मतदाता रिझाउन करदातामैत्री देखियो सरकार, के केमा दियो छुट ?

काठमाडौं, १६ जेठ । सरकारले चुनावलाई लक्षित गरेर ल्याएको बजेटमा पर्याप्त छुटको व्यवस्था गरेको छ । आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमा अर्थमन्त्री बिष्णु पौडेलले ब्यवसायीलाई विभिन्न कर सहुलियत दिएका छन्।

उनले वार्षिक २० लाख रुपैयाँसम्मको कारोबार भएका करदातालाई ९० प्रतिशत छुट दिने नीति लिएका छन्।

यस्तै, वार्षिक २० देखि ५० लाखसम्म कारोबार गर्नेले ७५ प्रतिशत तथा ५० देखि १ करोडसम्म कारोबार गर्नेले ५० प्रतिशत आयकर छुट पाउने व्यवस्था गरेका छन् ।

कोरोना अति प्रभावित होटल, ट्राभल, टेकिङ यातायात हवाइ चलचित्र र सञ्चारगृहको करयोग्य आयमा १ प्रतिशत मात्रै आयकर लाग्ने भएको छ ।

ती व्यवसायको नोक्सानी सार्न सक्ने अवधि पनि बढाएर १० वर्ष पुर्‍याएको छ ।

निषेधाज्ञा अवधिभर घरायसी तथा साना विद्युत उपभोक्तामध्ये मासिक २० युनिटसम्म खपत गर्नेलाई शतप्रतिशत, मासिक १५० युनिटसम्म खपत गर्नेलाई ५० प्रतिशत र २५० युनिटसम्म खपत गर्नेलाई ३० प्रतिशत महसुल छुट दिइनेछ ।

उत्पादनमूलक उद्योग, होटल तथा चलचित्र उद्योगलाई निषेधाज्ञा अवधिभरको विद्युत डिमाण्ड शुल्क छुट दिने व्यवस्था गरिएको छ ।

ढुवानी सेवा, ढुवानी साधनको भाडा, कार्गो सेवा, ई-लाइव्रेरी सेवा, निक्षेप सुरक्षण शुल्क, ट्रेकिङ्ग तथा टुर प्याकेज, साइलो तथा साइलो प्रयोगको सेवा शुल्क र उत्पत्तिको प्रमाण-पत्र जारी गर्दा लाग्ने शुल्कमा मूल्य अभिवृद्धि कर छुट दिइएको छ।

त्यस्तै स्वदेशी उयत्पादन गरेको कच्चा पदार्थ तथा सहायक कच्चा पदार्थ विशेष उद्योगलाई बिक्री गरी प्राप्त गरेको आयमा लाग्ने करमा २० प्रतिशत छुट दिने र विशेष उद्योगले निकासी गरी प्राप्त गरेको आयमा २० प्रतिशत मात्र कर लाग्ने व्यवस्था मिलाइएको छ ।

औषधि उद्योगलाई आवश्यकपर्ने कच्चपदार्थको पैठारीमा मूल्य अभिवृद्धिकर छुट दिई त्यस्ता वस्तु स्वदेशी उद्योगीबाट खरिद गर्दा तिरेको मूल्य अभिवृद्धि कर फिर्ता दिइने व्यवस्थासमेत मिलाइएको छ ।

बजेटले आयुर्वेदिक कच्चा पदार्थको भन्सार शुल्क हटाएको छ । स्यानिटाइजरको कच्चा पदार्थका रुपमा प्रयोग हुने आन्तरिक उत्पादनको इथानोल तथा पिपिईएमा अन्तःशुल्क छुट दिइएको छ ।

इन्टरनेट सेवा प्रदायकले फिक्स्ड ब्रोडव्याण्ड सेवा प्रदान गर्दा ५० प्रतिशतसम्मको मर्मत सम्भार शुल्कमा दूरसञ्चार सेवा दस्तुर छुट दिइने भएको छ भने रेडियो तथा टेलिभिजन प्रसारण संस्थाले तिर्नुपर्ने कारोवार रकमको दुई प्रतिशत सेवा शुल्क घटाएर एक प्रतिशत कायम गरिएको छ ।

सरकारले मूल्य अभिवृद्धि करको दर यथावत् राखेको छ भने अन्तःशुल्क र भन्सारका केही दरलाई भने समायोजन गरेको छ ।

शिशु स्वास्थ्य पोषणलाई बढावा दिन बच्चाले खाने दूधको भन्सार महसुलमा ५० प्रतिशत घटाइएको छ । चिया, जुट, चलचित्र, पश्चिमा, ह्याचरी उद्योग र कृषि तथा नर्सरी फर्मममा प्रयोग हुने यन्त्र उपकरण र पार्टपुर्जाको भन्सार छुट दिइएको छ ।

वण्डेड वेयरहाउसको सुविधा अन्तर्गत निर्यातमूलक उद्योगले बैंक ग्यारेन्टीमा आयात गरेको कच्चा पदार्थबाट उत्पादित वस्तु समयमै निर्यात गर्न नसकेका उद्योगको लागि निर्यात गरी बैंक ग्यारेन्टी फुकुवा गर्ने म्याद २०७८ चैत मसान्तसम्म बढाइएको छ।

तीनै तहका सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम तथा उपचार कोषमा योगदान गरेको रकम उक्त वर्षको करयोग्य आय गणना गर्दा खर्च कट्टी गर्न पाउने व्यवस्था गरिएको छ ।

नीति उल्ट्याउँदै ल्याइएको ‘चुनावमुखी’ बजेट कामचलाउ सरकारको लागि चुनौती

विद्युतीय सवारी र इन्डक्सन चुल्होलगायत विद्युतीय उपकरणको अन्तशुल्क खारेज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here