सातै प्रदेशमा पुगे ब्रोकर कारोबारका आधारमा कर्णाली सबैभन्दा पछाडी

काठमाडौं २६, जेठ । करिब दुई साता अघि कर्णाली प्रदेशमा सेयर ब्रोकर कार्यालय स्थापना भयो । योसँगै सातै प्रदेशमा सेयर ब्रोकर पुगेका छन् । ब्रोकर कार्यालय स्थापनासँगै सबै प्रदेशमा सेयर बजारको पहुँच पुगेको छ । पहुँच पुगेपनि कारोबारको आधारमा कर्णाली (प्रदेश ६) प्रदेश सबैभन्दा पछाडी छ ।

नयाँ संरचनाअनुसार कर्णाली प्रदेशमा डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, सल्यान, रुकुम पश्चिम, जाजरकोट, दैलेख र सुर्खेत जिल्ला छन । ती जिल्लामा दोस्रो बजारको सेयर कारोबार लागि दुई साता अघिमात्र धितोपत्र ब्रोकर पुगेको हो ।

ब्रोकर पुग्नु अघि उक्त प्रदेशका नागरिकले दोस्रो बजारमा सेयर कारोबारबाट वञ्चित थिए । प्राथमिक निष्कासन (आईपीओ र थप आईपीओ) हरूमा भने कर्णाली प्रदेशका नागरिकले पनि लगानी गर्न पाउँथे ।

ती सेयरमा लगानी गर्न धितोपत्र ब्रोकर चाहिँदैन । निक्षेप सदस्य (डीपी), आस्बा तथा सी–आस्बा अनुमति ल्याएका बैंक तथा वित्तीय संस्थामार्फत सर्वसाधारणले ती सेयरमा लगानी गर्न सकिन्छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को तथ्यांकअनुसार सातवटा प्रदेशमध्ये सबैभन्दा धेरै कारोबार प्रदेश तीनमा छ । तीन नम्बर प्रदेशमा काठमाडौं उपत्यका पनि पर्ने भएकाले यो क्षेत्रमा सबैभन्दा बढी सेयर कारोबार देखिएको हो । काठमाडौं उपत्यका बाहेक ३ नम्बर प्रदेशमा ३ अर्ब ५४ करोड रुपैया बराबरको कारोबार भएको छ ।

काठमाडौं उपत्यकाबाहेक सबैभन्दा धेरै सेयर कारोबार एक नम्बर प्रदेशमा हुँदै आएको छ । यो प्रदेशमा झापा, इलाम, पााचथर, ताप्लेजुङ, मोरङ, सुनसरी, धनकुटा, भोजपुर, संखुवासभा, सोलुखुम्बु, खोटाङ, उदयपुर र ओखलढुंगा जिल्ला पर्छन । गत वर्ष ४ नम्बर प्रदेशमा ३ अर्ब ६ करोड रुपैयाँ र प्रदेश ५ मा ८८ करोड ७३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

प्रदेश २ मा ६६ करोड र प्रदेश ७ मा साढे २ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यति बेलासम्म कर्णाली प्रदेशमा दोस्रो बजारमा सेयर कारोबार भएको थिएन । यो वर्ष उक्त प्रदेशमा पनि दोस्रो बजारको सेयर कारोबार पुगिसकेको छ ।

गत एक वर्ष उपत्यका बाहिरको सेयर कारोबार ६६ प्रतिशतले बढेको छ । मोफसलमा सेयर कारोबार विस्तार हुँदै गए पनि कुल सेयर कारोबारको करिब ९५ प्रतिशत काठमाडौं उपत्यकामा मात्रै हुँदै आएको छ ।

पछिल्ला दुई वर्षमा मोफसलको सेयर कारोबारले कुल सेयर कारोबारको क्रमशः ३.२२ र ७.६७ प्रतिशत अंश ओगटदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here