उपत्यकाबाटै हराउँछन् दैनिक २३ वटा मोबाइल, भेटिन्छन् कति ?

जितेन्द्र खनाल

काठमाडौं, १८ फागुन । काठमाडौं उपत्यकामा मात्रै दैनिक सरदर २३ वटा मोबाइल फोन चोरी भएको वा हराएको भनी प्रहरीमा उजुरी पर्ने गरेको छ ।

महानगरीय अपराध महाशाखाको चालू आर्थिक वर्षको तथ्यांक अनुसार काठमाडौं उपत्यकामा मात्रै दैनिक २३ वटा मोबाइल फोन चोरी हुने वा हराउने गरेको पाइएको हो ।

अपराध महाशाखाका टेकुका मोबाइल शाखाका इन्चार्ज विष्णु विक्रम थापाको अनुसार चालू आर्थिक वर्षको फागुन १७ गतेसम्ममा महाशाखामा ६ हजार ६ सय ६६ मोवाइल चोरी भएको निवेदन दर्ता भएको छ ।

ती मोबाइल फोनमध्ये प्रहरीले ८ सय ८५ वटाको खोजी गरी मोबाइल धनीलाई बुझाईसकेको क्लाउड पत्रिकालाई बताए । बाँकी ५ हजार ७ सय ८१ वटाको खोजी कार्य भईरहेको छ उनले भने ।

१३ प्रतिशत मात्रै फेला पर्छन्

फागुन १७ गतेसम्मको तथ्यांक अनुसार हराएका मध्ये १३.२८ प्रतिशत मात्रै मोबाइल फोनहरु फेला पर्ने गरेका छन् । अन्य फोनहरुको पनि खोजी कार्य भईरहेको पनि प्रहरीले बताएको छ ।

मोबाइल हराउनेमध्ये धेरैले चोरी भएको उजुरी गर्छन् । उनीहरुको लुटपाट हुने, चोरी, पाकेटमारी भएको उजुरी पर्ने गरेको छ । विशेषगरी मोबाइल फोन सजिलै बेच्न सकिने भएकाले पनि चोरहरुले फोन चोरी गर्ने गर्छन् ।

धेरै मानिसहरुले आफ्नो सामानको सुरक्षा नगर्ने बानीले पनि धेरै मोबाइल फोन हराउने गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आजभोली मानिसहरुले महंगा स्मार्टफोन फोन हातमा बोकेर हिँड्ने गर्छन् तर, उनीहरुले सावधानी भने अपनाउँदैनन् । धेरैले गाडी, ट्याक्सी, रेस्टुरेन्ट लगायतका स्थानहरुमा छाडेरै हिँड्छन् । केहिले फिर्ता गर्छन्, तर केहिले लुकाएर आफै चलाउने वा बेचिदिने गर्छन् ।

फाइन्ड माई फोन अप्सन अन भएका फोन पत्ता लाग्ने सम्भावना बढी

अपराध महाशाखाका टेकुका मोबाइल शाखाका इन्चार्ज थापाका अनुसार मोबाइलमा भएको फाइन्ड माई फोन अप्सन अन गरेका फोनहरु चोरी भएपछि पनि सजिलै पत्ता लाग्छ ।

‘मोबाइल कुन समयमा हराउछ थाहै हुँदैन, त्यसकारण हराएपछि फेला पार्न सजिलो बनाउनको लागि मोबाइलमा आएको फाइन्ड माई फोन अप्सनलाई अन गरेर राख्नुपर्छ । यसले मोबाइलको लोकेशन देखाउने भएको कारण सजिलै पत्ता लगाउन सकिने थापाले बताए ।

महाशाखाको तथ्यांक अनुसार अन्य फोनको तुलनामा एप्पलका आइफोनहरु पत्ता लाग्ने संख्या धेरै छ । यसमा विभिन्न प्रकारका सुविधाहरु हुने भएको कारण छिटो पत्ता लाग्ने प्रहरीले बताएको छ ।

कुन महिनामा कति फोन हराए ?

साउन

साउन महिनामा ६ सय १२० वटा मोबाइल हराएको निवेदन प्रहरीकोमा दर्ता भएको थियो । जसमा १ सय २० वटा फेला परे भने ५ सय ३८ वटाको खोजी कार्य भईरहेको अपराध महाशाखाले बताएको छ ।

भदौ

त्यस्तै भदौ महिनामा १ सय ९६ वटा मोबाइल फोन हराएको वा चोरीको निवेदन दर्ता भएको महाशाखाले जनाएको छ ।

जसमा ३१ वटा मोबाइल फोन फेला परिसकेको र बाँकी १ हजार ६५ वटा मोबाइलको खोजी कार्य भईरहेको महाशाखाले जनाएको छ ।

असोज

८ सय ८४ वटा मोबाइल फोन हराएको निवेदन असोज महिनामा परेको थियो । जसमा १ सय ५६ वटा मोवाइल फेला परे भने ७ सय २८ मोबाइल फोनको खोजी कार्यको भईरहेको अपराध महाशाखाले जनाएको छ ।

कात्तिक

कात्र्तिक महिनामा ७ सय १२ वटा फोन हराएको निवेदन प्रहरीमा दर्ता भएको थियो । जसमा ९९ वटा मोबाइल फेला पारी धनीलाई बुझाइएको र बाँकी ६ सय १३ वटा मोबाईल फोनको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

मंसिर

मंसिर महिनामा १ हजार ४५ वटा मोबाइल फोन हराएको निवेदन प्रहरीकोमा दर्ता भएको जसमा १ सय ६० वटा मात्रै मोबाइल फोन फेला पर्यो । साथै, ८ सय ८५ वटा मोबाइल फोनको खोजी कार्य भईरहेको प्रहरीले बताएको छ ।

पुस

पुस महिनामा १२ सय ३५ वटा मोबाइल हराएको निवेदन परेको थियो । ती मध्ये १ सय ४२ वटा फेला परेको र बाँकी १ हजार ९३ वटा मोबाइल फोनको खोजीकार्य भईरहेको प्रहरीले बताएको छ ।

माघ

माघ महिनामा १२ सय २१ वटा मोबाइल फोन हराएको निवेदन परेको थियो । जसमध्ये १ सय ८ वटा फोन मात्रै फेला परे । त्यस्तै, ११ सय १३ वटा फोनको खोजी कार्य भईरहेको महाशाखाले बताएको छ ।

फागुन

फागुन महिनाको १७ गतेसम्मा महाशाखामा ७ सय १५ वटा मोबाइल हराएको निवेदन परिसकेको छ । ती मध्ये ६९ वटा मोबाइल फेला परिसकेको छ भने ६ सय ४६ वटाको खोजी कार्य भईरहेको महानगरीय प्रहरी अपराध महाशाखाले बताएको छ ।

महाशाखाले अनुसन्धानपछि फेला परेको फोन प्रत्येक महिनाको १५ र ३० गते मोबाइल धनीलाई जिम्मा लगाउने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here