देखिएको थियो ।

– यो एक प्रकारको रुघा हो । कोरोना संक्रमण र रुघाखोकीका लक्षण उस्तै हुन्छन् ।

– सर्ने माध्यम पनि रुघा सरेजस्तै हो । खोक्दा, छिउं गर्दा, सास फेर्दा, बिरामीका सामान प्रयोग गर्दा, बिरामीले छोएको ठाउँमा छुँदा, मासु राम्रोसंग नपकाएर खाँदा आदि ।
– यो रोगको सजिलै पत्ता लाग्ने ल्याब टेस्ट छैन | ठूलो प्रयोगशालामा श्वासप्रश्वास नलीको स्वाब पठाउनुपर्छ ।

– यसको कुनै उपचार छैन । ज्वरो, रुघा, खोकी, टाउको दुख्ने आदिको लाक्षणिक उपचार मात्र गर्ने हो । झोलिलो खाना खाएर अलग्गै कोठामा आराम गर्ने हो ।
– यो रोगको खोप छैन ।

– रोग बढेमा निमोनिया, श्वासप्रश्वास फेलर भएर बिरामीको मृत्यु हुन्छ ।

– यो रोग लाग्दैमा मृत्यु हुँदैन | यसको मृत्यु दर २-३ % मात्र छ | बालबालिका, बृद्धबृद्धा, क्यान्सर \ एचआईभी \ मुटुरोग / मधुमेह लगायतका रोग लागेका व्यक्ति जोखिम समुहमा पर्दछन | त्यस्तै चिकित्सक तथा स्वास्थ्यकर्मी पनि जोखिम समुहमा पर्दछन ।

– सकभर भिडभाडमा नजाने । जस्तै : अस्पताल / सपिंग मल / सिनेमा घर \ सार्वजनिक यातायात आदिमा ।

– हामीले आम रुपमा लगाउने मास्क यो रोगमा काम लाग्दैन । N 95 मास्क राम्रोसंग लगाउँदा रोकथाममा उपयोगी हुन्छ ।

– मुख्य कुरा त स्वास्थ्य प्रबर्धन हो । रोगसँग लड्ने क्षमता बढाउने हो भने डर मानुपर्दैन । सागसब्जी, फलफूल, दुध, दाल, गेडागुडी लगायतका स्वस्थकर खाना, नियमित शारीरिक अभ्यास तथा अन्य स्वस्थ जीवनशैली अपनाएमा रोगप्रतिरोधात्मक क्षमता बढ्छ ।

– रोग लागेर मरिन्छ कि भन्ने चिन्ता नगरौं । कोरोनाको बारे धेरै सोंचेर चिन्तित नबनौं । नयाँ रोगहरु आउने, जाने क्रम चलिरहेको छ । साबधानी अपनाउने हो, पेनिक बन्ने हैन ।

-डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य बिज्ञ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here