‘अनुदार’ अर्थमन्त्रीको उदार बजेट, क-कसलाई बनाए खुसी?

-रक्षा रेग्मी

काठमाडौं, १९ जेठ । धेरैको अपेक्षा थियो अर्थमन्त्री डा. युवराज खतिवडाले यसपाली मुठ्ठी कस्नेछन् । ढुकुटीको ढोकाथोरै खोल्नेछन् । केहि अप्रिय निर्णय लिनेछन् तर बजेट छर्ने छैनन् ।

तर, उनले आम अपेक्षा विपरित बच्चादेखि ज्येष्ठ नागरिकसम्म, विद्यार्थीदेखि व्यावसायीसम्म अनि जागिरेदेखि सांसदसम्मको मुहारमा मुस्कान ल्याइदिने बजेट ल्याएर देखाइदिए ।

‘अनुदार’ अर्थशास्त्री भनेर चिनिएका अर्थमन्त्रीडा. खतिवडाले जेठ १५ गते संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटले लगभग हरेक क्षेत्रलाई खुसी बनाउने प्रयास गरेको छ ।

आउनुस् हेरौं, बजेटले कसकसलाई खुशीदियो ?

सांसद
विगत केहि वर्षदेखि खारेज नै गर्नु पर्छ भन्ने माग उठिरहेको निर्वाचन क्षेत्र विकास कोषलाई डा. खतिवडाले निरन्तरता मात्र दिएनन्, सांसदलाई खुसी पार्न कोषमा दिने रकम समेत बढाए । कोषलाई दिने रकम ४ करोड रुपैयाँलाई बढाएर उनले ६ करोड रुपैयाँ बनाइदिए । त्यसको सत्तापक्ष मात्र होइन, प्रतिपक्षका सांसदले समेत टेबल ठोकेर स्वागत गरे ।

व्यवसायी
अर्थमन्त्रीले सूर्तीजन्य पदार्थ बाहेक अन्य वस्तुमा कर नबढाएर व्यवसायीलाई राहत दिएका छन् । त्यसै गरी कच्चापदार्थको भन्सार दर घटाइएको छ भने तयारी वस्तुको आयातमा लाग्ने कर बढाइएको छ । तयारी पोशाक उद्योगमा ५ प्रतिशत व्याजदर रिवेट गर्ने नीति, एवम स्वदेशी कपडा उद्योगले उपयोग गर्ने बिद्युत महशुलमा ५० प्रतिशत छुट र वैंकबाट लिने कर्जा मा ५ प्रतिशत व्याज अनुदान दिने व्यवस्था गरिएको छ ।

कर्मचारी
विगत तीन वर्षदेखि नबढेको सरकारी कर्मचारीको तलब अर्थमन्त्री डा. खतिवडाले बढाइदिए । गत वर्ष महंगी भत्ता भनेर जम्मा रु. १ हजारलाई तलबमा समायोजन गरेका उनले यसपाली राजपत्र अनंकित तल्लो तहका कर्मचारीको तलब २० प्रतिशत र राजपत्रांकित कर्मचारीको तलब १८ प्रतिशतले बढाइदिए ।

तलब बढेको खुसीयाली मनाइरहेका अधिकृत तहसम्मका कर्मचारीलाई अर्थमन्त्रीले अर्को राहत प्याकेज पनि दिए, आयकर लाग्ने रकमको सीमा बढाएर । उनले अविवाहितका लागि आयकर लाग्ने रकमको सीमा ४ लाख रुपैयाँ र विवाहितका लागि साढे ४ लाख रुपैयाँ बनाएका छन् ।

शेयर लगानीकर्ता
सरकारले शेयर कारोवारमा लाग्ने कर ७.५ प्रतिशतबाट घटाएर ५ प्रतिशतमा झारेको छ । त्यस्तै, यसअघि विवादित रहेको हकप्रद र बोनश सेयरमा करको विषय पनि बजेटले टुंग्याएको छ । अब लगानी कर्ताले भारित औसत दरको आधारमा हकप्रद र बोनसमा कर तिर्नुपर्ने छ ।

मिडिया
अर्थमन्त्रीले सरकारले गर्ने लोककल्याणकारी विज्ञापनको दर १५ प्रतिशतले बढाएर मिडियालाई पनि खुसी बनाएका छन् । यसले मूलधारदेखि पटके वा चाडपर्व विशेषांक निकाल्ने सम्मका सञ्चार गृहलाई राहत दिएको छ ।

ज्येष्ठ नागरिक
राज्यको अर्थतन्त्रको हालत त्यति राम्रो नभएपनि सरकारले आफूलाई लोककल्याणकारी बनाउने प्रयत्न गर्दै आएको छ । त्यसमा वामपन्थी मात्र नभएर नेपाली काँग्रेस पनि प्रयासरत देखिएको छ । यसपाली अर्थमन्त्री डा. खतिवडाले वृद्ध भत्तामा १ हजार रुपैयाँ बढाएर ३ हजार रुपैयाँ बनाइदिए ।

गत चुनावी घोषणापत्रमै वृद्धभत्ता बढाउने घोषणा गरेको नेकपा सरकारलाई गतवर्ष पनि यो भत्ता बढाउनु पर्ने ठूलो दबावथियो । गतवर्ष दबाव झेले पनि यो वर्ष अर्थमन्त्रीले वृद्धभत्ता बढाएरै छाडे ।

अपांग तथा विधवा
सरकारले अपांग तथा विधवालाई दिने सामाजिक सुरक्षा भत्ता पनि बढाएको छ । उनीहरुले पाउँदै आएको भत्तामा प्रतिमहिना रु. १ हजार बढाइएको छ ।

विद्यार्थी
सरकारले दुर्गम तथा हिमाली क्षेत्रका विद्यालय र अपांगता भएका बालबालिका अध्ययन गर्ने विद्यालयमा आवासीय सुविधाको प्रवन्ध गर्ने भएको छ भने विद्यालयमा छात्राहरुका लागि स्यानिटरी प्याडको व्यवस्था गर्दैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here